प्रवास

एनआरएनएको अध्यक्षमा उम्मेदवारी दिने थापाको घोषणा

इकागज |
असोज ७, २०७८ बिहीबार २१:४३ बजे

काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष रविना थापाले आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । काठमाडौंमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी उनले महिला सक्षम छन् भनेर देखाउन र संस्थागत सुधारका लागि आफूले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेको बताइन् । 

‘हरेक ठाउँमा महिला नेतृत्वमा आउनुपर्छ, तब मात्रै वास्तविक परिवर्तन हुन्छ,’ थापाले भनिन्, ‘नेतृत्व पुगेको खण्डमा वैदेशिक रोजगारीलाई मर्यादित र व्यवथित गरी महिला र घरेलु कामदारका मुद्दालाई जोडतोडका साथ अघि बढाउँछु ।’ उनले नेतृत्व लिएर संस्थागत सुदृढीकरण गर्दै एनआरएनएको गतिविधिलाई प्रभावकारी बनाउन आफूले भूमिका निर्वाह गर्ने पनि बताइन् । 


समारोहमा जयप्रकाश गुरुङले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दै एनआरएनएको संस्थागत विकास नै आजको आवश्यकता भएको औंल्याए । यसअघि कूल आचार्यले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् । एनआरएनएका वर्तमान पदाधिकारीले विधानविपरीत प्रतिनिधि छनोट गरेको भन्दै असन्तुष्ट पक्षले परराष्ट्र मन्त्रालयमा उजुरी दर्ता गरेपछि आउँदो १० औं महाधिवेशन अनिश्चित बनेको छ ।  

एनआरएनएका मानार्थ सदस्य नवराज ओली, एनआरएनए अमेरिकाका सल्लाहकार वेदप्रसाद खरेल र एनआरएनएका पूर्वसचिव जानकी गुरुङ लगायतले यसरी उजुरी दर्ता गराएका थिए । केही दिनअघि उनीहरूले संघको निर्वाचन प्रक्रियाको प्रारम्भदेखि नै न्यायिक सिद्धान्त र विधानविपरीत प्रतिनिधि छनोट गरिएको जिकिर गर्दै कानूनविपरीत गरिएका गतिविधि सच्याउन माग गरेका थिए ।

उनीहरूको उजुरीका आधारमा मन्त्रालयले एक छानविन समितिसमेत बनाएर छानविन प्रक्रिया पूरा नभएसम्मका लागि निर्वाचन प्रक्रिया स्थगन गर्न निर्देशन दिइसकेको छ । संघको आगामी २३-२५ अक्टोबरमा महाधिवेशन गर्ने मिति तय भए पनि उक्त विवादका कारण हाललाई अनिश्चित बनेको हो ।


Author

थप समाचार
x