दल

आमचुनाव २०७९

संविधान समाजवादी, हर पार्टी समाजवादी तर संसद्‌मा पुँजीवादी कि समाजवादी ?

कमल धिताल |
मंसिर १२, २०७९ सोमवार १२:३२ बजे

काठमाडौँ-  ७ वर्ष यता हामी 'समाजवाद उन्मुख' संविधान अर्न्तगत छौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र दल त समाजवादी हुने भइहाले । नेपाली कांग्रेस पनि वीपीको राष्ट्रियता, प्रजातन्त्र, समाजवाद पछ्‍याउँछ । यी तीन पार्टीका अतिरिक्त माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, महन्थ ठाकुरहरूका पार्टीका नाममै समाजवाद शब्द सुशोभित छ । यति मात्रै कहाँ हो र ?, नयाँ आशाका रुपमा उदाएको भनिएको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि व्यापारी छन् । संविधानदेखि यहाँ हर पार्टी समाजवादी छन् । समाजवाद र पुँजीवादलाई विपरित विचारधाराका रुपमा दुनियाँभर बुझिन्‍छ तर नेपालमा घोषित रुपमै नाफाको उद्यम गर्ने व्यापारी, ठेकेदारहरू पार्टीका हर्ताकर्ता छन् । समाजवादले शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील विषय राज्‍यको हुनुपर्छ अर्थात्‌ नाफावालेहरूका हातमा हुनुहुन्‍न भन्‍छ यो विषय कम्युनिस्ट सिद्धान्तको कखरा पनि हो ।

प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको चुनाव सम्पन्न भइ नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ । चुनावी परिणाम आएसँगै अबको संसद्‌मा विभिन्न क्षेत्रमा व्यवसाय गरिरहेका व्यापारीहरू समेत देखा पर्नेछन् । यसअघि समानुपातिकबाट सांसद बनेका विनोद चौधरीदेखि सेयर बजारमा सक्रिय हरि ढकालसमेत रहेका छन् । यसअघि पैसाको बलमा समानुपातिक सांसद बनेको भन्ने ट्याग लागेका विनोद चौधरी प्रत्यक्षमा चुनाव जितेका छन् । यस्तै सेयर बजारमा सक्रिय ढकाल गत असारमा जन्मिएको नयाँ पार्टीबाट प्रत्यक्षमा सांसद जितेर संसद्‌ भवन प्रवेश गर्दैछन् । अब हेरौँ भर्खरै सकिएको निर्वाचनमा कति व्यापारीहरू सांसद भए र कति व्यापारीहरू सांसद हुन पाएनन् ।


जसलाई पार्टी र मतदाता दुवैले पत्याए

विनोद चौधरी 
नवलपरासी पश्चिम निर्वाचन क्षेत्र १ बाट प्रत्यक्षबाट उम्मेदवारी दिएका उद्योगपति विनोद चौधरीले यसपटक उनको पार्टी कांग्रेसले दिएको टिकटको सहि सदुपयोग गरे । चौधरीले जनता प्रगतिशील पार्टीका पूर्व मन्त्री हृदयेश त्रिपाठीलाई पराजित गरेर आफ्नो सिट पक्का गरेका हुन् । चौधरीले २९ हजार ४ सय ९५ मत पाउँदा त्रिपाठीले २२ हजार ३ सय ८ मत पाएका थिए ।

डा.सुनिल शर्मा
मेडिकल व्यवसायी डा. सुनिल शर्मालाई पनि पार्टीसँगै मतदाताले पनि पत्याएका छन् । नेपाली कांग्रेसबाट टिकट पाएका शर्माले मोरङ निर्वाचन क्षेत्र ३ बाट चुनाव जितेका छन् । शर्मा नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल विराटनगर र काठमाडौं मेडिकल कलेजका सञ्चालक हुन् । उनले नेकपा एमालेका उम्मेदवार तथा पूर्व-स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई पराजित गरेको थिए । ढकालको भन्दा दोब्बर मत पाएका शर्माले सहजै संसद्‌ छिर्ने मौका पाए । शर्माले ४८ हजार ६ सय ३१ मत पाउँदा ढकालले २५ हजार ८ सय ९५ मत पाएका थिए । सोही क्षेत्रबाट राप्रपा नेतृ रेखा थापासमेत चुनावी मैदानमा थिइन् । यसअघि ढकालसँगै हारेका शर्मा दोस्रो पटकमा संसद्‌को यात्रा तय गरे ।

राजेन्द्र बजगाईं 
पर्यटन तथा होटेल व्यवसायी राजेन्द्र बजगाईंले पनि यसपटक प्रत्यक्षबाट चुनाव जितेर संसद्‌मा आफ्नो सिट पक्का गरेका छन् । गोरखा क्षेत्र नं १ मा नेपाली कांग्रेसका तर्फबाट चुनाव लडेका बजगाईं नेकपा एमालेका रामशरण बस्नेतलाई पराजित गरेर सांसद बनेका छन् । बजागाईंले ३३ हजार ४ सय २८ मत पाउँदा बस्नेतले १६ हजार ७ सय ८५ मत पाएका थिए ।

मोहन आचार्य
कांग्रेसबाट टिकट पाएका मोहन आचार्य इन्जिनियरसमेत हुन्। रसुवा कन्ट्रक्सनका मालिक रहेका आचार्य २०७४ मा पनि रसुवाबाटै निर्वाचित भएका थिए । यसपटक एमालेका छोवाङतेन्जिङ तामाङसँग प्रतिस्पर्धा गरेका आचार्यले जित आफ्नो भागमा पार्न सफल भए । आचार्यले १८ हजार २ सय ३५ मत पाउँदा तामाङले ८ हजार ६ सय १४ मत पाएका थिए ।

टेकबहादुर गुरुङ
मनाङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित टेकबहादुर गुरुङ म्यानपावर व्यवसायीसमेत हुन् । उनले एमालेका पोल्देनछोपाङ गुरुङलाई पराजित गरेका थिए । कांग्रेसका टेकबहादुर गुरुङले २ हजार ५ सय ७५ मत पाउँदा पोल्देनछोपाङ गुरुङले २ हजार २ सय ४७ मत पाएका थिए । पूर्वश्रम राज्यमन्त्रीसमेत रहेका गुरुङ काठडमाडौँको भृकुटीमण्डपमा रहेको फन पार्कका समेत सञ्चालक हुन् ।

पूर्णबहादुर तामाङ
नेपाली कांग्रेसले टिकट पत्याएका पूर्णबहादुर तामाङ निर्माण व्यवसायी हुन् । रामेछापबाट चुनाव लडेका तामाङले एमालेका कैलाशप्रसाद ढुङ्गेललाई पराजित गरेका थिए । तामाङले ४७ हजार ९८ मत पाउँदा ढुङ्गेलले ३० हजार ७ सय २९ मत पाएका थिए ।

लालप्रसाद (एलपी) साँवा
नेकपा एमालेबाट झापा क्षेत्र नं-४ को सांसद चुनिएका लालप्रसाद साँवा वैदेशिक रोजगार व्यवसायीसमेत हुन् । साँवा एमाले निकट नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघका अध्यक्षसमेत हुन् । साँवाले नेपाली कांग्रेसका देउकुमार थेवेलाई पराजित गरेका थिए । साँवाले २९ हजार ३ सय १५ मत पाउँदा थेवेले २२ हजार ४ सय ४८ मत पाएका थिए ।

विक्रम पाण्डे
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका विक्रम पाण्डे चितवनका व्यवसायी हुन् । चितवन क्षेत्र नं- ३ बाट उम्मेदवार बनेका पाण्डेले निर्वाचन जित्दै संसद्‌मा आफ्नो सिट पक्का गरेका छन् । पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका पाण्डेले नेकपा माओवादी केन्द्रका उम्मेदवार डा. भोजराज अधिकारीलाई पराजित गरेका छन् । पाण्डेले ३५ हजार ५५ मत पाउँदा अधिकारीले २५ हजार ८ सय २२ मत पाएका थिए ।

कृष्ण कुमार श्रेष्ठ 'किसान'
एकीकृत समाजवादीका तर्फबाट उम्मेदवारी दिएका कृष्णकुमार श्रेष्ठलाई जनताले पनि अनुमोदन गरेका छन् ।  बारा- ४ बाट निर्वाचित भएका श्रेष्ठले नेकपा एमालेका एकबाल मियाँलाई पराजित गरेर संसद्‌को सिट पक्का गरेका हुन् । विभिन्न व्यवसायमा आवद्ध श्रेष्ठ यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमेत बनिसकेका छन् ।

वीरेन्द्रप्रसाद महतो
जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका वीरेन्द्रप्रसाद महतो बैंक, हस्पिटल, जलविद्युतलगायतका क्षेत्रमा लगानी रहेका व्यवसायी हुन् । महतो सिरहा-४ बाट निर्वाचित भएका हुन् । महतोले जनमत पार्टीका वीरेन्द्रप्रसाद साहलाई पराजित गरेका हुन् ।

हरि ढकाल
सेयर बजारमा सक्रिय हरि ढकाल पनि चितवन-१ बाट निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ढकालले एमाले उम्मेदवार तथा पूर्व अर्थमन्त्रीसमेत रहेका सुरेन्द्र पाण्डेलाई पराजित गरेर संसद्‌को यात्रा तय गरेका छन् ।

जसलाई पार्टीले पत्यायो जनताले पत्याएनन्  

उमेश श्रेष्ठ
हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा राज्यमन्त्री तथा व्यवसायी उमेश श्रेष्ठ चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् । श्रेष्ठले उनको आबद्ध दल नेपाली कांग्रेसबाट पाएको टिकट सदुपयोग गर्न सकेनन् । चितवन निर्वाचन क्षेत्र २ बाट उठेका श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग फराकिलो मतान्तरले पराजित भएका थिए ।

जालिममियाँ मन्सुरी
एमालेको टिकटमा पर्सा ४ बाट उम्मेदवार बनेका जालिममियाँ मन्सुरीलाई मतदाताले भने पत्याएनन् । काठ व्यवसायी मन्सुरीलाई नेपाली कांग्रेसका रमेश रिजालले पराजित गरे। मन्सुरीले २५ हजार ६ सय १९ मत पाउँदा ‍रिजालले ३१ हजार १ सय ४२ मत पाएका थिए ।

आकर्षण पोखरेल
व्यवसायी आकर्षण पोखरेलले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ बाट स्वतन्त्र उम्मेदावरी दिएका थिए । लौरौ चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका पोखरेललाई चुनावमा भने जनताले पत्याएनन् । सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी भएका थिए ।

अमृत खड्का
फेल्ट एसोसिसन नेपालका निवर्तमान अध्यक्ष अमृत खड्काले ललितपुर ३ मा एमालेबाट उम्मेदवारी दिएका थिए । तर उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले विजयी भएकी थिइन् ।

समानुपातिकमा व्यवसायी
यस्तै समानुपातिक सूचीमा व्यावसायिक घराना प्रभु ग्रुपका अध्यक्ष देवी भट्टचन नेकपा एमालेका तर्फबाट आदिवासी जनजाति कोटामा प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार बनेका छन् । यस्तै वीरगञ्‍जका व्यवसायी अनिल रुंगटा पनि समानुपातिक सूचीमा रहेका छन् । रुंगटा खाद्यान्‍न व्यवसायमा संलग्न व्यवसयी हुन् । कांग्रेसबाट नुवाकोटका निर्माण व्यवसायी जगतबहादुर तामाङ पनि समेटिएका छन् ।


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x