प्रवास

कोरियन भाषा परीक्षामा नक्कली विद्यार्थीको प्रवेशमा कडाइ, परीक्षार्थीको बायोमेट्रिक परीक्षण हुने

कृषि तथा पशुपालनमा जाने परीक्षार्थीको जेठ १९ बाट परीक्षा सुरु

अतिन आचार्य |
जेठ ११, २०७९ बुधवार १४:४७ बजे

काठमाडौँ- कोरियन भाषाका परीक्षार्थीहरूले यसपटक बायोमेट्रिक परीक्षण गर्नुपर्ने भएको छ । परीक्षा कोठामा नक्कली परीक्षार्थीहरूको सहभागीमा कडाइ गर्न बायोमेट्रिक परीक्षण गरिने भएको हो । दुई वर्षपछि नियमित हुन लागेको भाषा परीक्षालाई व्यवस्थित गर्न बायोमेट्रिक परीक्षण गर्न लागेको हो ।

भाषा परीक्षार्थीहरूको फिङ्गर प्रिन्ट लिएर मात्र परीक्षा भवनमा प्रवेश दिन लागेको इपीएस कोरियन शाखाले जनाएको छ । विगतमा भएको भाषा परीक्षामा नक्कली विद्यार्थीहरूको प्रवेश हुने गरेकाले कडाइ गर्न बायोमेट्रिक परीक्षण हुने भएको छ । समय-समयमा भाषा परीक्षा हलबाट नक्कली परीक्षार्थीहरू पक्राउ पर्ने गरेका थिए।


शाखाकी कार्यवाहक प्रमुख कमला खनालका अनुसार परिक्षा हुने अघिल्लो दिन बायोमेट्रिक परीक्षण हुनेछ । 'परीक्षार्थीको आँखा र फिंगर प्रिन्ट लिएर परीक्षण गरिन्छ,' उनले भनिन,'औलाको फिंगर प्रिन्ट नमिलेमा विद्यार्थीलाई परीक्षा हलमा प्रवेश दिइने छैन ।'

भाषा परीक्षामा नक्कल गर्ने परीक्षार्थी ४ वर्षका लागि पुनः परीक्षामा सामेल हुन पाउने  छैनन् । अर्काको नाममा परीक्षा दिन प्रयत्न गर्ने व्यक्तिलाई पक्राउ गरी सार्वजनिक अपराधमा कारबाही गरिने शाखाले प्रस्ट पारेको छ ।

शाखाले परीक्षालाई व्यवस्थित परीक्षार्थीको निःशूल्क बायोमेट्रिक परीक्षण गर्न लागेको हो । अघिल्लो दिन बायोमेट्रिक गरेर रजिष्ट्रार गरेका विद्यार्थीलाई मात्र प्रवेश दिने खनालले बताइन् । यस वर्षको पहिलो चरणको परीक्षा आगामी जेठ १९ गते परीक्षा हुने भएको छ । कृषि तथा पशुपालनमा जाने विद्यार्थीहरूको परीक्षा हुनेछ । असार १ गतेसम्म पहिलो चरणको परीक्षा हुनेछ ।

शाखाका अनुसार पहिलो चरणको परीक्षा सकिएपछि औद्योगिक क्षेत्रमा जाने विद्यार्थीहरूको परीक्षा हुने मिति सार्वजनिक हुने भएको हो ।

दैनिक तीन सिफ्टमा ६ सय जनाको परीक्षा हुनेछ । परीक्षा भवनमा एक सिफ्टमा २ सय जना परीक्षार्थी हुने खनालले जानकारी दिइन् । 'पहिलो चरणको परीक्षामा १० हजार बढी भाषा परीक्षार्थी सहभागी हुने भएका छन्,' उनले सुनाइन,' परीक्षालाई पूर्ण रुपमा पेपरलेस बनाइनेछ ।'

भैसेपाटीमा​ परीक्षा अनलाइन माध्यमबाट हुनेछ । ट्याब्लेटको माध्यमबाट परीक्षा गरिन्छ । शाखाले अबदेखि कम्प्युटर विधिबाट परीक्षा लिने तयारी गरेको छ । यसअघि परीक्षार्थीले पेपरमा परीक्षा दिने गरेका थिए ।

नेपाली श्रमिकको लागि कोरिया आकर्षक गन्तव्य मानिन्छ । विशेषगरी कृषि र औद्योगिक क्षेत्रमा कामदार गइरहेका छन् ।

कोरियाले नियमित र कमिटेड कामदारलाई नियमित रुपमा लैजाने गरेको छ । कोभिड महामारीपछि गत कात्तिक १० गते कमिटेड कामदार गएका थिए । कोभिड-१९ महामारी सुरु भएपछि कोरिया जाने कामदारहरूले आफ्नो खर्चमा क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था लागू गरेको थियो ।  

नियमित कामदारले पनि दश दिन क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था थियो । यसअघि गएका कमिटेड कामदारले समेत क्वारेन्टाइन बस्नुपरेको थियो ।

सरकारले कोरियामा बसेर आएकाहरूका लागि भाषा परीक्षा पौषमा गरेको थियो । कमिटेड कामदारलाई लैजान थालेपछि नियमित कामदारलाई लैजाने प्रक्रिया पनि अगाडि बढाएको थियो । भाषा परीक्षा नभएमा कोरियाबाट नेपालले पाउने कामदारको कोटा गुम्‍न सक्ने चेतावनी पाएको थियो ।

यसअघि भाषा परीक्षा पास गरेका कूल सात हजार परीक्षार्थी रोष्ट्रममा थिए । सबै गरेर करिब ६ हजार कामदार जान बाँकी रहेका छन् । 

श्रम स्वीकृति प्राप्‍तगरी ६५ हजार बढी नेपाली कामदार कोरिया पुगिसकेका छन् । सन् २००७ देखि वैधानिक रूपमा भाषा परीक्षा उत्तिर्ण गरेर नेपाली कामदार कोरिया जान थालेका हुन् । सन् २०२० को मार्चदेखि कोभिड–१९ का कारण नेपाली कामदार जान पाएका थिएनन् । 

 

 

 

 

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x