प्रवास

खोप लगाउने लाइनमा लगेजसहित विदेशिने युवा

अतिन आचार्य |
साउन ५, २०७८ मंगलबार २०:११ बजे

काठमाडौँ – भुइँमा लगेज, हात-हातमा पासपोर्ट। लाग्थ्‍यो विदेश जान म्यानपावरमा अन्तवार्ता दिन जान लागेका हुन् । हो, उनीहरू वैदेशिक रोजगारी जानेहरू नै हुन् । तर, म्‍यानपावर जान लागेका भने होइनन् । उनीहरू अस्पतालमा कोभिडविरुद्धको खोप लगाउन लाइनमा बसिरहेकाहरू हुन् ।

भिडमा भेटिए कपिलवस्तुका धनबहादुर विक। मंगलबार बिहान मात्र काठमाडौँ आइपुगेका उनी कोभिडविरुद्धको खोप लगाएको कार्ड हातमा बोकेर बसेका थिए। सरकारले वैदेशिक रोजगारमा जानेलाई कोभिडविरुद्धको खोप दिने भएपछि उनी अस्पताल पगेका हुन् ।


धनबहादुर कतारबाट तीन महिना अघि घर आएका थिए । '५० दिनको बिदामा आएको थिएँ । तर, कोभिडको संख्या बढेकाले बढी समय घरमा बस्नुपर्‍यो,' उनले भने, ' 'सरकारले वैदेशिक रोजगारमा जानेलाई खोप उपलब्ध गराएकाले काठमाडौँ चाँडै आएको हुँ ।'

धनबहादुर लाइन बसेको करिब दुई घण्टा भइसकेको थियो । आज प्रमाणीकरण नगरे उनले भोलि खोपको प्रमाणीकरण पत्र पाउँथेनन् । मुस्लिम धर्मालवम्बीको चाँड इद परेकाले सार्वजनिक बिदा छ । खोप लगाएको प्रमाणपत्र आज नपाए खोप लगाएको महत्त्व नहुने उनले बताए। कतारका लागि उनको बिहीबार बिहान ७ बजे उडान छ । आज जसरी पनि खोप लगाएको प्रमाणीकरण पाएमा सहज हुने उनले बताए ।

उनी वैदेशिक रोजगारमा गएको पाँच वर्ष भइसकेको छ । यसअघि पनि कतारमा २ वर्ष बसेर स्वदेश फर्केका थिए । धनबहादुर पछिल्लो समय कतार गएको करिब तीन वर्ष भयो । कतारको अटो मार्ट स्टेशन पेट्रोलपम्पमा तेल भर्ने काम गर्छन् ।

कम्पनीले पठाएको टिकटमा उनी मरुभूमीको तातो खान जाँदैछन् । खोप लगाएको कार्ड देखाएमा कतारमा क्वारेन्टिनमा बस्नुनपर्ने उनले बताए । उहिले दुई लाख रुपैयाँ तिरेर कतार गएका अहिले कतारमा मासिक १३ सय रियाल पाइरहेको उनी सुनाउँछन् । खोपले हामी जस्तो विदेशमा बसेर खानेको जीवनमा आशा जगाएको उनले बताए ।

पहिलोपटक साउदी जानका लागि तयारी अवस्थामा कपिलवस्तुका नवीन थारुको पीडा पनि धनबहादुरको जस्तै छ । उनको तीन महिनाअघि भिसा आए पनि खोप नपाएका कारण विदेश जान पाएका थिएनन् । ड्राइभरको भिसामा मासिक १८ सय रियाल तलब पाउने आशामा उनी साउदी जान लागेका हुन् । कोभिड महामारी सुरु भएपछि धेरै मानिसहरू सहजै विदेश जान पाएका थिएनन् ।

'कोभिड महामारीका बेला किन विदेश जानु लाग्नु भएको ?' इकागजको प्रश्नमा नवीनको जवाफ थियो, 'अहिले विदेश जाने म मात्र नभएर हज्जारौ मानिस खोप लगाउने लाइनमा बसेका छन् । यहाँ भनेअनुसारको काम नपाइने र पर्याप्‍त रोजगारको वातावरण नभएकाले महामारीमा विदेश जानुपरेको छ ।'

नवीनले १२ कक्षा उतीर्ण गरेका छन् । योग्यता अनुसारको काम पाइने नभएकाले पासपोर्टको सहारा लिएर पहिलोपटक विदेशिने तयारी उनको छ ।

२४ वर्षीय थारुले महामारी अघि पनि विदेश जाने प्रयास गरेका थिए । कोभिडको पहिलो लहरमा साउदी जान म्यानपावरमा पासपोर्टमा बुझाएका थिए। 'म्यानपावर कम्पनीको नाम नसोध्नुहोला । नाम थाहा पाएमा हामीलाई अप्ठयारो पर्न सक्छ,' हाँस्‍दै उनले भने ।

सरकारले वैदेशिक रोजगारमा जानेहरूलाई प्राथमिकतामा राखेर खोप दिन थालेपछि आशा जागेको नेपाल वैदेशिक रोजगार व्यवसायिक संघका कार्यवाहक अध्यक्ष कमल तामाङले बताए । हरेक नेपालीलाई खोप उपलब्ध गराउनु राज्यको दायित्त्व भएको तामाङको भनाइ छ । मुलुकको अर्थतन्त्र धान्ने समूहलाई खोप उपलब्ध गराउनु सकरात्मक कुरा रहेको उनले बताए ।

'कोभिडविरुद्धको खोप लगाउन काठमाडौँ आउनुपर्ने बाध्यता हटाउनुपर्छ,' तामाङले भने,' वैदेशिक रोजागारमा जानेलाई स्थानीय तहमा खोप लगाउने व्यवस्था गरिनुपर्छ ।' वैदेशिक रोजगारमा जानेलाई पहिलो प्राथमिकतामा राख्‍न तामाङले सुझाव दिए ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x