प्रवास

फोटो फिचर

फूल राम्रो कि म ?

अजय अलौकिक |
चैत २८, २०७७ शनिबार १०:५५ बजे

बेइजिङ : पछिल्लो वर्षको वसन्त ऋतुकालमा कोभिड-१९ महामारीका कारण रङ्गीचङ्गी फूलको मौसममा उद्यानमा बेफिक्री हिँडदुल गर्न नपाएका बेइजिङबासीले यस पटक भरपुर आनन्द उठाएका छन् । कोभिड-१९ लाई नियन्त्रणमा लिइसकेको चीन र स्थानीय रूपमा सङ्क्रमण नभएको ६० भन्दा बढी दिन पुगिसकेको बेइजिङमा बेइजिङबासीसँगै आन्तरिक पर्यटकले बेइजिङको सबैभन्दा सुन्दर समयमा बेइजिङका ठूला, साना उद्यानहरूको घुमघाम गरेका छन् ।


बेइजिङमा ऐतिहासिक महत्व बोकेका, युनेस्कोमा सुचीकृत भएका तथा साना, ठूला, निःशुल्क र शुल्क लाग्‍ने, र अरू थरिथरिका गरी हजारभन्दा बढी उद्यानहरू रहेका छन् । यी सबै अनेकन् थरिका वासन्ती फूलबाट रङ्गिएका उद्यानहरूमा रम्न, रमाउन तथा सेल्फी खिच्‍न मानिसहरू हतारिएका देखिन्छन् । 

एक तथ्याङ्क अनुसार, हालैमात्र सम्पन्न चिनियाँहरूको छिङमिङ चाडको तीन दिने विदामा उद्यान घुम्‍ने घरेलु पर्यटकको नयाँ रेकर्ड बनेको छ । तथ्याङ्क अनुसार, गृष्म प्रासाद, बेइजिङ चिडियाखाना, यूयूआनथान पार्कलगायत मुख्य ११ वटा उद्यानहरूले तीन दिनमा (अप्रिल ३-५) १९ लाख पर्यटक भित्र्याएका छन् ।

यसै गरी बेइजिङ नगरपालिका संस्कृति तथा पर्यटन विभागको एक तथ्याङ्क अनुसार, बेइजिङका १८२ वटा पर्यटन स्थल तथा पार्कहरूले ६० लाख ८७ हजार पर्यटक भित्र्याएका छन् । यसबाट २९ करोड ३ लाख यूआनको आमदानी गरेको छ । यी विविध उद्यानहरूमा चेरीको फूल, कतै आरूको फूल, कतै चम्पा यस्तै वसन्ती वनस्पतीको मेला समेत लाग्‍ने गर्दछ । 

यी इन्टरनेशनल स्कल्पचर (अन्तर्राष्ट्रिय मूर्ति) पार्कका तस्वीरहरू हुन् । यो पार्कमा ४० वटा देश तथा क्षेत्रका १८० मूर्तिकारका मूर्तिहरू राखिएका छन् यद्यपि हाल वसन्तकालमा चम्पाका विभिन्‍न प्रजातिका फूलहरू धेरै देखिन्छन् । यहाँ ८ प्रजातिका चम्पाहरू पाइन्छन् र यो बेइजिङको ठूलो चम्पा उद्यान हो र यसले ५ हेक्टर क्षेत्रफल ओगटेको छ ।

 

 


Author

थप समाचार
x