प्रवास

रवि लामिछानेको मुद्दाले एनआरएनएलाई कुनै असर गर्दैन : उपाध्यक्ष शर्मा

इकागज |
माघ १४, २०७९ शनिबार १४:३४ बजे

लण्डन- गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतले शुक्रबार दिएको फैसलाले एनआरएनएहरूलाई कुनै असर नपर्ने बताएका छन् ।

डा. शर्माले फैसलाले ‘गैरआवासीय नेपालीको एक पटकको नेपाली सधैंको नेपाली’ अभियानलाई पूर्ण विराम लगायो, नेपालको सम्पत्ति असुरक्षित हुने भयो, एनआरएनएका लागि कालो दिन’ आदि सामाजिक सञ्जालमा आएका प्रतिक्रियामा सत्यता नरहेको बताए । 


संघका पूर्व महासचिव समेत रहेका डा.शर्माले भने, 'कसैलाई राजनीति गर्न मन लाग्यो विदेशी नागरिकता त्याग्ने बित्तिकै नेपालको नागरिकता पुनः प्राप्ति गर्नसक्छ । पहिलेको प्रस्तावित कानुनमा नेपाल फर्केर ५ वर्ष बसेपछि मात्र राजनीतिक अधिकार प्राप्त गर्ने थियो । तर, अहिलेको कानुन यति धेरै उदार बनाइएको छ कि नेपाल फर्केको भोलिपल्टदेखि नै राजनीतिमा प्रवेश गर्न पाए छन् । यो उदार व्यवस्थालाई सही किसिमले सदुपयोग गर्न सक्नुपर्छ ।'

उनले प्रश्न नागरिकता पुनः प्राप्ति गर्न सम्बन्धित निकायमा निवेदन दिनुपर्छ वा पहिलेको नागरिकता स्वतः ब्यूँतिन्छ भन्ने थियो तर अदालतले निवेदन दिनुपर्छ भन्ने फैसला गरेपछि पुनः नागरिकता लिने बाटो प्रष्ट पारेको पनि उल्लेख गरे । 

फैसलाले विदेशको नागरिकता लुकाएर नेपाली नागरिकताले नेपालमा घर जग्गा किन्ने लगायतका कारोबार गर्नु गैरकानुनी हुने भनेर गैरआवासीय नेपालीहरूलाई थप सचेत बनाएको डा शर्माकाे भनाइ छ ।

उनले गैरआवासीय नेपालीहरूको सम्पत्तिको अधिकार  प्रस्ताविक गैरआवासीय नेपालीसम्बन्धी ऐनमा विशेष व्यवस्था हुने जानकारी पनि दिए । 

डा. शर्माका अनुसार संविधानमा प्रस्तावित गैरआवासीय नेपाली नागरिकतासम्बन्धी व्यवस्थाले नेपालको पैतृक सम्पत्ति, अंशबन्डा, अपुताली लगायतका सम्पत्तिको अधिकार सुनिश्चतता गरेको छ ।  

बाहिर बस्ने नेपालीको नागरिकतालाई सम्बोधन गर्न संविधानको धारा १४ मा राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरेको डा. शर्माले बताए । उनले रवि लामिछानेको विपक्षमा आएको फैसला पछि पनि संविधानमा भएका यी विषयहरू यथावत् नै रहने जिकिर गरे ।


Author

थप समाचार
x