प्रवास

कार्यक्रममा १ मिनेट ढिला पुगेपछि जापानी प्रधानमन्त्री सुगाले मागे माफी

संगीता कुँवर |
साउन २८, २०७८ बिहीबार ७:३ बजे

जापान- जापानका प्रधानमन्त्री योशिहिदे सुगाले नागासाकी शान्ती समारोह कार्यक्रममा १ मिनेट ढिला पुगेकोमा माफी मागेका छन् । नागासाकी शहरमा अमेरिकाले बम खसालेकाहरूको सम्‍झनामा आयोजना गरिएको थियो । मृत्यु भएका र हराइरहेकाहरूको सम्‍झनामा गरिने ‘नागासाकी शान्ती स्मरण’समारोह नाम दिइएको ७६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनी एक मिनेट ढिला पुगेपछि माफी मागेका हुन् ।

मंगलबार प्रधानमन्त्री कार्यालयमा पत्रकारमार्फत माफी मागेका हुन् । ढिला हुनुको कारण भने कार्यालयका कर्मचारीको समय व्यवस्थापनको त्रुटि भएको बताएका छन् । नागासाकीको कार्यक्रम सोमबार १०:४५ मा सुरु हुने तय भएपनि प्रधानमन्त्री सुगा १०:४६ मा आशन ग्रहण गर्न पुगेको जापानी सञ्‍चार माध्यमले जनाएका छन् । नागासाकी शहरका मेयर र स्थानीय प्रतिनिधि कार्यक्रम सुरु हुनुअघि प्रधानमन्त्रीको स्वागतमा बाहिर बसेपनि सुगा नआएपछि हतारहतारमा समारोहस्थलमा फर्केको समाचारमा उल्लेख छ । जापानमा हरेक काम तोकिएको समयमा सुरु गर्न, पुग्‍न नसकेको खण्डमा सानोदेखि ठुलो पदका मान्छेले पनि ढिला हुनुको कारणसहित माफी माग्‍ने चलन छ । 



Author

संगीता कुँवर

कुँवर जापानस्थित इकागजकी प्रतिनिधि हुन् ।


थप समाचार
x