प्रवास

युएईको जेलमा रहेका अमर बमको रिहाइको पहल गरिदिन आग्रह

इकागज |
मंसिर २७, २०७९ मगलवार २०:२३ बजे

सांकेतिक तस्विर

काठमाडौँ - ‘अमर बम फर्काऊ अभियान’ले २० वर्षदेखि  युनाइटेड अरब इमिरेट्स (युएई)को जेलमा रहेका दार्चुलाका अमरबहादुर बमको रिहाइका लागि पहल गरिदिन सरकारसँग आग्रह गरेको छ । 

आज यहाँ पत्रकार सम्मेलन गर्दै अभियानले रोजगारीको सिलसिलामा युएई पुगेका बम बिना कसुर जेलमा बस्नुपरेको जानकारी दिएको हो । 


विवाह गरेको एक महिनामै श्रीमती, बुबाआमालाई छाडेर धन कमाउने सपना बोकेर बम युएईको एक कम्पनीमा सवारी चालकका रूपमा पुगेका थिए । 

सोही क्रममा उनी जेल परेका थिए । उनी निर्दोष रहेको भन्दै विभिन्न प्रयास भए पनि सबै असफल भएको अभियानको गुनासो छ । अभियानले सरकारले पहल नगरेकाले बमलाई स्वदेश फर्काउन ढिलाइ भइरहेको टिप्पणी गरेको छ ।

कामको सिलसिलामा भारत पुगेका दार्चुलाका बमलाई भारतीय दुई नगारिकले जालझेलमा पारी युएई पुर्‍याएको अभियानले जनाएको छ । जेलमा रहेका अमरलाई स्वदेश फर्काउन पहल थालेको मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बताए । प्रसाईंले आफूले बमको रिहाइका लागि युएईका राजकुमारलाई पत्र लेखिसकेको पनि जानकारी दिए । उनले भने, 'मैले केही महिनाअघि नै युएईका राजकुमारलाई पत्र पठाइसकेको छु ।'

कार्यक्रममा वैज्ञानिक कपिल पौडेल, समाजसेवी जेरी ताम्राकारलगायतले अमरलाई तुरुन्त नेपाल फर्काउनुपर्नेमा जोड दिएका थिए । रासस


Author

थप समाचार
x