प्रवास

कांग्रेस-माओवादीको सर्कुलरपछि एनआरएनए निर्वाचनमा फेरियो समीकरण

केसी छाडेर श्रेष्ठ र दाहाल आचार्यको प्यानलमा

इकागज |
असोज १९, २०७८ मगलवार १०:९ बजे

काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन नजिकिँदै जाँदा समीकरण फेरबेदल हुन थालेको छ । अध्यक्षका प्रत्यासी बद्री केसीको प्‍यानलमा रहेका दुई प्रभावशाली उम्मेद्‌वारहरूले उम्मेदवारी घोषणा हुनुभन्दा ठीक एक दिनअघि केसीको साथ छाडेका छन् ।

केसीको प्‍यानलबाट उपाध्यक्षको उम्मेद्‌वार तय गरिएका महेश श्रेष्ठ (जापान) र लोक दाहाल (बेल्जियम)ले केसीको साथ छाडेका छन् । उनीहरू दुवै जनाले अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यको प्‍यानलबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । श्रेष्ठ वर्तमान आइसीसी कार्य समितिका कोषाध्यक्ष हुन् भने दाहाल सहकोषाध्यक्ष हुन् । केसीले पाँच दिनअघि सार्वजनिक गरेको आफू पक्षीय उम्मेद्‌वारहरूको सूचीमा श्रेष्ठ र दाहालको नाम र तस्बिर समावेश गरेका थिए । श्रेष्ठले आइसीसी उपाध्यक्षमा र दाहालले कोषाध्यक्षमा उम्मेदवारी दिने छन् ।


नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आफू निकट एनआरएनए उम्मेदवारहरुलाई जिताउन सर्कुलर जारी गरेपछि उनीहरूले प्यानल परिवर्तन गरेका हुन् । दाहाल नेकपा माओवादी केन्द्र निकट छन् भने श्रेष्ठ कांग्रेस निकट हुन् ।

संघको आगामी कार्यकालका लागि अध्यक्ष पदमा सल्लाहकार तथा पूर्व उपाध्यक्ष कुल आचार्यले उम्मेदवारी घोषणा गरिसकेका छन् भने वर्तमान उपाध्यक्ष बद्रि केसीले मंगलबार साँझ उम्मेदवारी घोषणा गर्नेछन् ।

आइतबार साँझ आयोजित डबली संवाद(भर्चुअल कार्यक्रम)मा सहभागी हुँदै दाहालले आचार्यले अघि सारेका एजेण्डा तथा आचार्यले व्यक्त गरेका प्रतिबद्धतामा आफ्नो समर्थन रहेको बताए । नेपालको धादिङ घर भई हाल बेल्जियममा बसोबास गर्ने दाहाल एनआरएनएका पुराना अभियन्ताका रुपमा परिचित छन् । 'कुलजीले अघि सारेका एजेण्डामा मेरो सहमति छ, त्यसैले उहाँसँगै जाने निर्णयमा पुगेको छु', दाहालले भने । उनी बेल्जियमबाट अहिले काठमाडौँ आइपुगेका छन् ।

त्यस्तै, उपाध्यक्षमा उम्मेदवारी दिने तय गरेका श्रेष्ठले पनि आचार्यका प्रतिबद्धता र एजेण्डालाई समर्थन गर्दै आचार्यकै प्‍यानलबाट निर्वाचनमा सहभागी हुने बताएका छन् । हाल जापानमा रहेका श्रेष्ठले अध्यक्षका अर्का उम्मेद्‌वार केसीले आफ्नो नाम पनि उम्मेद्‌वारहरूको सूचीमा राखेको प्रति असहमति जनाए । 'म केसीको प्‍यानलमा छैन, मेरो समर्थन कुल आचार्यलाई छ', श्रेष्ठले भनेका छन् । आचार्यको प्‍यानलबाट महासचिवमा डा. केशव पौडेल (अमेरिका) र महिला उपाध्यक्षमा जानकी गुरुङ्ग (बेल्जियम)ले उम्मेदवारी दिने यसअघि नै टुंगो लागिसकेको छ ।

अध्यक्षका उम्मेद्‌वार आचार्यले आफूले कुनै प्यानल नबनाएको स्पष्ट पारेका छन् । संघको विधान अनुसार प्यानल बनाएर निर्वाचनमा सहभागी हुन नपाइने प्रावधानप्रति आफू सचेत रहेको बताउँदै विचार र एजेण्डा मिल्नेहरूको सहकार्य मात्रै भएको बताए । 'भावना र एजेण्डा मिल्नेहरूका बीचमा सहकार्य गरेका छौं,' आचार्यले भने, 'कसैले प्यानल बनायो भन्यो भने गलत हुन्छ ।' आचार्यले तोकिएको समयमा नै एनआरएनएको निर्वाचन हुनेमा आशंका बढेको बताउँदै समयमा नै विवाद समाधान गरेर तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने बताए । एनआरएनएको दशौँ महाधिवेशन यही अक्टोबरको २३-२५ मा काठमाडौँमा हुँदैछ । महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्ने छ ।


 


Author

थप समाचार
x