प्रवास

नेपालप्रति जापानीको माया :

जापानको सडकमा गुड्‍छ 'काठमाडौँ-पोखरा, बाग्लुङ-गलकोट' अटो रिक्‍सा

संगीता कुँवर |
कात्तिक ५, २०७८ शुक्रवार १२:२९ बजे

जापान- जापानको व्यस्त सहर । त्यही व्यस्त सहर सागामीहारामा गुड्‍छ 'काठमाडौँ-पोखरा, बाग्लुङ-गलकोट' लेखेको अटो रिक्‍सा, त्यही पनि जापानी नम्‍बर प्लेट मात्रै होइन् नेपाली नम्‍बर प्‍लेटको पनि । सागामीहारामा गुड्‍ने बा १ ज १२३४ नम्बरको अटो रिक्‍सा भने नेपालीको होइन्, नेपालीलाई माया गर्ने जापानी नागरिक हिरोआकी कोमाचुको हो ।


सफा अटो रिक्‍साको अगाडी सेवा, सुरक्षा र संस्कार धुम्रपान निषेध लेखिएको छ । अटो रिक्‍साभित्र नेपाली गीत बज्छ । बाटोमा हिड्ने जापानी, नेपाली, भारतिय नागरिक अचम्म मान्दै हेर्छन् ब्यस्त सडकमा गुडिरहेको अटो रिक्‍सा ।

पाँच महिना अघिदेखि सञ्‍चालनमा आएको अटो रिक्‍सा सागामीहारामा गुड्‍छ । हिरो नामले परिचय गराउन रुचाउने उनको नेपाली अटो रिक्‍सा आफ्नो शोक भएको उनी बताउँछन् । अटो रिक्‍सा चलाउँदा सर्टमा पनि रिक्सावाला भनेर लेखिएको लगाउँछन् । हिरोआकीले यो अटो रिक्‍सा आफ्नो दैनिक काम पुग्‍न व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्छन् ।

७ वर्ष अघि आफूले सञ्‍चालन गरेको व्यवसाय नजिकै-नजिकै इन्डियन रेस्टुरेन्टमा पुग्दा भेटिएका एक नेपाली उनीसँग साथी बने । बिस्तारै उनीसँगै कुराकानी बढि हुन थालेपछि हिरोआकीका अरु नेपाली साथी बढ्दै गए । घुलमिल बढ्दै जाँदा नेपाली साथीले मेरो गाउँ घुम्‍न जाऔँ भनेपछि हिरोआकी ४ वर्ष अघि नेपाल घुम्‍ने गएका थिए । 

१० दिनको बिदा मिलाएर नेपाल गएका हिरोआकीलाई नेपालको वातावरण संस्कृति धेरै राम्रो लाग्यो । नेपालको सोन्दर्यता हिमालसँगै नेपाली खाना नेपाली अक्षर पनि सुन्दर लाग्यो । उनी जापान फर्केपछि नेपालको माया र यादलाई ताजा बनाउन आफूले अटो रिक्‍सा प्रयोग गर्ने योजना बनाएको उनी बताउँछन् । 

टोकियोको एउटा पसललाई अटो रिक्‍सा विदेशबाट ल्याइदिन अनुरोध गरेपछि जापानीले प्रयोग गर्न सजिलो हुने गरि बनाएर नेपाली अक्षर पनि लेखेर टासेको उनले बताए ।

१० दिनको नेपाल बसाइँमा पोखरा-बाग्लुङसम्म पुगेकाले सँगै नेपाली संस्कार राम्रो भएको बताए । उनले नेपालको माईक्रो बस चढेको अनुभव पनि सुनाए । उनलाई नेपाली भाषा बोल्न आउँदैन् । तर नेपाली भाषा बोल्न सक्ने हुने रहर लागेको सुनाए । नेपाली भाषा सिकेर नेपालको बारेमा जान्‍ने र धेरै नेपाली साथी बनाउने इच्छा रहेको बताए । साथै कोरोनाको अवस्था सामान्य भएपछि अलि लामो समय लिएर नेपाल घुम्‍न जाने उनको योजना छ ।

यहाँ नेपाललाई हिमालहरूको देश, गौतम बुद्धको देश र अनेकौँ मसलेदार नेपाली खाना पाइने देश र संस्कृतिले भरिएको देश भनेर चिन्छन् । नेपाललाई माया गर्ने जापानी कोहि नेपाली बोल्न सिक्छन्, कोही नाच्‍न सिक्छन्, कोही गाउन त कोही नेपाली टोपी लगाएर हिड्ने पनि गर्छन् । नेपाली भाषामा कुराकानी गर्न नसके पनि हिरोआकीले नेपालप्रति देखाएको माया र आत्मियता रहर लाग्दो छ ।

पछिल्लो तथ्याकं अनुसार जापानमा ९७ हजार २६ जना नेपाली छन् । विभिन्‍न पेशा व्यवसायमा रहेका नेपालीसँग प्रत्यक्ष या अप्रत्यक्ष भेट्ने जापानीको नेपालीप्रति गरेको व्यवहार मिठो छ । यसरी भेट्ने जापानीले नेपाल घुम्‍न जाने र नेपालप्रति बनाउने राम्रो धारणाले पर्यटन व्यवसायको लागि पनि सहयोगी बन्‍न सक्छ । जापानी र विदेशी माँझ नेपाललाई चिनाउने अवसर पनि बन्छ ।


Author

संगीता कुँवर

कुँवर जापानस्थित इकागजकी प्रतिनिधि हुन् ।


थप समाचार
x