प्रवास

वैदेशिक रोजगार

इजरायल जाने कामदारको परीक्षा भदौ पहिलो साता

विभागले बुधबारसम्म सूचना जारी गर्ने

अतिन आचार्य |
साउन ८, २०७८ शुक्रबार १२:४४ बजे

काठमाडौँ – वैदेशिक रोजगार विभागले इजरायल जाने कामदारका लागि भदौ पहिलो साता परीक्षा लिने तयारी गरेको छ । इजरायली पक्षसँग कामदार छनौट गर्ने विषय अघि बढिसकेकाले भदौँको पहिलो सातासम्‍म परीक्षा लिने तयारी गरिरहेको विभागले जनाएको छ ।

इजरायली पक्षसँग अन्तिम चरणको वार्ता पनि भइसकेको विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बताए । 'इजरायली प्रतिनिधि र श्रम मन्त्रालयका कर्मचारीबीच बिहीबार अन्तिम वार्ता भएको थियो,' उनले भने ।


इजरायल जान चाहने कामदारको लागि छिटोमा आउँदो सोमबार र ढिलोमा बुधबारसम्म सूचना सार्वजनिक गरिने सुनुवारले इकागजलाई जानकारी दिए । सूचना जारी गरेको २१ दिनपछि परीक्षा लिने मिति सार्वजनिक हुने उनको भनाइ छ ।

उनकाअनुसार सूचनामा काम गर्ने समय, कामदारको योग्यता, तलब र इजरायलको कानुनी व्यवस्था बारेमा जानकारी राखिनेछ । परीक्षा अंग्रेजी भाषामा हुनेछ ।

कोभिड महामारीमा उच्च माध्यमिक शिक्षा परिषद्ले पनि कक्षा १२ को परीक्षा लिने भएकाले परीक्षा केन्द्रको अभाव हुन सक्ने सुनुवारले बताए । आवेदकको संख्या अनुसार परीक्षा केन्द्रको व्यवस्थापन गरिने उनको भनाइ छ ।

'विभागमा एक हजार कामदारको माग आएको छ,' उनले भने,' महिला ७० प्रतिशत र ३० प्रतिशत पुरुषको माग रहेको छ ।

को-को जान पाउँछन् ?

सरकार-सरकार (जीटूजी) मार्फत कामदार इजरायल जान पाउनेछन् । इजरायलमा जाने नेपाली २५ देखि ४५ वर्ष उमेर समूहको हुनुपर्छ । 'प्लस टु' पास गरेर तीन महिनाको 'केयर-गिभर' तालिम लिएकाहरू प्राथमिकतामा पर्नेछन् । 

४.९ फिट र ४५ केजीभन्दा बढी भएका व्यक्ति मात्रै इजरायल जान पाउने छन् । शारीरिक तथा मानसिक रूपमा स्वस्थ, असल चरित्र भएको व्यक्ति मात्र छनोटमा पर्नेछन् । 

योग्यता पुगेका इच्छुक व्यक्तिले अनलाइन आवेदन दिनुपर्नेछ । वैदेशिक रोजगार विभागले सूचना जारी गरी सक्कल कागजातसहित समय तोकेर उपस्थित हुन अनुरोध गर्नेछ ।

विभागले आवेदकको उचाइ र तौल परीक्षण गरी अनलाइनमा प्रविष्ट गर्छ । त्यसपछि मात्रै अंग्रेजी भाषा परीक्षणमा सामेल हुन पाइन्छ । भाषा परीक्षणपछि परीक्षार्थीले प्राप्‍त गरेको अंक अनलाइन प्रोफाइलमा प्रविष्ट हुन्छ । 

छनोट समितिले २५ प्रतिशत बढी उम्मेदवारको नामावली तयार गर्छ । उक्त नामावली इजरायलको पीआईबीएलाई पठाई सोको विवरण विभागको वेबसाइटमा राख्‍नुपर्नेछ । विभागले पठाएको सूचीका आधारमा पीआईबीएले अन्तिम उम्मेदवार छनोट गर्छ ।

अन्तिम छनोटमा परेका उम्मेदवारको करारनामामा हस्ताक्षर गरी इजरायलले विभागमा पठाउने छ । विभागले सम्बन्धित व्यक्तिको हस्ताक्षर गराएर श्रमिकलाई इजरायल पठाउनेछ । न्यूनतम मासिक १५ सय डलर (डेढ लाख नेपाली) पारिश्रमिक पाउनेछन् ।

इजरायल वैदेशिक रोजगारीका गन्तव्य मुलुकमध्ये आकर्षक मानिन्छ । सरकारी तहमा कामदार लैजाने सम्झौता भए पनि इजरायल जान पाएका थिएनन् । तीन वर्ष अघि एक सयको हाराहारीमा कामदार गए पनि थप कामदार जान पाएका छैनन् । 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x