प्रवास

वैदेशिक रोजगारीमा जाने युवा खोप कार्ड नपाएपछि अस्पताल हैन मन्त्रालय धाउँदै

अतिन आचार्य |
साउन २६, २०७८ मगलवार १५:३९ बजे

काठमाडौँ- 'खोप लगायौँ, क्यु आर कोडसहितको खोप कार्ड दिन सक्दैनौ भने स्वदेशमै रोजगार देउ' स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिसरमा वैदेशिक रोजगारमा जान भेला भएका युवाहरूको यो आवाज हो । 

कृष्णदेव जैसीको मंगलबार साँझ ५ बजेको उडान छ । खोप लगाएकालाई मात्र विदेश यात्राका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश अनुमति पाउँछन् । तर,  उनले अहिलेसम्म खोप कार्ड पाएका छैनन् । कार्ड नपाउने सुनिश्‍चित भएपछि मन्त्रालयको गेटमा गुहार लगाउन  पुगेका हुन् ।


जैसीले अर्जेन्ट भनेर क्यु आर कोडसहितको खोप कार्ड प्राप्‍त गर्न तीन दिनअघि फारम भरेका थिए । ४८ घण्टा बितिसक्दा पनि खोप कार्ड नपाएको जैसीले गुनासो गरे । हातमा दुई लाख रुपैयाँको टिकट छ । तर, क्यु आर कोड पाउने अवस्था छैन । उनले भने,'क्यु आर कोड नभई विदेश उड्न पाइँदैन । खोप लगाइदिने तर वैदेशिक रोजगारमा जानेलाई कार्डको व्यवस्था नगर्ने कस्तो सरकार हो?'

अनलाइनबाट खोप कार्ड लिन सम्पूर्ण प्रक्रिया पूरा गरेर फारम भरे पनि अहिलेसम्म कार्ड प्राप्‍त गर्न नसकेको जैसी दिक्क छन् । 'खोप लिन कीर्तिपुरस्थति आयुर्वेद अस्पताल जाँदा खोप कार्ड वितरण केन्द्रको ढोकामा ताला लागेको छ ,'उनले भने,'यताउता गर्दा गर्दै विदेश जाने बेला भईसक्यो । तर कार्ड पाएको छैन ।' जैसीले आज क्यु आर कोड नपाएमा विदेश यात्रामा बिराम लाग्‍नेछ । 

मन्त्रालय ढुक्नेमा जैसी मात्र छैनन्, उनी जस्तै समस्या भएका  करिब २० युवा कार्ड पाउने आसमा  कुरिरहेका छन् । कतार र साउदी जाने युवाले पनि क्यु आर कोड नपाएको समस्या छ । तर सरकारले कसैलाई पनि व्यवस्थित हिसाबले कार्ड दिन सकेको छैन ।

सरकारले सिभिल अस्पताल, बानेश्वर,  सशस्त्र प्रहरी अस्पताल, बलम्बू, शुक्रराज अस्पताल, टेकु र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरबाट कार्ड वितरण गर्ने जनाएको थियो । तर प्राविधिक कारण देखाउँदै यी अस्पतालले बेलामा कार्ड उपलब्ध गराउन सकेनन् । यसपछि सरकारलाई दबाब दिन भन्दै वैदिशक रोजगारमा जान लागेका युवा मन्त्रालय पुगेका हुन् ।

समयमा कार्ड उपलब्ध नगराउने कस्तो सरकार हो?

रुकुमका मानबहादुर सार्कीको बुधबार बिहान पौने १० बजे साउदी अरबको उडान छ । उनले उडानको अघिल्लो दिनसम्म खोप कार्ड पाएका छैनन् । क्युआर कोड सहितको कार्ड लिन एक हप्‍ता अगाडि फारम भरेको उनले बताए ।

'समयमा कार्डको व्यवस्था गर्न नसक्ने भए कार्ड लिन किन नियम लागू गरेको हो?" सरकारले सार्कीले प्रश्‍न गरे । उनले अनलाइनबाट फारम भरेका थिए । कन्फर्मेसन नम्बर हातमा बोकी मन्त्रालयको गेटमा उनी पनि बिहानै देखि छन् ।  

क्युआर कोड नपाएमा नेपालबाटै उडन नपाइने सार्कीले बताए । उनी चकलेट फ्याक्ट्रीमा काम गर्न पहिलोपटक साउदी जान लागेका छन् । मानबहादुर विदेश जान एक महिनादेखि काठमाडौँमा बसिरहेका छन् । टिकट खरिद गर्नभन्दा बढी पैसा होटलमा बस्दा खर्च भइसकेको उनले सुनाए । यस हुनमा केही दोष क्यु आर कोडको पनि छ । यदि यो कोड बेलैमा आएको भए उनको होटल बसाइ छोटिन्थ्यो र पैसा बच्थ्यो । त्यस्तै परे उनले साउदी पुगेर कमाउन सुरु गरिसक्थे ।

पूर्णानन्द झाको हातमा खोप कार्ड लिन भरेको कन्फर्मेसनको कार्ड छ । उनले शुक्रबार कार्डका लागि फारम भरेका थिए । केही क्षणमा उनले कार्ड लिन नम्बर पाए तर, कार्ड बन्ने लक्षण देखेनन् ।  

झाको कतार उडान बिहीबारको छ । 'कार्ड बन्ने निश्‍चितता भएको भए मन्त्रालयको गेट सम्म आउनपर्दैन थियो,'उनले भने,'अस्पताललाई समयमा कार्ड बनाउनलाई निर्देशन दिनुपर्थ्यो, तर सरकारको खेलाँचीले कार्ड नबन्दा दुःख पाउनु परेको छ ।'
पूर्णानन्द महामारीअघि युएई बसेर आएका थिए । महामारीमा खोप पाउने निश्‍चित भएपछि कतार जान अघि सरे । 'खोप लगाउन पाएँ तर, लगाएको कार्डको मान्यता पाउन पनि हम्मे-हम्मे भएको छ,' उनले भने,' स्वदेशमा बसुम रोजगार पाइँदैन । विदेश जान खोज्दा समयमा खोप कार्ड पाइएको छैन ।'

इमर्जेन्सी सेवा उपलब्ध गराउँछौ

अनलाइनबाट खोप कार्ड लिनका लागि ११ हजार जनाले फारम भरिसकेको स्वास्थ्य मन्त्रालयअन्तर्गत खोप महाशाखाका प्रमुख डा. झलक शर्माले बताए । 'फारम भरेकालाई आज र भोलिमा सबैले पाउनेछन्,' उनले भने । 
फारम भरेकालाई सकेसम्म चाँडो कार्ड उपलब्ध गराउने शर्माको भनाइ छ । विदेश जाने नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई खोप कार्ड लिन सजिलो होस् भनेर नै अनलाइन गरिएको पनि उनले बताए ।

इमर्जेन्सीका लागि खोप कार्ड चाहिएमा तुरुन्तै दिने व्यवस्था गरेको शर्माले बताए । सर्भरले काम नगर्दा पनि रेकर्डमा समस्या भइरहेको उनले जानकारी दिए । धेरै जनाले खोप कार्ड पाएर वैदेशिक रोजगारमा जान थालिसकेको उनले प्रस्ट पारे ।

कतार र साउदीलाई क्युआर कोडसहितको खोप कार्ड अनिवार्य छैन

विमानस्थलले युएई जाने नेपाली नागरिकका लागि मात्र क्युआर कोडसहितको खोप कार्ड अनिवार्य गरेको नागरिक उड्डयन प्राधिकरण उपप्रबन्धक ज्ञानेन्द्र भुलले बताए । उनका अनुसार युएई सरकारले क्युआर कोड अनिवार्य गरेको छ । चार घण्टाअघिको आरडीटी परीक्षण र ४८ घण्टाअघि गरिएको पीसीआर परीक्षणको नेगेटीभ रिपोर्ट देखाउनुपर्छ ।

कतार र साउदी जाने कामदारलाई अनिवार्य क्युआर कोर्डसहितको परीक्षण नगरेको भुलको भनाइ छ । 'विमानस्थलबाट कतार र साउदी जाने यात्रुलाई अवरोध गरिएको छैन,' उनले भने । स्वास्थ् मन्त्रालयलाई अन्य मुलुकले विदेश प्रवेशका लागि बनाएका नियमसहितको परिपत्र जारी गरिसकेको उनले बताए ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x