बागमती

प्रदेश सभाकाे विशेष बैठक

नीति तथा कार्यक्रम प्रस्तुत गर्न लाग्दा फाइल खाली देखिएपछि...

इकागज |
जेठ १४, २०८० आइतबार १६:५९ बजे

हेटौंडा- बागमती प्रदेश सभा बैठकको आज (आइतबार)को विशेष बैठकमा सरकारको लापरबाहीको नमुना पेस भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुतका लागि प्रदेश सभामा उपस्थित भएका प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई सरकारले खाली फाइल उपलब्ध गराएपछि सरकारको हतारो तथा लापरबाहीको नमुना देखिएको हो ।

प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले रातो ‘कभर’ भएको नीति तथा कार्यक्रमको फाइल पेस गरेका थिए । तर, मुख्यमन्त्रीले पेस गरेको फाइल खोलेर पढ्ने तयारी गर्दा फाइल भित्र केही नदेखिएपछि प्रदेश प्रमुख शर्मा केहीबेर अलमलमा परे ।


उनले दायाँबायाँ हेर्दा समेत समस्या समाधान नहुने देखेपछि मुख्यमन्त्रीलाई देखाउने मनसायसहित खाली रहेको फाइल देखाए । प्रदेश प्रमुखले खाली फाइल देखाएपछि मुख्यमन्त्री जम्कट्टेल पुन: रोष्टममा पुगेर आफूसँग रहेको एकप्रति नीति तथा कार्यक्रम प्रदेश प्रमुख शर्मालाई दिएपछि शर्माले कार्यक्रम सुरु गरेका थिए ।

प्रदेश प्रमुखलाई खाली फाइल उपलब्ध गराएको विषयमा प्रतिक्रिया दिँदै नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोसाईले ६ वर्षको प्रदेश सभा कालमा अहिलेको जस्तो लापरबाही तबरले नीति तथा कार्यक्रम आफूले नदेखेको बताए । सत्तारूढ दलहरूबीचको बेमेलका कारण यस्तो अवस्थाको सृजना भएको उनको भनाइ छ ।


Author

थप समाचार
x