प्रवास

जापानमा एनआरएनए चुनाव : १ लाख नेपालीको बसोबास तर ९ हजार भोटर

संगीता कुँवर |
साउन १५, २०७८ शुक्रबार १०:२५ बजे

जापान- यतिबेला जापानमा प्रचण्ड गर्मी छ । खेलको महामेला ओलम्पिकले तातेको छ जापान तर यहाँका नेपाली समुदाय भने चुनावी गर्मीले तातेको छ । प्रसंग एनआरएन जापानको चुनावको हो । जापानको ओशाकामा आइतबार उद्घघाटन कार्यक्रम सम्पन्‍न भइसकेको एनआरएनए जापानको (2021-2023) नयाँ कार्यसमितिका लागि शुक्रबार चुनाव हुँदैछ । चुनाव भने अनलाइन भोटिङ सिस्टमबाट हुनेछ । जापानमा बस्‍ने ९ हजार ३ सय ९४ जना मतदाताले नयाँ नेतृत्वको लागि भोटिङ गर्नेछन् ।

(2021-2023) कार्यकालको नयाँ कार्यसमितिमा अध्यक्ष पदको लागि चार जना उम्मेद्‌वारले नाम दर्ता गरेका छन् । अध्यक्ष पदको लागि अनिता गुरुङ, सरोजबिक्रम खत्री, नरेन्द्र कुमार बस्नेत (नरेन्द्र), शिवप्रसाद पौडेल र किरण बर्मा चुनावी मैदानमा छन् । त्यसैगरी वरिष्ठ उपाध्यक्ष पदको लागि नविन न्युरे र छत्रबहादुर दाहालको उमेद्धवारी दर्ता भएको छ । ४ जना उपाध्यक्ष पदको लागि ११ जनाको उम्मेद्‌वारी परेको छ ।


त्यस्तै मतदाताले महिला उपाध्यक्ष १, महासचिव १ कोषाध्यक्ष १, युवासंयोजक १ सदस्य ७ र आई सी सी सदस्यका लागि ६ जनालाई जिताउनेछन् ।

जापानी समय अनुसार आज बिहान १० बजेदेखि साँझ ८ बजेसम्म मतदान गर्न पाउने निर्वाचन समितिले जनाएको छ । जापानमा करिब १ लाख नेपाली बसोबास रहेकोमा ९ हजार ३ सय ९४ जना मतदाता मात्रै हुनुले एनआरएनएप्रतिको चासो र नेपालीको सहभागीता कम हुँदै गएको नेपालीहरु बताउँछन् ।

‘नेपालीका लागी नेपाली’ नाराको बोकेको एनआरएनएको पछिल्लो समय पढे लेखेको बौद्धिक वर्ग भन्दा पनि पैसा,शक्ति र पहुँचका आधारमा अभियानमा लाग्ने वर्ग बढेकोले विदेशमा दु:खमा परेका नेपालीको लागि काम कम हुने गरेको नेपालीको गुनासो छ ।


Author

संगीता कुँवर

कुँवर जापानस्थित इकागजकी प्रतिनिधि हुन् ।


थप समाचार
x