प्रवास

इजरायल जान रोकिएका कामदार पाँच महिनापछि पुनः जाँदै

अतिन आचार्य |
साउन २, २०७९ सोमबार १७:७ बजे

फाइल तस्बिर

काठमाडौँ- सरकारले इजरायल जान रोकिएका कामदारलाई पठाउने प्रक्रिया अगाडि बढाएको छ । यसअघि नियमित रुपमा भाषा परीक्षा पास गरेका कामदार पठाउने प्रक्रिया रोकिएको थियो ।

रोकिएको कामदारलाई एक साता सम्ममा पठाउने गरी प्रक्रिया अगाडि बढाएको वैदेशिक रोजगार विभागले जनाएको छ । इजरायलसँग छलफल भइरहेकाले एक सातासम्ममा नभएमा साउन महिनाभर जसरी पनि कामदार पठाइने विभागका निर्देशक डम्बर सुनुवारले दाबी गरे ।


'इजरायलसँग रोकिएको कामदार लैजानका लागि छलफल भइसकेको छ,' उनले इकाजगसँग भने,' कर्मसियल उडानको निश्चित हुने साथ कामदार पठाइन्छ । कामदारको टिकट अनलाइनबाट बुक भइसकेपछि कामदारको जाने निश्‍चित हुन्छ ।'

हालसम्म नेपालबाट विभिन्न समयमा गरी २९७ कामदार गइसकेका छन् । महिला र पुरुष कामदार गरेर केयर गिभरका कूल १ हजार १७५ जना जानुपर्ने छ । केही समयअघि इजरायलको परराष्ट्र मन्त्रालयमा कर्मचारी युनियनको आन्दोलनका कारण नेपाली कामदार लैजान रोक लगाएको हो ।

करिब पाँच महिनादेखि नियमित रुपमा जानुपर्ने कामदार इजरायल जान पाएका छैनन् । रोकिएको कामदार लैजानका इजरायली पक्ष सहमत भएको सुनुवारले जानकारी दिए ।

केयर गिभरका लागि नयाँ माग नआएको उनले जानकारी दिए ।  बाँकी रहेका कामदारलाई पठाइसकेपछि थप माग आउन सक्ने उनको भनाइ छ । अहिलेसम्म नेपाललाई इजरायली पक्षले थप कामदार दिने कुनै जानकारी नगराएको उनले बताए ।

निर्माण क्षेत्रमा कामदार लैजान इजरायली पक्षसँग छलफल भइरहेको उनको भनाइ छ । 'अहिलेसम्म निर्माण क्षेत्रमा कामदार कति संख्यामा लाने भनेर निश्‍चित भइसकेको छैन,' उनले थपे,' इजरायलमा कुन-कुन क्षेत्रमा कामदार लैजान सकिन्छ भनेर दुवै मुलुकले अध्ययन गरिरहेका छन् ।'

इजरायल जाने नेपालीले टिकट शुल्कबापत करिब ७० हजार रूपैयाँ तिर्नुपर्छ। भिसा शुल्क तीन हजार लाग्छ। भिसा अवधि पाँच वर्षको हुन्छ । केयर गिभरले मासिक कमाइ दुई लाख रूपैयाँ हाराहारी कमाइ गर्नेछन् ।

२०७७ असोज १४ गते इजरायल र नेपाल सरकारको बिचमा केयर गिभरमा नेपाली कामदार लाने गरी सम्झौता भएको थियो । ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लान पाउने गरी सम्झौता गरिएको थियो ।

वैदेशिक रोजगार विभागले साउन ११ गतेदेखि इजरायल जाने कामदारका लागि आवेदन भर्न विज्ञापन खुलाएको थियो । केयर गिभरमा जानेले मासिक तलब करिब दुई लाख पाउनेछ्न् । पाँच वर्षको करार अवधि सुरुमा एक वर्षको मात्र हुनेछ ।

 ६ दिन काम र सातामा ४२ घण्टा काम गर्नुपर्नेछ । इजरायली कानुनअनुसार वार्षिक बिदा पाउने छन् 

 

 

 

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x