प्रवास

अफगानिस्तानमा लडाईं निरन्तर

इकागज |
असोज ३०, २०७७ शुक्रवार ७:५१ बजे

काठमाडौं : शान्ति वार्ताकै क्रममा अफगानिस्तानमा भीषण लडाई भएको छ । अफगानिस्तानको हेलमन्द प्रान्तमा सरकारी सैन्य बल र तालिवान विद्रोहीबीच तीन दिनयता लडाई जारी छ । लडाइँका कारण  ५० हजार बढी स्थानीय विस्थापित भएका अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् ।

अफगानिस्तानमा भूतपूर्व गोर्खा सैनिकहरु पनि राष्ट्रसंघीय कार्यालयहरूमा कार्यरत छन् । कोभिडका कारण कतिपय नेपाली नेपाल आएका छन् । गत महिना अफगान सरकार र तालिवानबीच शान्ति वार्ता आरम्भ भएको थियो । उनीहरुबीच कतारको दोहामा वार्ताको सिलसिला जारी छ । वार्ताकै क्रममा अफगानिस्तानमा लडाई भएको हो । वार्ता जारी भएयता यो पहिलो लडाई हो ।


पछिल्लो जारी वार्ताले मुलुकमा शान्ति स्थापना हुने अपेक्षामा अफगानी थिए । तर यो भिडन्तले उनीहरु फेरि निराश भएका छन् । ‘यो लडाईले गर्दा हाम्रो केही बाँकी रहेन । बस्ने घर छैन । भएका सम्पत्ति बस्तुभाऊ सबै गुम्यो,’ स्थानीय नेता अतिकुल्लाहले बीबीसीलाई भने । कतिपय परिवारका सदस्य तथा आफन्तहरूले लस्कर गाहमा शरण लिइरहेको जानकारी पनि उनले दिएका थिए ।

अफगान सेनालाई अमेरिकी सेनाले हवाई कारवाहीमार्फत् सघाइरहेको भए पनि त्यसमा सफलता हासिल गर्न सकेका छैनन् । लस्कर गाहलाई तालिवानबाट बचाउने प्रयास अफगानी सेनाले गरेको छ । त्यसमा अमेरिकीले सहयोग गरेको हो । यो अफगानको महत्वपूर्ण प्रान्तको राजधानी हो ।

भिडन्तको भयावह अवस्था छ । हेलमन्द र छिमेकी प्रान्त कान्दाहारमा विद्युत् आपूर्ति, आमसञ्चार लगायत सबै बन्द भएकाले जनतामा त्रास छाएको छ । उक्त समस्या सुल्झिने गरी अघि नबढेको भन्दै तालिवान विद्रोहीलाई विश्वास गरिहाल्न नहुने अफागानिस्तानस्थित नेटो प्रमुख अमेरिकी जनरल स्कट मिलरले बताएका थिए । तालिवान विद्रोहीहरूले शान्ति वार्तालाई नजर-अन्दाज गरेको आरोप लगाउँदै आएका थिए।

गत फेब्रुअरीमा अमेरिकासँग भएको सम्झौताको उल्लंघन गरेका भन्दै उनले कडा शब्दमा तालिवानको निन्दा गरेका थिए। १९ वर्ष लामो युद्धपछि अमेरिका र तालिवानले शान्ति बहालीका लागि सम्झौता गरेका थिए । सम्झौताअनुसार तालिवान पक्ष आफ्नो नियन्त्रण कायम रहेका क्षेत्रमा अल-कायदा वा अन्य चरमपन्थी समूहलाई आश्रय नदिन सहमत भएको थियो। उक्त सम्झौता पालना गरेको खण्डमा अमेरिका र नेटो सहयोगीले १४ महिनाभित्र अफगानिस्तानबाट सेना फिर्ता गर्ने समेत उल्लेख थियो ।

हेलिकप्टर जुध्यो
हेल्मन्द प्रान्तको भिडन्तका क्रममा घाइते भएका अफगान सेना बोकेका दुई एमआई-१७ हेलिकप्टर जुधेको थियो । यसरी उद्धार र युद्धमा प्रयोग भएका हेलिकप्टर जुध्दा कम्तीमा नौ जना सैनिकको मृत्यु भएको जानकारी दिइएको छ । 
रुसमा निर्मित उक्त हेलिकप्टरमा आएको प्राविधिक समस्याका कारण बुधबार बिहान नवा जिल्लामा दुर्घटना भएको हो । अफगानिस्तानको रक्षा मन्त्रालयले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।


Author

थप समाचार
x