प्रवास

साउदीसँग श्रम समझदारी हुँदै

इकागज |
भदौ ३१, २०७९ शुक्रवार १५:४६ बजे

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियासँग छिट्टै श्रम सम्झौता हुने बताएका छन् । आफूसँग शिष्टाचार भेटका लागि आज सिंहदरबार पुगेका नेपालका लागि साउदी अरेबियाका राजदूत साद नासेर अब्दुल्ला अबु हैमदलाई मन्त्री कुँवरले दुई देशबीचको श्रम सम्झौताको काम अगाडि बढिरहेको बताएका थिए ।    
    
सो अवसरमा उनीहरुबीच साउदीमा काम गर्ने नेपाली श्रमिकको सुरक्षाका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्री कुँवरले साउदी अरेबियामा काम गर्दै आएका नेपालीको समस्या र उनीहरुको सुरक्षाका लागि सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको थियो । 
    
उनले नेपालबाट साउदीमा सीपयुक्त जनशक्ति पठाउनका लागि त्यहाँको सरकारले पनि सहयोग गर्नुपर्ने बताएका थिए । मन्त्री कुँवरले साउदीमा काम गर्ने नेपाली श्रमिकलाई त्यहाँको सरकारले रोजगारको अवधि सकिएपछि बहिर्गमन भिसा समयमै नदिँदा नेपालीले कामदारले समस्या भोग्ने गरेकाले यसमा विशेष सहयोग गरिदिन आग्रह गरेका थिए ।    
    
भेटमा राजदूत हैमदले नेपाली श्रमिकले भोग्नुपरेका समस्या समाधानका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।    
 



Author

थप समाचार
x