प्रवास

चीनमा नेपाली

२७ वर्षदेखि ल्हासामा रेस्टुराँ चलाइरहेकी नीमा दिदी

अजय अलौकिक |
असोज २, २०७८ १३:४७ बजे

विगत २७ वर्षदेखि ल्हासामा रेस्टुराँ व्यवसायमा व्यस्त छिन्, काठमाडौँकी ५७ वर्षीय नीमा तुलाधर । उनीसँग आफ्नो जीवन सङ्घर्षको कथामात्रै छैन, तिब्बत र ल्हासाको समृद्धिको साक्षी पनि बनेकी छिन् ।

सन् १९८१ मा पहिलो पटक ल्हासा आएकी उनी सन् १९८५ मा अन्तिम पटक भन्दै तीन दिन लगाएर ल्हासा पुगेकी थिइन् । तर विधाताको खेल भनूँ या भाग्यले उनलाई उतै डोर्यायो र सन् १९९७ देखि ल्हासालाई नै आफ्नो कर्मथलो बनाएर बसेकी छिन् । 


उनीसँग पुरानो ल्हासाको कुरा गर्दा कथाजस्तै लाग्छ र अहिलेको ल्हासा देख्दा एउटा परी र राजकुमारको चमत्कारले भरिपूर्ण कथाजस्तो । उनी आफै पनि तिब्बतसाथै चीनको प्रगति देखेर दंग छिन् । उनै नीमा तुलाधरसँग मेरो हालसालै भेट भएको हो ।

यस वर्ष सन् २०२१ तिब्बत शान्तिपूर्ण मुक्त भएको सत्तरीऔँ वर्ष पुगेको छ । यसै सत्तरीऔँ वार्षिकोत्सवको अवसरमा मलाई मेरो कार्यालय (चाइना मिडिया ग्रुप) ले सर्वप्रथम ल्हासाको भ्रमण गराउने योजना सुनायो । भ्रमण क्रममा तिब्बतको आर्थिक विकास, तिब्बती जनताको समृद्धि, समाज, संस्कृति, गरिबी निवारणका विषयहरू पर्ने नै भए । यसबाहेक तिब्बतमा रहेका केही नेपालीसँग डकुमेन्ट्री बनाउने पनि भनियो र सो मागअनुसार मैले ल्हासास्थित नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराएँ । 

महावाणिज्य दूत नवराज ढकालले प्राचीन समयदेखिको सम्बन्ध कोट्याउँदै पुस्तौँदेखि नै घरबार गरी बसेका नेपालीहरू रहेको बताए । अवश्य, प्रागैतिहासिक कालदेखि नै नेपाल र भोट (तिब्बत) बीच सम्बन्ध रहँदैआएको छ । छैटौँ शताब्दीमा तिब्बती राजा स्रङचन गम्पो र नेपाली राजकुमारी भृकुटीबीच विवाह अघि नै सम्बन्ध रहेको इतिहासमै उल्लेख छ । 

यसै गरी नेपाली कलाकार अरनिकोबाहेक विभिन्‍न समयमा नेपाली कलाकारहरू, बौद्ध भिक्षुहरू तिब्बत र चीन पुगेका थिए र सँगसँगै व्यापारीहरूको ओहोरदोहोर अझै बाक्लिएको थियो । पछिल्लो पचास सय वर्षसम्म पनि नेपाली व्यापारीहरूको आवतजावतले तीव्रता पाएको थियो । 

यो सँगसँगै तिब्बतीहरूसँग घरजम गर्ने चलन पनि बसेको थियो । यद्यपि कतिपय नेपालीहरू परिवारसहित नेपाल फर्के भने कतिपय तिब्बतमै बसे । यसबाट तिब्बतमा नेपालीहरूको बसोबास रहेको घामजस्तै छर्लङै छ । तर पछिल्ला पुस्ताहरू प्रायशः तिब्बत तथा ल्हासाबाहिर रहेको महावाणिज्यदूतले सुनाए । यसबाहेक साठी, सत्तरी वर्ष उमेरका नेपालीहरूसँग महावाणिज्यदूतावासको सम्पर्क रहेको पनि सुनाए । पुस्तौँदेखि रहँदैआएका नेपालीको खोजिनीति गर्न सके इतिहासबारे धेरै सत्य तथ्य थाहा पाइन्थ्यो । मेरो दुर्भाग्य ! मैले ती जिउँदा इतिहासहरूलाई भेट्न पाइन । 

भ्रमण तालिकाबाट व्यक्तिगत समय निकाल्नसक्ने सम्भावना थिएन नै, अवस्था पनि बनेन । महावाणिज्य दूतावासका कन्सुलर जिमसन रूम्डाली राईले त्यहाँ रहेका नेपालीहरूसँग सम्पर्क गरी डकुमेन्ट्रीका लागि स्वीकार गरेका केही नेपालीको नाम मलाई मेरो वीच्याटमा पठाइदिएका थिए । यता अफिसले गरेको खोजिनीतिमा नेपाली रेस्टुराँ परेको रहेछ, ल्हासास्थित प्रसिद्ध नेपाली कैलाश रेस्टुराँ । कन्सुलर राईबाट प्राप्त नाममा एउटा नाम त्यो पनि थियो । त्यसपछि मैले उल्लेखित रेस्टुराँसँगै नाम तल रहेको नम्बरमा डायल गरेँ । मैले आफ्नो परिचय दिएँ । पहिले नै जानकारी पाइसकेकोले कुराकानी सहज नै भयो । र मेरो त्यो पहिलो फोनवार्ता थियो, उनै नीमा तुलाधरसँग । 

उनले सन् १९९७ देखि ल्हासामा रेस्टुराँ व्यवसाय गर्दैआएकी रहिछन् । छोरी काठमाडौँमै घरजम गरी बसेकी र छोरा भने ल्हासामै व्यवसाय गर्दैआएको पनि बताइन् । त्यसबाहेक अरू आफन्तजन् दिदीबहिनी प्रायशः अमेरिका र नेपालमा रहेको बताउँदै आफूलाई पछिल्लो समय यतै राम्रो लागेको पनि सुनाइन् । 

त्यो पहिलो फोनवार्ता नै उनको निष्कपट उत्तरले सहज लागेको थियो । पहिले काठमाडौँको नरसिँह चोकमा याक नामको रेस्टुराँ सञ्चालन गर्दैआएकी उनलाई विदेशी पर्यटकहरूको तिब्बत आगमन बढ्दै गएपछि आफ्नो घरजग्गा पनि रहेकोले रेस्टुराँ खोल्ने हुटहुटी जाग्यो, अरे । त्यसपछि, सन् १९९७ देखि ल्हासालाई आफ्नो कर्मथलो बनाएको पनि सो फोनवार्तामा थाहा पाएँ । 

पृथ्वीले आफ्नो निरन्तर कर्म गर्दै थियो, अनि यता हाम्रो (सीएमजी टोली) ल्हासा जाने दिन पनि आयो । फेरि एक पटक उनलाई अब उतै भेट्ने हामी आउँदै छौँ भनी फोन गरेँ । अनि यस पटक मैले नेपाली चिउराबारे सोधेँ, छोयला निकै मनपर्ने नी सुनाए ।

उनको पनि हामी सबैको जस्तै एउटै गुनासो थियो, कोरोना महामारी । हो, उनले कोरोनाको कारण बोर्डर बन्दजस्तै भएकोले नेपाली सरसामान, मसलासम्मको अभाव भएको बताइन् । परेन फसाद ! यता इण्डियन स्टोरबाट पातलो चिउरा जुन नेपाली चिउराजस्तो पटक्कै हुन्‍न, त्यो किन्‍ने गरेको र ल्हासाबाट नेपाली चिउरा ल्याउने योजना रहेको सुनाएँ । यतिभन्दै ल्हासामा छिटै भेट गर्ने भनी छोटो फोनवार्ता टुङ्ग्याएँ । 

सेन्ट मेरिज स्कुलमा पढेकी उनलाई सन् १९८१ मा पहिलोपल्ट हिउँदे बिदामा ल्हासा आएको केही धमिलो सम्झना छ । काठमाडौँ भुरूङखेलमा बस्ने उनलाई ल्हासाको कच्ची सडकमा केही साइकल मात्र देखिएको सम्झना पनि अझै छ । त्यसपछि, सन् १९८५ मा ट्रकको पछाडि बसेर ल्हासा आएको उनलाई अझै पनि याद आउँछ । 

‘पचासी सालमा तीन दिन लगाएर ट्रकको पछाडि बसेर ल्हासा आएका थियौँ । त्यो बेला यता आएर पितापुर्खाको सम्पत्ति हेर्ने भनिएको थियो । हामी सपरिवार नै आएका थियौँ ।’ उनले थपिन्, ‘त्यस बेला ल्हासाको दाँजोमा काठमाडौँ धेरै विकसित थियो । काठमाडौँको सडकमा गाडी गुड्ने गर्थ्यो, कतै जान ट्याक्सीको सुविधा थियो । यता आउँदा त यो गाउँजस्तो थियो । राम्रो बाटो पनि थिएन । गाउँ नै थियो ।’ 

पुराना दिन सम्झिँदै पर्र बोल्न थालिन्, ‘त्यो बेला पोताला दरबार तल सानो नदी पनि बग्थ्यो, कतै जानु परे साइकलमा जानु पर्थ्यो । काठमाडौँमा सबै सुख सुविधा थियो । यता केही पाइँदैन थियो । त्यो बेला अन्तिम पटक भनेर आएको म अहिले यतै बसिरहेको छु ।’ हाँस्दै भनिन्, ‘अहिले २६÷२७ वर्ष भयो, ल्हासालाई कर्मथलो बनाएर बसेकी छु । उनले यसरी हाम्रो भेटमा एकै सासमा आफ्नो कथा सुनाइन् ।’

उनी सन् १९९५ देखि ल्हासामा व्यवसाय गर्दैआएकी छिन् । अहिले १२ वर्ष पुरानो कैलाश रेस्ट्रो नामको एउटा शाखासहित र अर्को एउटा गरी तीनवटा नेपाली रेस्टुराँहरू चलाउँदै छिन् । कुनै बेला काठमाडौँको ठमेल नरसिँह चोक मार्गमा रेस्टुराँ चलाएको अनुभवले अहिले ल्हासामा सफल व्यवसायी बनेकी छिन् । विभिन्‍न नाममा केही रेस्टुराँ चलाएपछि अहिले कैलाश रेस्ट्रोले ख्याती कमाएको पनि बताइन् । 

उनी तिब्बतमा नब्बेको दशकपछि पश्चिमा टुरिस्टहरू आउनथालेपछि पश्चिमी शैलीको रेस्टुराँ खोल्ने उद्देश्यले ल्हासा पुगेकी थिइन् । उनीसँग रेस्टुराँ खोल्दाको कथा सुन्दा पनि रोचक लाग्छ । झण्डै तीस वर्षमा कति फड्को मारेको हो, तिब्बतले । हुन त तीस वर्ष धेरै लामो समय हो, तर नेपाललाई हेर्ने हो भने तीस वर्ष यसै बितेको अनुभूत हुन्छ । रेस्टुराँ सुचारू राख्‍नलाई गरेको उनको प्रयासले पनि तिब्बतको समृद्धिको कथा बुझ्‍न पाइन्छ ।

रेस्टुराँ खोल्दा हरिया सागसब्जीकालागि नर्सरी खोलेकी थिइन्, यसै गरी पश्चिमाहरूका लागि चिज अपरिहार्य भएकोले डेरी नै खोलेकी थिइन् । यसबाहेक कुकदेखि हेल्पर सबै नेपालबाटै लगिएको थियो । हाल भने धेरै स्थानीयले रोजगार पाएका छन् । हाल एउटै रेस्टुराँमा १५ बढी स्टाफहरू छन् । रेस्टुराँलाई चलाइराख्‍न नेपालबाट सामान झिकाउनेदेखि स्थानीय रूपमा उत्पादन थालनी गर्दा धेरै दुःख पाएको उनले सम्झिन् । अहिले केही नेपाली मसलाबाहेक सबै स्थानीय बजारमा सहज रूपमा उपलब्ध भएको बताइन् । 

‘ओहो अजय भाइ, रेस्टुराँ चलाउनका लागि कम्ती कसरत गरिनँ, केही अन्‍न अनाजबाहेक केही हुन्‍न थियो । नेपालबाटै ल्याउनुपर्थ्यो । सामान के कति छ, के को माँग छ, कुनै गाडी आउँदैछ या गाडी नै झिकाउनुपर्ने कि, धेरै गाह्रो थियो । सागसब्जी पाइँदैनथ्यो । ल अहिले हेर्नुस् त, सबै पाइन्छ । हामीले पहिले नर्सरी खोल्यौँ, डेरी खोल्यौँ, रेस्टुराँ खोल्नकालागि धेरै काम गर्यौँ । यो अहिले तिब्बतको प्रगति होइन त ।’ 

तिब्बतको प्रगति देखेर दंग उनी नेपालको स्थिति देखेर खिस्रिक्क पर्दै भनिन्, ‘पहिले काठमाडौँ ठूलो सहर थियो, खोइ, नेताहरूको हानथाप मात्र भएर अहिले देश अगाडि बढ्न सकेन । नेता राम्रो चाहिने रैछ, अजय भाइ ।’ 

‘काठमाडौँ त अब ल्हासा सहरअघि सानो भएको छ । यता अहिले नपाइने केही छैन होला । बाटोघाटो, बिजुली, खानेपानी सबैको सुविधा छ । अहिले त हिउँदमा समेत चल्ने रेल पनि छ ।’ 

चीन बसाइको एक दशकपछि मैले दुई-तीन पटकको फोनवार्ता र दोस्रो भेटमा पाएको हुँ, तता अर्थात् दिदी । हुन त अहिलेको सामाजिक सञ्जालको भर्चुअल दुनियाँमा शुभचिन्तक धेरै भेटिन्छन्, फेसबुकमै भेट गरेर जीवनसाथी भएका रोमाञ्चक कथाहरू र फेसबुके साथीका कारण सर्वस्व गुमाएका व्यथा पनि बारम्बार सुन्‍न पाइन्छ । आज मेरी दिदीको कथा सँगसँगै तिब्बतको विकास पनि सुनाउन चाहन्छु । पढ्नेलाई नूनचिया एक कप ।

उनले कुरैमा रेलको प्रसङ्गमा तिब्बतीहरूको पहिलेको धारणा पनि सुनाइन् । ‘मैले मेरा स्टाफहरूलाई रेल आएपछि रेलमा घुमाउन लैजाने बाचा गरेको थिएँ । तर त्यो बेला यताका प्राय मानिसहरू हिउँदमा रेल चढ्न हुँदैन भन्थे । किनभने यता हिउँदमा ठाउँठाउँमा बरफले बाटो, सडक भुँइनै चर्केर माथि उठेको देखिन्छ । रेलको पटरीको भाग पनि त्यस्तै हुन्छ, रेल पल्टिन्छ रे भनी डराउँथे । मैले मेरा स्टाफहरूलाई सम्झाएँ । अर्बौँ खर्च गरी निर्माण गरेको योजनामा सरकारले यस्तो नसोच्ला त ।’ 

‘अब अहिले यो रेलको कारण ल्हासा सबै चिनियाँ सहरसँग जोडिएको छ । चीनभरिको सरसामान जस्तै अहिले सिफुडदेखि हरिया सागसब्जी यहाँ हरेक दैनिक आइपुग्छ ।’ सन् २००६ मा छिङहाई तिब्बत रेलमार्ग सञ्चालनमा आएको हो । हालै ल्हासादेखि लिङ्चीसम्म हाईस्पीड रेल पनि सञ्चालन भएको छ ।

तिब्बतले बाटोघाटो, रेलमार्गमा अविश्वसनीय रूपमा तरक्की गरेको छ । हाल सात सय किलोमिटरको हाइवेसहित एक लाख बीस हजार किलोमिटरको सडक छ । यसै गरी ल्हासाको चिनियाँ सहर र विश्वका गरी ६६ वटा सहरबीच हवाई सम्पर्क स्थापना छ । अहिले सहरबजारमा सार्वजनिक शौचालय, सेयर्ड बाइक, ५ जी इन्टरनेटको सुविधा उपलब्ध छ । बेइजिङ, साङहाईलगायतका सहर बराबर देखिन्छ ।

उनै नीमा तुलाधरसँग मेरो पहिलो भेट उनकै कैलाश रेस्ट्रोको वाण्डा शाखा रेस्टुराँमा भएको थियो । चिनियाँ, जापानी तथा फिलिपिनो साथीहरूलाई नेपाली खाना चखाउन लिएर गएको थिएँ । तर, त्यहाँ उनी थिइनन् । हामीले नेपाली सेट महाराजालगायत मःम मगायौँ । साथीहरूले नेपाली मासुभात स्वादले खाए । मःम पनि चिनियाँ च्याओचजस्तै देखिए तापनि स्वाद अर्कै रहेको ठम्याए । 

यसैबीच हामीले काउन्टरमा एकजना नेपाली अनुहारको महिला देख्यौँ । फोन र वीच्याटमार्फत् सम्पर्क भए तापनि मैले चिनेको थिइन । उक्त महिला भने सरासर हामीकहाँ नै आइन् र भनिन्, ‘अजयज्यू नमस्ते, स्वागत छ ।’ उनले वीच्याटको मेरो फोटोले चिनेकी थिइन् अनि उनी अर्को रेस्टुराँबाट सिसिटिभीमा नयाँ मानिसहरूको ग्रुप देखेर यता आएकी रहिछन् ।

उनीसँग मेरो यो पहिलो प्रत्यक्ष भेट थियो । ल्हासा आएदेखिको व्यस्तताबारे केही चर्चा गर्दै डकुमेन्ट्रीकोलागि दिनभरसँगै बिताउने सम्बन्धमा कुरा गरेँ । उनीसँगको त्यो भेटमा, मलाई उनी मेरै दिदीजस्तो अनुभूत भयो । खासमा पराइ भूमिमा आफ्नो देशको जो कोही भेटिँदा आफन्तझैँ लाग्छ नै । त्यसमाथि सरल, मृदुभाषी, स्पष्टवक्ता, ऊर्जस्वी र उल्लसित उनको व्यवहार देखेर म पुलकित भएँ । 

डकुमेन्ट्री खिच्‍ने दिन बिहान उनको निवासस्थानअघि मेरो यस्तो दृश्य कैद गरिएको थियो । ‘ल्हासामा मेरी एक तता बस्नुहुन्छ, अहिले म भेट्नजाँदै छु ।’ यसपछि दिनभर दिदीसँग बसेर उनको मेहनतको कथा, तिब्बतको समृद्धिको कथा सुने ।

अँ, त्यो महाराजा अनि महारानी नेपाली खाना सेटमा महारानी शाकाहारी भएको पनि उनले बताएकी थिइन् । उनले डिजाइन गरेका यी दुई सेटमा प्रोटिन, भाइटामिन, क्यालोरीको मात्रा मिलाएर नेपाली दालभात, तरकारी, अचारको सेट बनाएको बताएकी थिइन् । जुन मेरा चिनियाँ तथा विदेशी साथीहरूले निकै मीठो मानी खाएका थिए । पछिल्लो समय तिब्बतको पर्यटनमा मेनल्याण्ड टुरिस्टहरूको सङ्ख्या पनि ह्वात्तै बढेको छ । 

तिब्बत स्वायत्त प्रदेशीय पर्यटन व्यूरोका अनुसार, यस वर्षको ६ महिनामा तिब्बत भ्रमण गर्ने पर्यटकको संख्या १ करोड ७६ लाख पुगेको छ । यसै गरी सन् २०२० मा ३ करोड ५० लाख पर्यटकले तिब्बतको भ्रमण गरेका थिए । साङहाई, थ्येनचिनदेखि दक्षिण चीनबाट मेनल्याण्ड टुरिस्टहरू एप्सबाट खोजीखोजी उक्त रेस्टुराँ आउने गरेका छन् । विभिन्‍न एप्समा कस्टमरको रेटिङ्स हेरेर नेपाली खाना खोज्दै आउँछन्, रे ।

डकुमेन्ट्री सुटिङको दिनमा लञ्चको समय भएलगत्तै एकाएक टेबुलहरू भरेका थिए । अनि मेरो लञ्चमा नेपाली महाराजासेटसँगै छोयला पनि थियो । यो एउटा ‘सरप्राइज’ नै थियो, मलाई । मलाई काठमाडौँमा रहेकी मेरी अनिता तताको झझल्को नै दिलायो । घरबाट सँगै रेस्टुराँ आएपछि तताले मेरोलागि स्पेशल डिस अर्थात् छोयला बनाएकी रहिछन् । यसबाहेक, रेस्टुराँ पुगेलगत्तै त्यहाँका स्टाफले तात्तातो रसिलो काठमाडौँ बिर्साइदिने मःम ल्याएदिएका थिए । 

यसै गरी डिनरमा पनि चिनियाँ टुरिस्ट तथा स्थानीय ग्राहकबाट भरिभराउ थियो, तताको रेस्टुराँ । अनि राती नेपाली तथा स्थानीय स्टाफ सँगसँगै हामी दिदीभाइले पनि सँगै खाना खायौँ र हिँड्ने बेलामा मलाई एक पोको चिउरा पनि हातमा राखी दिइन् । यसरी परदेशमा भेटिएकी दिदीसँग मैले अविस्मरणीय दिन उनको कथा सुनी र दिनचर्या हेरी बिताएँ । 

हालै (सन् २०१९) ग्रीन कार्ड (सन् २०१७ मा चीनले पहिलो पल्ट तिब्बत स्वायत्त प्रदेशमा विभिन्‍न पेशामा आबद्ध रहेका ११८ जना नेपालीलाई ग्रीन कार्ड दिएको थियो, यो कार्डको अवधि दस वर्षको हुने गर्छ) पाएकी दिदीले आफ्नो आँखा अगाडि नै तिब्बतीहरूको रहनसहनमा आएको परिवर्तन लोभलाग्दो भएको बताइन् । ‘चिनियाँ कम्युनिस्ट पार्टी, चीन सरकार तथा स्थानीय सरकारको प्रयासमा तिब्बतले यति छोटो समयमा धेरै ठूलो फड्को मारेको छ । तिब्बत र तिब्बतीको समृद्धि नेपालको लागि सिक्ने मौका हो । नेपालको पनि यस्तै प्रगति भएको हेर्न चाहन्छु ।’

सन् २०१९ को अन्तसम्ममा तिब्बतका ६ लाख बढी गरिब जनता तथा ६४ वटा गरिब काउन्टीहरू गरिबीमुक्त भएका थिए । तिब्बतको कूल ग्राहस्थ उत्पादन सन् १९५९ को १७ करोड ४० लाख चिनियाँ यूआनबाट सन् २०२० मा १ खर्ब ९० अर्ब २७ करोड ४० लाख पुगेको छ ।



Author

थप समाचार