पृथ्वी परिक्रमा

पृथ्वी : अपराधभन्दा अभियोग धेरै

सन्तोष खडेरी |
पुस २७, २०७७ १७:५० बजे

पृथ्वीनारायण शाहले त्यतिबेला ५० भन्दा बढी विभिन्‍न ससाना राज्यमा टुक्रिएको नेपाललाई एउटै सूत्रमा बाँधे  । उनको त्यस अभियानलाई उनीपछिका उत्तराधिकारीहरू क्रमशः राजेन्द्रलक्ष्मी र बहादुर शाहले समेत उस्तै रफ्तारमा अगाडि बढाए । उनको त्यो काम सिंगो नेपालको एकीकरण थियो वा गोर्खा राज्यको विस्तार थियो भन्‍नेमा इतिहासकारहरूका आआफ्नै भिन्‍न मत छन् ।
 
पृथ्वीनारायणले गोर्खा राज्य विस्तारका रूपमा अगाडि बढाएको अभियान उनको निधनपछि बहादुर शाहको पालासम्म आइपुग्दा नेपालको पूर्वी सिमाना टिष्टा र पश्‍चिमी सिमाना काँगडासम्म विस्तार भइसकेको थियो । पृथ्वीनारायणको आफ्नै जीवनकालमा पूर्वमा फैलिसकेको भए पनि पश्‍चिममा भने नेपालको सीमा गोरखाभन्दा त्यति पर पुगिसकेको थिएन ।
 
उनको त्यो अभियानलाई उनीपछिका उनका उत्तराधिकारीले समेत निरन्तरता दिँदा कालान्तरमा उनको त्यस अभियानले एकीकरणको स्वरूप लियो । सिंगो नेपाल भौगोलिक रूपमा एकढिक्का भयो । सन् १८१४-१६ नेपाल-अंग्रेज युध्दमा नेपालको पराजयपछि सुगौली सन्धिले ठूलो भूभाग गुमाएर नेपालको सिमाना पूर्वमा मेची र पश्‍चिममा महाकालीसम्म निर्धारण गर्‍यो ।

आजको दिनमा अहिलेको वर्तमान सन्दर्भबाट हेर्दा उनलाई निरंकुश राजतन्त्रका प्रतीक मान्‍नेहरू पनि छन् । त्यस्तै उनको योगदानबारे चर्चा गर्दा उनलाई वास्तविकताभन्दा पर लगेर व्यक्ति पूजा गरियो भन्‍नेहरू पनि छन् ।  देशलाई एक ढिक्का बनाउने पृथ्वीनारायणको त्यो अभियानलाई तत्कालीन समयको दृष्टिकोणबाट हेर्दा उपयुक्त होला ।


आजभन्दा झन्डै तीन सय वर्ष पहिलेको युग आफैंमा युध्दको युग थियो । सेना र शक्तिका आधारमा राज्य विस्तारको युग थियो । अंग्रेजहरू त्यति टाढाबाट शासन सत्ता लिन यो क्षेत्रतर्फ अगाडि बढिसकेका थिए । भारतमा अंग्रेजको प्रवेश भएर सिंगो भारतीय उपमहाद्वीपमा अंग्रेज दिनानुदिन फैलँदै गइरहेका थिए । 

उनीहरूको आँखा नेपालमा समेत परिसकेको थियो । नेपालमा गोर्खा राज्यविरुध्द अर्को राज्यलाई सघाउने बहानामा १८२४ असोजमा किनलकको नेतृत्वमा अंग्रेज फौज नेपाल आइसकेको थियो । सिन्धुलीगढीको त्यो युध्दमा पृथ्वीनारायणले अंग्रेज फौजलाई पराजित गर्न नसकेको भए आजको नेपालको अस्तित्व रहने थिएन ।

तत्कालीन समयमा १२ हजार हाराहारीको घरधुरी रहेको पहाडी किट र गरिब राज्य थियो गोरखा । त्यस्तो गरिब र कमजोर राज्यको राजालाई पनि भूगोलका हिसाबले ठूलो क्षेत्रको त्यस्तै स्रोतसाधन सम्पन्‍न र शक्तिशाली राजा हुने विचार आयो होला । यस्तो विचार उनीभन्दा अगाडिका समेत पक्कै हुँदो हो तर अरूले त्यो सोचलाई कार्यान्वयनमा लैजान सकेनन् । उनले त्यस्तो विचार गरेरै भए पनि त्यसलाई कार्यान्वयनमा लैजान सकेकाले पनि त उनमा दूरदर्शिता, स्पष्ट दृष्टिकोण, युध्दकला, कुटिलता, सफल नेतृत्व थियो भनी मान्‍न सकिन्छ । 

उनको लडाइँको अभियानलाई मात्र हेर्दा पनि त एउटा नेतृत्वकर्तामा हुनुपर्ने चातुर्य, बुध्दिमत्तालगायतका सबै गुण भएको पाउँछौं । आजको दिनमा नेपाल र नेपालीको अस्तित्व कायम राख्‍न उनको सबैभन्दा बढी योगदान छ । आफ्नो समयका उनी मात्र एक्ला नायक होइनन् । त्यो अभियानमा अनेकौं भाइभारदार, जनता सबै उनको अभियानसँग त्यत्तिकै दृढतापूर्वक जोडिएका थिए । सबैको सहयोगले नै त्यो काम भयो तर जस अपजसको भार नेतृत्वमा रहने कारणले नेतृत्वकर्ताका रूपमा उनको भूमिका सबैभन्दा महत्वपूर्ण हुन जान्छ । 

उनी पछिका शासकले समेत नेपालको स्वतन्त्रता र सार्वभौमसत्ता जोगाउन आआफ्नो शासनकालमा एउटा एउटा इँटा थप्‍ने योगदान गरे । तर आजसम्म पनि नेपालको स्वतन्त्रता र अलग सार्वभौमसत्ता कायम गरेर आज हामीलाई नेपालीको परिचय दिने नेतृत्वकर्ता भने उनै पृथ्वीनारायण शाह नै हुन् ।
इतिहासमा यस्तो भएको वा नभएको हुँदो हो त के हुँदो हो भन्‍ने दृष्टिकोणबाट पनि कहिलेकाहीँ मनन गर्नुपर्ने हुन्छ । 

नेपालमा निकै दुर्लभ घटना भयो जहाँ विजेता राज्य पराजित नेपाल राज्यमा विलय भयो । 

भनिन्छ, इतिहासमा कहिलेकाहीँ व्यक्तिभन्दा पनि कालखण्डको विशेष महत्व हुन्छ तर कहिलेकाहीँ दुवै र कहिले त व्यक्ति पात्रको महत्वपूर्ण अत्यधिक हुन्छ । पृथ्वीनारायणको हकमा व्यक्ति नै अधिक महत्वपूर्ण हुन् ।

तिब्बतसम्म पुग्‍नलाई समेत भारतमा रहेको अंग्रेजले कुनै न कुनै समयमा पक्कै नेपालमा हमला गर्ने नै थियो । कालान्तरमा एकीकृत नेपालले त सामना गर्न नसकेको अंग्रेजको हमला एकीकरणपूर्वको ससाना राज्यमा विभक्त नेपालले पक्कै गर्न सक्दैनथ्यो । यदि नेपाल-अंग्रेज शासनअन्तर्गत पर्न गएको भए नेपाल कदापि स्वतन्त्र रहन सक्दैनथ्यो । 

भारतबाट अंग्रेजको बहिर्गमनपछि कसरी त्यहाँका ६ सयभन्दा बढी राज्यको विलय भयो त्यसरी नै नेपालको अस्तित्वसमेत रहने थिएन । त्यसपछिका शासकको आआफ्नो समयमा उनीहरूको योगदान छ । तर नेपाललाई यसरी एकीकरण गरी विशाल र शक्तिशाली नेपाल बनाउनमा उनको सबैभन्दा बढी योगदान छ ।

एकथरीले आजका दिनमा पृथ्वीनारायण शाहले गोरखाको गोर्खाली भाषा एवं संस्कृति र अन्य समुदायका आफ्ना मौलिक संस्कृति, भाषा परिष्कृत हुन पाएनन् भन्‍ने चर्चा गर्छन् । तर पृथ्वीनारायणको कार्यकालका केही घटना र हाल दिव्य-उपदेशका रूपमा आएका उनका समग्र भनाइलाई हेर्ने हो भने त्यस्तो देखिँदैन ।
 
संसारमा सायद यस्ता विरलै घटना होलान् जहाँ विजेता राज्यहरू आफ्नो विजेता पहिचान नै मेटाएर पराजित राज्यमा विलय भएका हुन् । तर यहाँ नेपालमा निकै दुर्लभ घटना भयो जहाँ विजेता राज्य पराजित नेपाल राज्यमा विलय भयो । अब गोरखाको धर्म, सांस्कृति र भाषा नेपालमा कति थोपरियो होला त भन्‍ने पनि यही घटनाबाट नै प्रस्ट संकेत त मिल्छ नै । 

आजको दिनमा हाम्रो नेपालको प्रचलनमा रहेको नेपाली भाषा काठमाडौं उपत्यकामा गोर्खालीको विजयभन्दा पनि पहिलेदेखि नै मल्लकालको काठमाडौंमा प्रयोगमा थियो भन्‍ने धेरैतिरबाट पुष्टि भइसकेको छ । 

त्यसैले गोर्खाली भाषा गोरखाले जबर्जस्ती लादेको हो भन्ने पनि मान्‍न सकिँदैन । काठमाडौं उपत्यकाको नेवार संस्कृतिलाई पृथ्वीनारायण शाहले कसरी अपनाए भन्‍ने उदाहरण हो उनले कुमारीलाई ढोगेको घटना । काठमाडौंको स्थानीय संस्कृतिलाई नास गर्ने गरी गोर्खाली शासनले उनको पालामा त्यस्ता धार्मिक, सांस्कृतिक संस्थानमा कतै पनि आक्रमण गरेनन् । चलिरहेका संस्कृतिलाई पहिले जस्तै गरी निरन्तरता दिए । 

धर्मका मामिलामा केपुचिन पादरीहरूलाई उनले देश निकाला गरेको घटनालाई उदाहरणका रूपमा देखाएर पृथ्वीनारायणलाई इसाई धर्मावलम्बी पश्चिमाहरूले धेरै बदनाम गरेका छन् । तिनै पश्‍चिमाले वर्षौंसम्म बनाएको त्यही पूर्वाग्रही धारणालाई पछिल्लो दुई दशकयता अग्रगमनका नाममा हामी नेपालीले समेत नेपालमा बोक्दा हामी विभाजित भएर हामी पनि उनीप्रति पश्‍चिमा जस्तै पूर्वाग्रही भयौं ।

काठमाडौं उपत्यकामा गोर्खाली शासन सुरु हुनुभन्दा पहिले मल्ल राजा जयप्रकाश मल्लको पालामा काठमाडौंमा दुईजना इसाई पादरी थिए पादरी जिसेप्पी र पादरी माइकल एन्जेलो । गोर्खाले काठमाडौं उपत्यका विजय हासिल गरेपछि ती पादरीहरू धर्म परिवर्तन गराउनुका अलावा गोर्खाली शासनविरुध्दको राजनीतिक गतिविधिमा संलग्‍न रहेको पाइए । त्यसपछि पृथ्वीनारायणले काठमाडौंमा रहेका ती दुई इसाई पादरीसहित उनीहरूका केही नेपाली चेलाहरूलाई समेत देशबाट निकालिदिए ।

पृथ्वीनारायणले इसाई समुदायलाई देश निकाला गरिदिएपछि देश निकाला गर्ने र अन्य पश्‍चिमाहरूले लगातार उनीविरुध्द भ्रामक लेख लेख्‍न थाले । सन् १९५० को दशकसम्म आउँदा पनि नेपाल धार्मिक रूपमा असहिष्णु छ भनेर पश्‍चिमाले आरोप लगाउने गर्थे । तथ्य नबुझी पूर्वाग्रहपूर्ण तरिकाले धार्मिक रूपमा नेपाल असहिष्णु छ भन्ने सन्देश पश्‍चिमाहरूले व्यापक रूपमा प्रचार गरिरहेका थिए ।

सन् ५० को दशकमा नेपाल राणा शासनबाट मुक्त भई आधुनिकतातर्फ अगाडि बढ्दा सन् १९५८ मा अमेरिकामा समेत राजदूतावास खोल्यो । त्यतिन्जेजसम्म पनि त्यहाँस्थित नेपाली कूटनीतिज्ञले लाल चीनको हमलाको आशंकाका अलावा सबैभन्दा बढी सामना गर्नुपर्ने मुख्य प्रश्‍न रहेछ, त्यही केपुचिन पादरीको देश निकाला र धार्मिक असहिष्णुता ।

त्यस प्रश्‍नको जवाफमा वासिङ्टनस्थित नेपाली कूटनीतिज्ञले नेपालसम्बन्धी पुस्तक प्रकाशन गर्दा त्यसलाई केही पश्‍चिमाको हवालाबाट नै निकै कुटिल तरिकाले यथार्थ जवाफ दिएका रहेछन् । सन् १९६० मा इतिहासका जानकार रहेका हृषीकेश शाह वासिङ्टनस्थित नेपाली राजदूत थिए । नेपालको परिचय समेटेर ‘द किङडम अफ नेपाल’ नामक झन्डै ३० पृष्ठको सानो पुस्तक दूतावासले प्रकाशित गरेको थियो । त्यही पुस्तकमा केपुचिन पादरी देश निकाला गरिनुको कारण धार्मिक प्रचार नभई उनीहरूको उद्देश्य गुप्त राजनीतिक हस्तक्षेपको थियो ।
 
त्यसैले उनीहरूको देश निकाला धार्मिक नभई राजनीतिक थियो । जसलाई धेरै पश्‍चिमा इतिहासकारहरूले उल्लेख गरेका छन् भनेर दूतावासले पुस्तकमार्फत जवाफ दिएको थियो । नेपालले आफ्नो मुलुकको धार्मिक सहिष्णुताको उदाहरण भारतमा हुने साम्प्रदायिक दंगाको दृष्टान्त प्रस्तुत गर्दै दिएको थियो । नेपालमा इस्लाम, बौध्द र हिन्दू धर्मावलम्बीहरूको बसोबास छ तर पछिल्ला कैँयन् सय वर्षको इतिहासमा धार्मिक कारण त्यहाँ एक थोपा रगत बगेको छैन । जब कि केही सय किलोमिटर परको भारतमा साम्प्रदायिक दंगाका घटना दोहोरिरहन्छन् । अब तपाईंहरू आफैं सोच्‍नुस् नेपाल धार्मिक रूपमा कति सहिष्णु छ भनेर उल्लेख गरेका रहेछन् ।

पृथ्वीनारायण शाहपछिका केही शासकका कमजोरी भए होलान् । केही सन्काहा शासकले धर्म संस्कृतिमा प्रहार गरे । त्यस्तै कालान्तरमा राज्य स्तरबाट नेपाली भाषालाई बढी प्राथमिकता दिइयो । त्यसैले त्यो सबैको दोष यसले नै राज्य स्थापना गरेकाले यसैलाई दिइनुपर्छ भन्‍ने हिसाबबाट सोच्‍ने हो भने अर्कै हो तर पृथ्वीनारायणको हकमा पूर्वाग्रही नबन्‍ने हो भने त्यस्तो देखिँदैन ।

पृथ्वीनारायण शाहले आफ्नो जीवनका अन्तिम दिनहरूमा नुवाकोटमा भाइ-भारदारसमक्ष सुनाएको आफ्नो अनुभव त्यस्तै दिएको अर्ती उपदेशलाई टिपोट गरिएको थियो । त्यसैलाई पछि ‘दिव्य-उपदेश’का नाममा प्रकाशित गरिएको उनको दिव्य-उपदेशलाई लिएर समेत त्यसको वैधानिकतामा अचेल केहीले प्रश्‍न उठाउन थालेका छन् । 

आजका दिनसम्म पनि दिव्य उपदेश अप्रमाणिक रहनु पनि प्रश्‍न उठ्नुको कारण होला । इतिहासलाई उत्खनन गरी सत्यतथ्य बाहिर ल्याउँदा पक्कै सबैलाई राम्रो होला त्यो प्रमाणिक ठहरिएला । अध्ययनबाट थप विषय बाहिर नआउँदै त्यत्तिकै त्यसको वैधानिकतामा प्रश्‍न उठाउन समेत त्यत्ति उचित देखिँदैन । दिव्य उपदेश कसरी प्रकाशित भयो भन्‍ने पाटोलाई हेरौं ।

प्रथम विश्‍वयुध्दको अन्त्यपछि भारतमा नेपालीहरूले संगठन खोल्नेदेखि नेपाली भाषाको संवर्धनका लागि समेत एकताबध्द भएर अगाडि बढेका थिए । त्यसमा सूर्यविक्रम ज्ञवाली र पारसमणि प्रधानको अगुवाइमा स्वतन्त्र जातित्वको एउटा मुख्य पहिचान स्वतन्त्र भाषा हो । नेपालीहरूले पनि आफ्नो जातीत्व सुदृढ गराउने हो भने आफ्नै स्वतन्त्र साहित्य निर्माण गर्नु अत्यन्त आवश्यक छ भन्दै भाषा साहित्यको उन्‍नति र प्रचार गर्ने अभिप्रायले दार्जिलिङमा १९२४ मे २५ का दिन सार्वजनिक सभा गरी नेपाली साहित्य सम्मेलन नामक संस्थाको गठन गरेका थिए । 

त्यस संस्थामार्फत उनीहरूले त्यहाँबाट नेपाली भाषा, साहित्य र इतिहासका पुस्तकहरूसमेत प्रकाशित गरिरहेका थिए । यता नेपालमा भने राणाकालीन परिवेशमा साधारण साहित्यको पुस्तक प्रकाशित गर्नु त कति जटिल अवस्था थियो । अझ उनीहरूले पिँजडाको सुगा झैँ बन्दी बनाएको राजपरिवारसँग सम्बन्धित कुनै पनि सामग्री प्रकाशन गर्नु असम्भव प्रायः थियो । उस्तै जटिलता शमशेर खलकको शासनकालमा जंगबहादुरबारे समेत थियो ।

पृथ्वीनारायणले नुवाकोटमा बसेर आफ्ना कुरा सुनाउँदा उनका प्रिय भारदार शिवरामसिंह बस्न्यातका छोरा अभिमानसिंह बस्न्यात नुवाकोटमा थिएनन् र उनले प्रत्यक्ष रूपमा सुन्‍न पाएनन् । पृथ्वीनारायणले दिएको उपदेश कुनै एक भारदारले टिपेर राखेका रहेछन् भन्‍ने उनलाई पछि थाहा भयो । सोही टिपोट सारेर उनले एकप्रति आफूसँग राखे । त्यसको अर्को टिपोट उनको घरमा लेखापढीसम्बन्धी काम गर्ने वंशधर कारिन्दा ‘मुखिया’ भक्तबहादुरले सारेर आफूसँगै राखे । 

यसरी राखिएको टिपोट अभिमानसिंहका सन्तती बखतमान सिंहले इतिहासकार बाबुराम आचार्यलाई दिए । बाबुराम आचार्यले पाएको त्यस टिपोटका केही अंश दार्जिलिङमा रहेर इतिहास लेखनमा लागिरहेका सूर्यविक्रम ज्ञवालीलाई पठाइदिए । सन् १९३५ मा ज्ञवालीले दार्जिलिङबाट पृथ्वीनारायण शाहबारे पुस्तक प्रकाशित गर्दा आचार्यले पठाएका केही अंश त्यसमा छापिए । यसरी त्यही पुस्तकमा पहिलोपटक पृथ्वीनारायणका ती उपदेश छापिए ।

यता नेपालमा भने राणा शासनको अन्त्यपछि २००९ सालमा मात्र योगी नरहरिनाथको कर्मवीर महामण्डलद्वारा नरहरिनाथको सम्पादनमा गोरक्षमालअन्तर्गत काशीबाट पुस्तक प्रकाशित भयो । ‘दिव्य उपदेश’ नाम दिएर प्रकाशित भएको पुस्तकमा “गोर्खा सम्राट् बडामहाराजा श्री ५ पृथ्वीनारायणको दिव्य उपदेश’’ भनी उल्लेख गरिएको थियो । 

नरहरिनाथको एकल सम्पादनमा प्रकाशित भएको ‘दिव्य-उपदेश’लाई पहिलो संस्करण मानिएको छ । पहिलो संस्करणको अन्त्यमा “नेपाल केलटोल मानमन्दिर गोर्खाली बडा वीर शिवराम सिंह वंशधर बखतमान सिंह बस्न्यातको १५० वर्ष पूर्वलिखित जीर्ण प्रतिबाट सम्पादित’’ भनी लेखिएको थियो । पृथ्वीनारायण शाहको निधन भएको करिब २७, २८ वर्षपछि रणबहादुर शाहको पालामा सन् १८०२÷३ तिर मुखिया भक्तबहादुरले मूलप्रति कतैबाट सारेर राखिएको हुन सक्छ । त्यसैले त्यसमा लेखेको बूढा महाराज भन्‍नेसमेत मिल्न जान्छ किनकि रणबहादुर शाहको पालाबाट उनका बाजे पृथ्वीनारायणलाई बूढा महाराज भन्‍न लागिएको हो ।

पहिलो संस्करण प्रकाशित भएको एक वर्षपछि २०१० सालमा पृथ्वीजयन्ती समारोह समितिबाट योगी नरहरिनाथ र इतिहास शिरोमणि बाबुराम आचार्यको संयुक्त सम्पादनमा प्रकाशित भएको थियो । श्री बागीश्‍वर छापाखाना, झोछेँ काठमाडौंबाट छापिएको यो संस्करण पाँच हजार प्रति छापिएको थियो । जसमा अगाडि पनि काशीबाट गोरक्ष ग्रन्थमालामा प्रकाशित भएको थियो । अशुध्दि रहन गएकाले जस्ताको त्यस्तो मूल यहाँ दिएको छ भन्‍ने उल्लेख गरिएको थियो ।

पृथ्वीनारायणले इसाई समुदायलाई देश निकाला गरिदिएपछि देश निकाला भएका र अन्य पश्‍चिमाहरूले उनीविरुध्द लगातार भ्रामक लेख लेख्‍न थाले । 

पछिल्ला दिनमा केहीले पृथ्वीनारायण शाहको दिव्य उपदेशको वैधतामाथि नै प्रश्‍न उठाउनेमध्येहरू केहीले दिव्य उपदेश कुनै पनि कर्खा, सवाई वा लोककथामा किन कहिले उल्लेख भएन ? त्यतिबेला यो नभएको भएर नेपाली समाजमा उल्लेख भएन तर यसलाई पछि राजतन्त्रले कृत्रिम रूपमा अगाडि सारेको भनी भनिरहेका छन् । त्यस्तै केहीले यो राणाकालमा कहाँ थियो र राणाकालको अन्त्यपछि शाहवंशको वर्चस्व स्थापित गर्न एकाएक आयो भनिरहेका छन् ।

माथिका यी प्रश्‍नहरूमा विचार गर्दा के भन्न सकिन्छ भने यो कुनै पनि कर्खा, सवाई वा लोककथामा किन उल्लेख भएन होला भन्दा त्यसको प्रति निकै कम अत्यन्तै दुर्लभ हुँदो हो । त्यसैले सार्वजनिक जानकारीमा आएन होला । सार्वजनिक जानकारीमा नआएको हुनाले समाजमा कर्खा, सवाईका माध्यममा आउने भन्ने भएन । प्रजातन्त्र आउनुभन्दा पहिले यो कहाँ थियो ? त्योभन्दा अगाडि किन प्रचारमा कतै आएन ? कसैले पनि किन यसको कतै उल्लेख गरिएन भन्ने प्रश्‍नहरू समेत उठिरहेका छन् ।

राणाकालमा शाहवंशको प्रचारप्रसार गर्नु सजिलो थिएन । सन् १९३४ ताका बाबुराम आचार्यले प्राप्त गरेर समेत नेपालमा सार्वजनिक गर्न सकेनन् किनकि मुलुकको राजनीतिक व्यवस्था त्यस्तै थियो । राणाकालमा शाहवंश र जंगबहादुरको कुनै पनि विरासतलाई अगाडि ल्याइएन । मोहनशमशेरको पालासम्म आइपुग्दासमेत कतिपय जंगबहादुरले अगाडि बढाएका योजनालाई उनीहरूले जंगबहादुरलाई त्यसको जस नदिई चन्द्रशमशेरलाई दिने गरेका थिए । सन् १९४९ मा नेपाल र फ्रान्सबीच दौत्य सम्बन्ध स्थापना भयो । 

फ्रान्सको भ्रमण गर्ने प्रथम नेपाली जंगबहादुर राणा हुन् । फ्रान्सका राष्ट्रपतिको अतिथि भएर उनको कार्यालयमा उनीसँग भेट गर्ने, उनीबाट सैन्य परेडको अवलोकन गर्ने, राष्ट्रपतिबाट तरबार उपहार पाउने पात्र हुन्, जंगबहादुर राणा । चन्द्रशमशेरले समेत बेलायत र फ्रान्सको भ्रमण गरेको भए पनि उनको भ्रमणले जंगबहादुरको भ्रमणझैँ महत्व पाएको थिएन । 

चन्द्रशमशेरले फ्रान्सबाट तक्मा भने आफ्नो निधन हुनुभन्दा केही दिन अगाडि पाएका थिए । फ्रान्ससँगको सम्बन्ध स्थापना भएपछि मोहनशमशेरको दस्तावेजमा जंगबहादुरको कुनै उल्लेख नै नगरी स्वर्गवासी बुवा श्री ३ महाराज चन्द्रशमशेरको पालामा सुरु भएको फ्रान्ससँग मैत्रीको सम्बन्ध हाल दुई देशको बीचमा राजनीतिक सम्बन्ध स्थापित हुन पुग्यो भन्‍ने उल्लेख थियो । यही घटना नै राणाकालमा कसरी शमशेर राणाको मात्र कामको मात्र उल्लेख हुन्छ र अरू ओझेलमा पर्छन् भन्‍ने बुझ्‍न पर्याप्त हुन्छ ।

राणा शासनको अन्त्यपछि बदलिएको परिस्थितिमा मात्र शाह वंशका विषय बाहिर आउन थाले । यसरी प्रजातान्त्रिक एवं पञ्‍चायतकालीन नेपालमा ‘दिव्य उपदेश’को प्रचार धेरै भयो । त्यसमा भएका सुरक्षा, कूटनीति, आत्मनिर्भर र सदाचारजस्ता राम्रा विषयको उल्लेख त धेरैले धेरैतिर गरे तर तिनलाई वास्तविक रूपमा मनन् गरी काम अगाडि बढाएको भने देखिएन । 

दिव्य-उपदेशमा भनिएका माथि उल्लेख गरिएका कूटनीति, सुरक्षा, आत्मनिर्भरलगायतका अन्य विषय आज पनि उत्तिकै महत्वपूर्ण र केही त झन्झन् सान्दर्भिक भएका छन् । त्यसैले आजको पुस्ताले समेत दिव्य-उपदेशको मनन गर्नु र आफ्ना राष्ट्रका एकीकरण नायकलाई उचित सम्मान गर्नु अत्यन्तै आवश्यक भइसकेको छ । 

दोस्रो जनआन्दोलनको समयमा राजतन्त्रको विरोधमा फोडिएका पृथ्वीनारायणका सालिक र राजतन्त्रको अन्त्यपछि गणतान्त्रिक भनिनेहरूबाट उनको योगदानलाई अपव्याख्या गरेर उनीप्रति गरेको व्यवहार आज आम नागरिकका मनमा फेरिँदै गएको छ । राज्यका तर्फबाट उस्तै उदासीनता देखाए पनि आजका दिनका जागरुक नेपालीहरूले अन्तर्मनबाट उनको योगदानलाई स्मरण गरी स्वतःस्फूर्त रूपमा पुस २७ मा एकीकरण दिवस मनाउन थालेका छन् । पृथ्वीनारायण शाहलाई स्मरण गर्नु र उनका सोच विचार समेटिएको दिव्य–उपदेशलाई लिएर चिन्तन मनन गर्नु, आवश्यकता अनुरूप त्यसलाई ग्रहण गर्नु आजका सच्चा नेपालीहरूको कर्तव्यसमेत हो ।



Author

सन्तोष खडेरी

इकागजका अबुधाबीस्थित टिप्पणीकार खडेरी नेपालसम्बन्धी दुर्लभ दस्तावेज संकलन र विश्लेषणका लागि परिचित छन् ।


थप समाचार