प्रवास

अष्ट्रेलियामा नेपाली आप्रवासीको जनसंख्या किन बढ्दो छ ?

इकागज |
असार १८, २०७९ शनिबार १२:५७ बजे

सिड्नी – सन् २००८ मा नेपालबाट अष्ट्रेलिया पुग्दा निराजन पौड्याल एक सामान्य नेपालीका रूपमा थिए । उनी खासै चर्चा नहुने समुदायका व्यक्ति थिए । अष्ट्रेलियन ब्यूरो अफ स्ट्याटिस्टिक्सका अनुसार १५ वर्षअघि अष्ट्रेलियामा नेपालीमुलका ४ हजार ५ सय ६७ जना मात्र थिए ।

तर अहिले अवस्थामा नाटकीयरूपमा परिवर्तन आइसकेको छ । अर्थात सन् २००६ यता अष्ट्रेलियामा नेपाली मूलका मानिसहरूको संख्या २५ गुणाले बढेको छ । 


अष्ट्रेलियाको नयाँ जनगणनाको नतिजा अनुसार अष्ट्रेलियामा नेपालीमूलका १ लाख २२ हजार ५ सय १५ मानिस बसोबास गर्छन् र यो विगत ५ वर्षमा १ सय २४ प्रतिशतको वृद्धि हो । 

विगत पाँच वर्षमा नेपाली आप्रवासीको वृद्धि प्रतिशतका हिसाबले कुनै पनि देशको तुलनामा सबैभन्दा ठूलो तथा संख्याको हिसाबमा भारतपछि कै दोस्रो हो । 

नेपालबाट आप्रवासीहरूको अप्रत्याशित बृद्धिले पौड्याललाई सन् २०१८ मा मसला, परम्परागत मिठाइहरू तथा अन्य सामाग्री बेच्ने नेपाली किराना पसल खोल्न प्रेरित गर्‍यो । उनका अनुसार बढ्दो नेपाली समूदायको संख्याका कारण उनको क्षेत्रमा केवल एक खाद्य पसलले मात्र पुग्ने अवस्था थिएन ।

अष्ट्रेलियामा खासगरी अन्तर्राष्ट्रिय विद्यार्थीको रुपमा नेपालीहरूका आगमन हुने गरेको छ । जस्तै राजधानी काठमाडौंबाट २ सय ८० किलोमिटर पश्चिममा रहेको रोल्पा जिल्लाका सम्राट ओली ।

२४ वर्षीय ओली सन् २०१८ मा नर्थी सिड्नीस्थित क्राउन इन्स्टिच्यूट अफ हायर एजुकेसनमा इन्फरमेसन टेक्नोलोजी अध्ययनका लागि पुगे । नेपालमा गुणस्तरीय शिक्षा नभएको तथा प्रविधिको पनि विकास नभएका कारण उनी अष्ट्रेलिया पुगे । 

न्यानो मौसम र अष्ट्रेलिया स्थिर लोकतन्त्र भएको कारण उनलाई अष्ट्रेलियाले लोभ्यायो । प्रवासी नेपाली विद्यार्थी युनियनका अध्यक्ष समेत रहेका ओलीले पढाइ सकेर नेपाल फर्कने योजना रहेको बताए ।

अष्ट्रेलियन नेशनल युनिभर्सिटीका डेमोग्राफर लिज एलेनले अष्ट्रेलियामा नेपाली समुदाय एकदमै न्यून आधारबाट आउने गरेको बताउछन् । उनले नेपाली आप्रवासीको बढ्दो जनसंख्याले अष्ट्रेलियामा नेपाली आप्रवासीले राम्रो गरिरहेको देखाएको बताउछन् ।

तर अध्यागमन विभागका पूर्व उपसचिव अबुल रिजवीले द्रुत वृद्धिको नकारात्मक पक्ष देख्छन् ।

रिजवीका अनुसार एजेन्टहरूले अनिवार्य रूपमा शिक्षाको नाममा कामको भिसाहरू बेच्न गरेका छन् । उनले गृह विभागले यसबारे तत्काल छानबिन गर्ने विश्वास व्यक्त गरे । 

उनले चीन र भारतजस्तो ठूलो जनसंख्या भएको देश भन्दा नेपालीहरूले बढी विद्यार्थी भिसाका लागि आवेदन दिनु शंकास्पद रहेको बताए । 

पछिल्लो पटक अष्ट्रेलियाको सिमाना खुलेपछि भारत, चीन, पाकिस्तान र श्रीलङ्काको तुलनामा नेपालबाट व्यावसायिक शिक्षाका बढी विद्यार्थीले आवेदन दिएका छन् ।

नेप्लिज अष्ट्रेलियान एसोसिएसनका महासचिव रिशा आचार्यले स्किल्ड वर्क भिसामा जानुअघि नेपाली आप्रवासीहरू अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा आउनु सामान्य भएको बताए । 

आचार्यका अनुसार नेपालमा अष्ट्रेलियाका विश्वविद्यालयहरूले व्यापक मार्केटिङ गरिरहेको तथा माइग्रेसन एजेन्टहरू निकै सक्रिय भएका कारण पनि अष्ट्रेलियामा नेपाली आप्रवासीको बढिरहेको हो । 

(द सन्डे मर्निङ हेराल्डका लागि म्याथ्यू नोटले लेखेको आलेख इकागजका सन्जिव शाहले भावानुवाद गरेका हुन्)


Author

थप समाचार
x