प्रवास

कोभिडविरुध्द चिनियाँ खोप लगाएका नेपाली डाक्टर

अजय अलौकिक |
मंसिर १८, २०७७ बिहीबार ६:५९ बजे

बेइजिङ : कोभिड-१९ को प्रकोपपछि हाल विश्वमा यसविरूद्धको खोप बनाउने होडबाजी चलेको छ । पछिल्लो समयमा विभिन्न देशका विभिन्न विज्ञान तथा अनुसन्धान संस्था र औषधि निर्माण कम्पनीहरूले आफ्नो खोप सफल भएको दावी गरिरहेका छन् । यसैबीच चीनमा पनि पाँच वटा खोपको अन्तिम तेस्रो चरणको परीक्षण र बाँकी ९ वटाको परीक्षण भइरहेको चिनियाँ अधिकारीले बताएका छन् । साथै यी अन्तिम चरणका खोपहरू सफल भइसकेको चिनियाँ अधिकारीको दावी छ । हाल चीनमा फ्रन्टलाइनमा खटेका स्वास्थ्यकर्मीदेखि वृद्धवृद्धा र उच्च जोखिम क्षेत्रमा यस्ता खोप दिइएको छ । 

यसै क्रममा बेइजिङमा एक नेपाली डाक्टरले पनि कोभिड-१९ विरूद्धको चिनियाँ खोप लगाएका छन् । विगत ७ वर्षदेखि बेइजिङ यूनाइटेड फेमिली हस्पिटलमा कार्यरत् जनरल सर्जन डाक्टर विकास राईले कोभिडविरूद्ध चिनियाँ खोप लगाएका हुन् । उनले कोभिडविरूद्धको खोपको पहिलो डोज अक्टुबरको अन्तिममा र दोस्रो डोज नोभेम्बर १६ मा लगाएका हुन् । उनले काम गर्ने सो अस्पतालमा सेप्टम्बरको अन्तदेखि नै कर्मचारी तथा स्वास्थ्यकर्मीलाई तेस्रो चरणको परीक्षण खोप दिन सुरू गरेको थियो ।


खोप लगाएका झण्डै सय प्रतिशत कर्मचारीमा कुनै प्रतिकुल वा गम्भीर असर देखिएको छैन । ‘यो तेस्रो चरणको परीक्षण खोप लगाएका ९६,९७ प्रतिशत बढी कर्मचारीलाई कुनै साइड इफेक्ट देखिएको छैन, मात्र एक, दुई जनालाई सामान्य रूघा तथा पखाला लागेको भन्‍ने सुने,’ डाक्टर राईले आफ्नो पहिलो अनुभव सुनाए । ‘मैले दोस्रो डोज नोभेम्बर १६ मा लगाएको हुँ, पहिलो डोज लगाएको १३ दिनपछि मात्र दोस्रो डोज लगाउन मिल्छ,’ उनले थपे, ‘अब डिसेम्बर १६ मा यो भ्याक्सिनले मेरो शरीरमा काम गर्यो या गरेन भन्‍ने थाहा हुन्छ ।’ डाक्टर राईका अनुसार, शरीरमा एन्टीबडीको विकास भयो भने खोप सफल मानिन्छ । सो नतिजा दोस्रो या अन्तिम डोज लगाएको तीस दिनपछि मात्र थाहा पाउन सकिन्छ ।

सो अस्पतालमा दोस्रो खोप लगाएर तीस दिनको म्याद काटिसकेका ९८ प्रतिशत कर्मचारीको शरीरमा एन्टीबडीको विकास भएको छ । उनले भने, ‘अस्पतालले जानकारी दिए अनुसार हाम्रो अस्पतालमा सबै कर्मचारी गरी एक हजारजनालाई यो खोप दिइएको छ, त्यसमध्ये ९८ प्रतिशतमा एन्टीबडी डेभलप भएको छ, यसकारण यो खोप सफल छ ।’ एन्टीबडी भएपछि सङ्क्रमणको सम्भावना न्यून हुन्छ । तर बाकी २ प्रतिशतमा कसरी एन्टीबडी डेभलप नभएको भन्ने जिज्ञासामा डाक्टर राई भन्छन्, ‘यो जीनको कुरा हो, मानिस सबैमा एकैनासको जीन हुँदैन, यसरी मानिसमा भिन्न भिन्न जीन हुने भएकोले नै खोपको परीक्षण भइरहेको हो र विश्वका विभिन्न देशमा परीक्षण गर्नुको कारण पनि यही नै हो ।’

यसैबीच परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लिच्येनले एक पत्रकार सम्मेलनमा हाल संयुक्त अरब इमिरेट्स, ब्राजिल, पाकिस्तान, पेरूलगायतका देशहरूमा यो कोभिडविरूद्धका विभिन्न खोपहरू परीक्षण भइरहेको बताएका थिए । सन् १९९८ मा थ्येनचिन मेडिकल यूनिभर्सिटीमा चिकित्साशास्त्र अध्ययन गरेका डा. राई आफ्नो मास्टर्स सकाएर पाँच वर्ष नेपालको वीर अस्पतालमा पनि काम गरेका थिए । त्यसपछि चीन फर्केर सोही यूनिभर्सिटीबाट पिएचडी सकाएर पछिल्लो समय बेइजिङको उक्त अस्पतालमा शल्य चिकित्सकको रूपमा कार्यरत् छन् । बेइजिङमा जुन महिनामा देखिएको कोभिडको दोस्रो लहरपछि उनी पनि फ्रन्टलाइनमा खटेका थिए ।

डा. राईले कोभिडविरूद्ध साइनोभ्याक खोप लगाएका हुन् । यो साइनोभ्याक खोप चाइना नेशनल फर्मास्युटिकल ग्रुप (साइनोफार्म) ले अनुसन्धान तथा उत्पादन गरेको हो । चीनको चच्याङ प्रान्तका केही शहरहरूमा विदेश जाने तथा आवश्यक ठानिएका व्यक्तिहरूलाई गत अक्टुबर महिनामा नै यो खोप दिइएको थियो । स्थानीय सञ्चार माध्यमका अनुसार, उक्त खोप तेस्रो चरणको परीक्षणमै सर्वसाधारणलाई समेत उपलब्ध गराएको हो ।

साइनोफार्मका अध्यक्ष लिऊ चिङचनले नोभेम्बर १८ मा बताए अनुसार, करिब दश लाख मानिसले यो खोप लगाइसकेका छन् र कसैमा कुनै प्रतिकुल असर देखिएको छैन । हाल साइनोभ्याकसँगै कम्तिमा पनि पाँच वटा चिनियाँ खोप तेस्रो चरणको परीक्षणमा छन् । त्यसबाहेक अरू ९ वटा खोपको पनि परीक्षण भइरहेको सम्बन्धित अधिकारीले बताएका छन् ।

हाल महामारीको प्रतिरोध नै सम्पूर्ण मानवजातिको साझा र मुख्य लक्ष्य हो । विश्व स्वास्थ्य संगठन र उनका अरू साझेदारहरूको नेतृत्वमा विश्वव्यापी रूपमा खोपको समान पहुँच सुनिश्चितताका लागि पहल गर्न खोलिएको कोभ्याक्समा अक्टुबर-८ मा चीन सम्मिलित भएको थियो । साथै चिनियाँ नेता तथा अधिकारीहरूले विश्वव्यापी जनताका साथै विशेषत विकासोन्मुख देशहरूकालागि सुरक्षित र प्रभावकारी खोपहरूको उचित र समान पहुँचका लागि प्रवर्द्धन गर्ने वाचा पनि गर्दैआएका छन् ।
 


Author

थप समाचार
x