राजनीति

नागरिकताको विषयमा एमालेले अनावश्यक विवाद गर्न खोजेको प्रधानमन्त्री प्रचण्डको आरोप

इकागज |
जेठ २२, २०८० सोमवार १२:५७ बजे

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्ष दल एमालेले नागरिकताको विषय अनावश्यक ढंगले विवादित बनाउन खोजेको आरोप लगाएका छन् । संंसदमा आफ्नो चार दिने भारतमा भएका सम्झौता र राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणीकरण गरेको नागरिकता विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले प्रमुख प्रतिपक्षीलाई अनावश्यक ढंगले विवादित नबनाउन आग्रह गरे । 

नागरिकताको सवालमा सत्ता पक्ष र प्रतिपक्षीबीच कुनै विवाद र फरक मत नभएको उनले बताए । ‘नागरिकता विषयलाई अनावश्यक ढंगले विवादित गर्दा जनताले पनि के गरी बुझ्ने ? तपाईं हामीले पनि के गरी बुझ्ने भन्ने कुरा आयो ? हामी सबै एकै ठाउँमा रहेछौँ नि त,’ उनले भने, ‘जन्मसिद्धबाहेकका बाबुआमाका छोराछोरीले नागरिकता पाउनुपर्छ भन्ने कुरामा त हामी एकै ठाउँमा थियौँ । एउटै गर्यौँ । अहिले त्यही कुरा आउँदा किन दुई ठाउँमा आउन बल गरेक छौँ ? हामी त्यसो नगरौँ ।’ 


राष्ट्रपति पौडेलबाट भएको नागरिकता विधेयक प्रमाणीकरण र कालापानीको भूभाग सट्टापट्टा गर्ने प्रचण्डको अभिव्यक्तिलाई लिएर एमाले, राप्रपा, रास्वपालगायत प्रतिपक्षी दलले आइतबारको सदन अवरुद्ध गरेका थिए । सोमबार प्रधानमन्त्रीले जवाफ दिने भएपछि संसद बैठक चलेको हो ।
 


Author

थप समाचार
x