प्रवास

टोकियोमा हिरासतभित्र मृत्यु भएका नेपाली नागरिकलाई क्षतिपूर्ति दिन अदालतको आदेश

संगीता कुँवर |
चैत ५, २०७९ आइतबार ८:२१ बजे

जापान - महानगरीय प्रहरी महाशाखा टोकियोले अरूको नामको क्रेडिट कार्ड बोकेको आरोपमा पक्राउ परेका नेपालीलाई टोकियो हिरासतमा सोधपुछका क्रममा मृत्यु भएपछि चलेको मुद्दाको ६ वर्षपछि सुनुवाइ भएको छ । अदालतले ३९ वर्षका नेपाली नागरिक अर्जुनबहादुर सिंहको परिवारलाई क्षतिपूर्ति दिन फैसला सुनाएको हो ।
मुद्दाको सुनुवाइमा टोकियो अदालतले महानगरीय प्रहरी विभागका कर्मचारीको लापरबाही भएको स्वीकार गर्दै क्षतिपूर्ति दिन आदेश दिएको हो। टोकियो अदालतका प्रधानन्यायाधीश फूकुदा चिएकोले गरेको फैसलाले राष्ट्रिय सरकार र टोकियो महानगरीय सरकारबाट ७ हजार ५ सय डलर बराबरको क्षतिपूर्तिको आदेशको फैसला सुनाएको छ।

६ वर्षअघि अर्काको नाममा रहेको क्रेडिट कार्ड बोकेको आशंकामा ‘अरूको नामको कागजात हिनामिना’अन्तर्गतको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। सिंह जापानी भाषा खासै बुझ्दैनथे । आफूलाई राखिएको कोठाबाट निस्कन खोजेको भन्दै प्रहरीले उनलाई पेटी र डोरीले हात खुट्टा बाँधेर राखेको थियो। सोधपुछ गर्ने बेलामा मात्रै उनको पेटी र डोरी केही खुकुलो पारिदिने गरेको र डोरी बाँधेकै कारण सिंहको हात सुन्निएर रगत प्रवाह अवरुद्ध भएको थियो। रगत प्रवाह बन्द हुँदा पनि समयमै अस्पताल नलगेको र बेहोस भएपछि मात्र अस्पताल लैजाँदा मृत्यु भएको बताइएको छ।


अनुसन्धानको क्रममा हिरासतमा राख्नु ‘गैरकानूनी’ नभएको ठहर गर्दै, तर बिरामीले उपचार नपाउनु अन्याय भएको फैसलामा उल्लेख छ। बेलैमा अस्पताल पुर्‍याएको भए मृत्यु हुनबाट जोगाउन सकिने भन्दै प्रहरी अनुसन्धानकर्ताको लापरबाही भएको फैसलाले स्वीकार पनि गरेको छ।

सिंहकी श्रीमतीले प्रहरी र हिरासतका अनुसन्धानकर्ताको गल्ती भएको भन्दै ४ लाख ५० हजार डलर बराबरको क्षतिपूर्तिको माग गर्दै मुद्दा दर्ता गरेकी थिइन् । वकिलहरूले मुद्दा मृतकको परिवारको पक्षमा भए पनि क्षतिपूर्ति रकम हेर्दा दु:ख लागेको बताएका छन्।

फैसलापछिको पत्रकार सम्मेलनमा बोल्दै अधिवक्ता ओगावाले भने, ‘हामीले मुद्दा जिते पनि अदालतले क्षतिपूर्तिको रकम नेपाली कानून अनुसारको ल्यायो, जुन अव्यावहारिक छ र मानवअधिकारको हिसाबले पनि यो निकै चिन्ताजनक हो।’

मृतक अर्जुनकी श्रीमती अम्बिका बुढासिंहले जापानी मिडियामा बोल्दै भनेकी छन् ‘मृत्यु हुनुभन्दा २ दिन अघि म ठिक छु मेरो चिन्ता नगर्नु भन्नुभएको थियो । त्यसको ३ दिनपछि श्रीमानको मृत्यु भयो भन्ने खबर आयो जापानमा यस्तो हुन्छ भनेर कहिल्यै सोचेकी थिइन्। मेरो श्रीमान धेरै राम्रो मान्छे हुनुहुन्थो। यो घटना कहिल्यै बिर्सन सक्दिनँ।'

नेपालको कानून अनुसार क्षतिपूर्ति दिइ रकम घटाइएको भन्दै फैसलाको आलोचना भएको छ । यो फैसलाविरुद्ध सिंह परिवार पक्षका वकिलहरूले पुनरावेदन अदालत जाने तयारी गरिरहेको समेत जापानी मिडियाले खबर छापेका छन्।

जापानमा अर्को व्यक्तिको स्वामित्वमा रहेको कुरालाई आफ्नो भनेर बोकेर हिँड्नु या प्रयोग गर्नु अपराध मानिन्छ।


Author

संगीता कुँवर

कुँवर जापानस्थित इकागजकी प्रतिनिधि हुन् ।


थप समाचार
x