प्रवास

अमेरिकामा भएको सेप्टेम्बर ११ आक्रमणको २१ औं वर्ष, राष्ट्रपति बाइडेनद्वारा मृतकप्रति सम्मान व्यक्त

इकागज |
भदौ २६, २०७९ आइतबार २१:५३ बजे

फाइल फोटो

न्यूयोर्क - अमेरिकी राष्ट्रपति जो बाइडनले पेन्टागन र न्यूयोर्कको भ्रमण गरी विमान अपहरण गरी अमेरिकी दुई व्यापारिक भवन (ट्विन टावर) ध्वस्त पार्दा मारिएका करिब तीन हजार व्यक्तिलाई सम्मान गरेको छ । 

उक्त क्रुर आक्रमणमा मारिएका मृतकका आफन्तहरू, प्रहरी अधिकारीहरू, अग्निनियन्त्रकहरू र शहरका नेताहरू लोअर म्यानहट्टनको राष्ट्रिय सेप्टेम्बर ११ स्मारकमा भेला भई मृत्यु भएकाहरूको नाम ठूलो स्वरमा उच्चारण गरी उनीहरूको सम्झना गरेका छन् । 


उनीहरूले मृतकको सम्मानमा अमेरिकी समय अनुसार बिहान ८ः४६ र ९ः०३ बजे मौन धारण गरेका छन् । यही समयमा यात्रुबहाक विमानलाई अपहरण गरी अपहरणकारी अलकायदा समूहले वल्र्ड ट्रेड सेन्टरको नर्थ र साउथ टावरहरूमा आक्रमण गरेका थिए ।

आइतबार अमेरिकी राष्ट्रपति पेन्टागनस्थित रक्षा विभागको मुख्यालयको रूपमा रहेको विशाल भवनमा विमान खसालेको स्थानमा पुगी मृतकको सम्झना एवं सम्मान गरेका थिए । 

`२१ वर्षपछि हामी ग्राउन्ड जिरो, पेन्सिलभेनियाको स्यान्क्सभिल र पेन्टागनमा हामीबाट चोरी भएका सबै अमूल्य जीवनको सम्झनालाई जीवित राखेका छौं,’ बाइडेनले ट्वीटरमा लेखेका छन् । मृतकका परिवार र प्रियजनहरूले अझै पनि पीडा महसुस गरिरहेको बताउँदै दुःखको यस घडीमा आफ्नी पत्नी जिल र अमेरिकी राष्ट्रपतिका रूपमा आफू (बाइडेन) उीहरूको साथमा रहने ऐक्यवद्धता व्यक्त गरेका छन् । 

अलकायदाले चारवटा विमान अपहरण गरेको थियो । तेस्रो पेन्टागनमा र चौथो फ्लाइट ९३ पेन्सिलभेनियाको एक खेतमा दुर्घटनाग्रस्त भएको थियो ।

उपराष्ट्रपति कमला ह्यारिस, होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेजान्ड्रो मेयरकास र मेयर एरिक एडम्स न्यूयोर्कमा आयोजित समारोहमा सहभागी भएका थिए, जहाँ आफन्तहरूले एकअर्कालाई अँगालो हालेका थिए, स्मारकमा फूल चढाएका थिए र मृतकका नाम अङ्कित प्लेकार्ड बोकेका थिए वा आफ्ना हराएका प्रियजनहरूको तस्वीर अङ्कित पहिरन लगाएका थिए ।

मृतकमध्ये एक जोन लेस्ली अल्बर्टका छोराले आफ्ना पितासहित थुप्रै पीडितको नाम पढेपछि भने, `समयबित्दै जाँदा दुःख केही कम हुँदै गए तापनि मेरो बुबाको स्थायी अनुपस्थिति पहिलेजस्तै स्पष्ट छ ।`

नाटोका महासचिव जेन्स स्टोलटेनबर्ग र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सेप्टेम्बर ११ लाई अमेरिका र विश्वका लागि ‘सबैभन्दा दुःखद दिन’ भनेका छन् ।

`हरेक दिन क्षेप्यास्त्र आक्रमणको सामना गरिरहेको युक्रेनलाई आतङ्कवाद भनेको के हो भन्ने राम्ररी थाहा छ र अमेरिकी जनताप्रति सहानुभूति राख्छ,` जेलेन्स्कीले ट्वीटरमा लेखेका छन् । 


Author

थप समाचार
x