प्रवास

पैचोका उत्पादन अमेरिकामा

इकागज |
भदौ १०, २०७९ शुक्रवार १०:४० बजे

काठमाडौ - ग्रामीण क्षेत्रको कृषिजन्य उत्पादनलाई प्रशोधनगरी बिक्री वितरण गर्दै आएको पैचो पसल प्रालिद्वारा उत्पादित उत्पादनहरू अब संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यमा उपलब्ध हुने भएको छ । पैचोले आफ्नो उत्पादनलाई विश्वभर छरिएर बसेका नेपाली डायस्पोरामाझ पुर्‍याउने उद्देश्यले अमेरिकामा निर्यात सुरुवात गरेको हो। पैचोका उत्पादन अमेरिका पुर्‍याउन न्यूयोर्कमा कार्यालय रहेको फेन्सी हाउस इन्कले नेपालको अग्नि एक्जिम प्रालीमार्फत् सहकार्य गरेको छ ।

'बसे पनि सहर, गाउँकै खाने रहर' भन्ने मूल मन्त्रका साथ सुरु भएको पैंचोले विदेशमा बसोबास गर्ने आम नेपाली समुदायले पनि रुचाउने आफ्नै जन्ममाटोको स्वादको पारखकै कारण अन्तर्राष्ट्रिय बजारमा पुरयाउन लागेको हो ।


लामो समय विदेशमा बसे पनि नेपाली स्वादप्रति भोको हुने आम उपभोक्ताको मनोविज्ञान र मागलाई मध्यनजर गर्दै विशुद्ध पहाडी र उच्चपहाडी भूभागका कृषकले उत्पादन गरेको कृषिजन्य पदार्थलाई प्रशोधन गरी निर्यात गर्न पाउँदा पैचो पसल प्राली आफुलाई गौरावान्वित महशुस भएको जनाएको छ। अर्गानिक र इन्टिग्रेटेड पेस्ट म्यानेजमेन्ट पद्धतीबाट उत्पादित ग्रामीण खाद्यवस्तुको रैथाने स्वादलाई विदेशमा लैजान सुरु गरिएको पैचो पसल प्रालीका बजार व्यवस्थापक लक्ष्मण गैरेले जानकारी दिए ।

'अहिले विदेशमा बस्ने नेपालीले नेपालकै उत्पादनप्रति धेरै नै चाहना गरिरहेका हुन्छन् । नेपाल आएपछि विदेशमा फर्किदा थोरै मात्र त्यस्ता उत्पादन साथमा लगे पनि लामो समय विदेशमा बस्दा स्वेदशी खाद्यवस्तुको अभावको महशुस भैरहेको हुन्छ,' उनले भने, 'त्यसैले पैचोले अहिले नेपालको ग्रामीण स्वादलाई विश्वभरी छरिएर रहनुभएका नेपाली माझ पुर्याउने योजनामा अगाडि बढाइरहको छ ।'

गुल्मीबाट सुरु भएको पैचो पसलले गुल्मी, पाल्पा, अर्घाखांची, बागलुङ, प्यूठान, रोल्पा, रुकुम, सल्यान, जुम्ला, कालिकोट लगायतका जिल्लाका किसानले उत्पादन गरेको कृषिजन्य पदार्थलाई मात्र खरिद गर्दै आएको छ। जसका कारण ग्रामीण अर्थतन्त्रलाई सबल बनाउन र केही मात्रामा भए पनि राष्ट्रिय अर्थतन्त्रलाई जीवन्त राख्न पैचोका उत्पादनले भूमिका खेलेका छन् ।

यसैगरी विदेशी आयातलाई प्रतिस्थापन गर्न स्वदेशकै ठूला औद्योगिक प्रतिष्ठानहरूलाई पैचो पसलले औद्योगिक कच्चा पदार्थ उपलब्ध गराइरहेको छ । यसअर्थमा, पैचोद्वारा प्रशोधित उत्पादन विदेशमा निर्यात हुँदा त्यसको स्वामित्व ती गाउँले किसान परिवारसम्म पुग्छ भन्नेमा पैचो पसल विश्वस्त रहेको छ ।

यसैगरी परम्परागत खाद्यवस्तु जस्तैः फापरको पीठो, कोदोको पीठो, सिन्की, मस्यौरा तथा जुम्लाको सिमी र पहाडी जिल्लामा उत्पादित मकैको आटो (च्याख्ला), लगायतका जस्ता खाद्य वस्तु उत्पादन गर्दै आएको छ ।


Author

थप समाचार
x