प्रवास

खोप लगाएको प्रमाणीकरणमा ढिलाइ

मोहिनले मोबाइल उपहार दिएर भिसा झिकाए, तर कतारको जहाज छुट्यो. . .

अतिन आचार्य |
साउन २७, २०७८ बुधबार १६:१४ बजे

काठमाडौँ- मोहम्दम मोहिनले १५ वर्ष अघि कतार जाँदा कतार दुःख मात्र साथमा लगेनन् । धनुषामा आफूले पाएको जस्तै दुखः नपाउन भनेर उनले जेठा छोरालाई पनि लिएर गएका थिए । उनले पसिना मात्र बगाएका थिएनन् त्यहाँ यौवन उमेर पनि सके ।

उनी एक दशक बढी कतारमा काम गरी फर्केर दुई वर्ष अघि स्वदेश फर्केका थिए । सदाको लागि मरुभूमि र तातो हावालाई छोडेर उनी जनकपुर आए । मरुभूमिको गर्मीले उनलाई छोडयो तर गरीबीले उनलाई छोडन सकेन । बुधबार बिहान दुई वर्ष पछि मोहिनले त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलमा पहिलोपटक पाइला टेके । उनी १५ वर्ष अगाडि जस्तै रोजगारीमा जान आएका होइनन्, जेठो छोरालाई कतार पठाउन बिहानै ७ विमानस्थल पुगेका थिए ।


कतारले कोभिड-१९ को महामारी सुरु भएपछि सहजै प्रवेशको अनुमति दिएको छैन । प्रवेशाज्ञा (भिसा) बाहेक साथमा अनुमति पत्र चाहिन्छ । अझ अहिले त खोप अनिवार्य र खोप नलगाए १० होटल क्वारेन्टाइनमा बस्नुपर्छ । महामारीमा सबैभन्दा बढी प्रभावति वैदेशिक रोजगारबाट आश्रित परिवार बनेका छन् । विदेशबाट छुटिमा आएकाहरू समयमा फर्कन पाएका छैनन् । नयाँ भिसा लगाइसकेका कामदारहरू जान पाएनन् ।

मोहिनको जेठा छोरा मोहम्मद साजिद अन्सारी पनि समयम कतार फर्कन पाएनन् । तीन महिनाको छुट्टिमा आएका उनी महामारीले उडान अवरुद्ध हुँदा समयमा कतार जान पाएनन् ।

घरेलु कामदारका रूपमा जान लागेका उनका मालिकले आजका लागि टीकट पठाए पछि उनी विमानस्थल पुगे । भिसा र टीकट देखाएर विमानस्थलको प्रवेश पाए । तर, केही क्षण पछि हातमा कैलो झोला र टीकट जाँदा जुन बाटो गएका थिए पुनः त्यहीँ बाटो हुँदै बाहिरीए । 

कारण एउटै थियो कतार जानका लागि कोभिडविरुद्ध लगाएको खोपमा क्युआर कोड थिएन । स्वास्थ्य मन्त्रालयका कर्मचारीले विमानस्थल पुगेपछि क्युआर कोड नम्बर आउँछ भने पनि नआएकाले कतार एयरवेजको काउण्टरले प्रवेश गर्न नदिएको साजिद बताउँछन् । 'मालिकले भनेको समयमा टीकट पठायो, सरकारले खोप पनि लगाइदियो तर खोप कार्डमा क्यूआर कोड उपलब्ध गराएन,' उनले भने ।

साजिद २५ सय रियालमा दुवैतर्फको टीकट किनेर नेपाल आएका थिए । खोप लगाएको प्रमाणीकरण सहितको क्युआर कोड आएपछि मात्र उनी कतार जानेछन् । टीकटको समय मिलाउन उनले अब आठ हजार तिर्नेछन् । क्युआर कोड नआएसम्म उनी कतार जान पाउने छैनन् ।

१२ वर्ष अगाडि साजिद कसरी कतार पुगे । त्यहाँ के गर्छन र मासिक तलब कति पाउँछन्? यो सबै जान्‍ने उत्सुकताले विमानस्थल परिसरमा यो पङक्तिकारले उनलाई पछयाइरहयो ।

साजिदको पिता मोहिन कतारको अल्खोरमा एक दशक अघि एक लाख तिरेर कतारीको घरमा तरकारीबाली लगाउने काममा खटिए । उनले बारीमा तरकारीको मात्र हेरचाह गरेनन समय-समयमा घरवरिपरि भेडा र बाख्रा पनि चराउने काम गर्थे ।

तरकारीबाली र भेडाको हेरचाह गरेबापत उनले मासिक सात सय रुपैयाँ पाउने गरेको सुनाए । कतारको गर्मी छल्न समय-समयमा उनी जनकपुर आउने गर्थे । जनकपुरको गर्मी बढेसँगै उनको परिवारमा गरीबीको ग्राफ पनि उकालो लाग्दै गइरहेको थियो ।  उनी १५ वर्षमा चार पटक मात्र परिवारसँग भेटन आएका थिए ।

मोहिनलाई कतारको गर्मीले ठग्यो तर मरुभूमीको तातो हावाले पैसा र जीवन पनि  दियो । कतार मजबुत हुँदै गए तर आफ्नै जन्मदिने पिताले ठगेकोमा उनी कमजोर बने । अभिभावकले अंशबण्डा गरी १० कठ्ठा जग्गा आफ्ना भागमा पारेको गुनासो उनको गुनासो छ । ' परिवारमा अन्य सदस्य जस्तै म पनि एक सदस्य  थिए । आखिर मैले के कारणले बराबर अंश पाइन,' उनले भने ।

अंशमा परेको जग्गामा राम्रो उब्जनी नभएपछि मोहिनले जेठा छोरालाई कतार बोलाउने निर्णय गरे । उनी काम गर्ने घरमा विभिन्‍न कम्पनीका मानिसहरू सामान सप्लाइ गर्न आइरहन्थे । बाख्रालाई दाना ल्याइदिने मिश्री नागरिकलाई एकदिन उनले भने,' मेरो छोरालाई कतार झिकाउनु छ । भिसा निकालीदेउ । भिसाबापत लागेको रकम तिर्छु ।'

मोहिनको प्रस्तावलाई मिश्रीले एकै पटकमा सहजै नस्वीकारेको सुनाए । उनलाई घरमा काम गर्नेको भिसा निकाल्न १५ सय रियाल लाग्ने मिश्रीले जानकारी दिए । मोहिनलाई छोरालाई जसरी कतार झिकाउनु थियो । उनले पैसा तिर्न नसक्ने तर मोबाइल किनेर दिने सोच बनाए ।

मोहम्मदले अन्ततः छोरालाई झिकाउन सात सय रियालको सामसुङ मोबाइल दिएर फकाउन सफल भए । भिसा निकालेको २ महिनामा उनी जस्तै घरमा काम गर्न कतारीको घरमा पुगे । ८ सय बेसिक तलबमा उनले छोरालाई झिकाए । ' कतारमा अहिले साजिदले  तरकारी हेरेबापत मासिक १५ तलब पाउँछन्,' उनले भने ।

१२ वर्ष कतार बसेको छोरालाई विमानस्थलमा अवरोध नभएको सरकारले समयमा क्युआर कोड उपलब्ध नगराउँदा उडन नपाएकोमा उनले सरकारप्रति आक्रोश पोखे ।  

बुबाको कुरा सुन्दै छेउमा बसेक साजिदले भने,' समयमा नगएमा मालिकले तलब काटिदिन्छ । नेपालमा रोजगार पाउन सकिदैन । ' गरीबीले उनलाई तराईको गर्मी भन्दा कतारको गर्मी सहन बाध्य बनाएको छ ।

मोहिनले जेठा छोरालाई मात्र कतार पठाएनन् । नेपाल फर्केपछि उनले कान्छा छोरालाई पनि विदेश पठाएका थिए । एजेन्ट मार्फत एक लाख रुपैयाँ तिरेर विदेश पठाएका थिए । उनको कान्छा छोरा  कोभिड महामारी सुरु हुनुभन्दा केही समय अघि मात्र  स्वदेश फर्केको थियो । 'जेठा छोरा विदेश पठाए पनि सहाराको लागि कान्छालाई घरमा राखेको छु,' उनले भने । 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x