प्रवास

बेइजिङ गुडेका रेललाई बीचैमा रोकियो

अजय अलौकिक |
कात्तिक १२, २०७८ शुक्रवार २१:७ बजे

फाइल फोटो

बेइजिङः पछिल्लो समय चीनमा फेरि पनि कोभिड-१९ संक्रमण बौँरिएको अवस्था छ । हालको लहरले ११ दिनभित्र १२ वटा प्रान्त, स्वायत्त प्रदेश र नगरपालिकामा फैलिँदै ३०० जनालाई सङ्क्रमित बनाइसकेको छ । यस पटकको लहरको सबैभन्दा डरलाग्दो पक्ष भनेको तीव्र रूपमा विशाल चीनका बाह्र वटा प्रान्त र प्रदेशसम्म फैलिएको अवस्था हो ।

अक्टुबर २८ सम्म बेइजिङमा २५, भित्री मङ्गोलियामा सबैभन्दा धेरै ११०, यसै गरी निङस्या, कान्सु, सानतोङ, छिङहाई, उत्तरपूर्वी हैलोङच्याङ प्रान्तसम्म फैलिएको छ । यसै बीच अक्टुबर २८ मा बेइजिङकालागि गुडेका दुई उच्चगतिको रेललाई बीचैमा रोकिएको छ । बेइजिङ आउँदै गरेका दुई रेलका एक एक कर्मचारी कोभिड-१९ सङ्क्रमितको घनिष्ठ सम्पर्कमा देखिएकोले बीच बाटोमै रोकिएको जनाइएको छ ।


साङहाईबाट बेइजिङकालागि गुडेको (जी १४) रेल सानतोङ प्रान्तको चिननान सहरको चिननान वेस्ट रेलवेमा रोकेको हो । कोभिड-१९ बाट सङ्क्रमित भएको देखिएलगत्तै उक्त व्यक्तिको ट्रेसिङ गर्दा रेलका एक कर्मचारीसँग घनिष्ठ सम्पर्क भएको जानकारी पाइएपछि उक्त रेललाई चिननान वेस्ट रेलवेमा रोकेको जनाइएको छ । उक्त रेलमा चालक दलका सदस्यसहित २१२ जना छन् । उक्त रेलमा सवार सबैलाई चिननानमा चिकित्सकीय जाँच तथा अवलोकनका लागि राखिएको छ ।

यसै गरी, च्यासिङनानबाट साङहाई हुँदै बेइजिङतर्फ गुडेको अर्को रेल (जी १०८) मा पनि यस्तै घटना दोहोरिएको हो । जसकारण उक्त रेलमा सवार १३४ जनालाई अवजर्भेसनमा राखिएको छ । चालक दलका एक सदस्य सङ्क्रमितको सम्पर्कमा रहेको जानकारी पाएलगत्तै उक्त रेललाई ख्हपैको छाङचौ सहरमा अवस्थित छाङचौ वेस्ट रेलवे स्टेशनमा रोकिएको हो । यसरी बेइजिङका लागि आएका ३४६ जनालाई अवजर्भेसनमा राखिएको हो । सम्बन्धित निकायले रेलको किटाणुशोधन कार्य तथा यात्रुहरूको परीक्षण र आवश्यक प्रबन्ध मिलाएको जनाएको छ ।

यसबाहेक, उक्त दुई रेलले बेइजिङसम्मको गन्तव्य पुग्नुअघि पार गरेका स्टेसनमा उत्रेका यात्रुहरूको पनि ट्रेसिङ गरी आवश्यक कारवाही गर्ने छ । चीनले आफ्नो उच्च प्रविधि तथा दक्ष जनस्रोतको माध्यम र स्थानीय तथा केन्द्रीय सरकारको सक्षम नेतृत्वले कोभिड-१९ र यसपछि देखिएका लहरलाई आर्थिक गतिविधि चलायमान राख्दै र जनधनको क्षति हुन नदिई आफ्नो कब्जामा राखेको देखिन्छ ।

सन् २०२० को आरम्भमा देखिएको कोरोना कहरलाई शिथिल बनाएको विशाल चीनमा त्यसपछि तीस, चालिस दिनको अन्तरालमा कुनै एक क्षेत्रमा फाटफुट रूपमा देखिँदै आए तापनि चीनले सहज रूपमा आफ्नो पकडमा लिँदैआएको छ । पछिल्लो अवस्थामा कोभिड-१९ सङ्क्रमितको मृत्यु नहुनु पनि चीनको विजयको मानक हो । यसबाहेक हाल, चीनभरि दुई अर्ब २५ करोड डोज खोप दिइसकेको छ, नब्बे प्रतिशतभन्दा बढी चिनियाँ जनताले खोप लगाइसकेका छन् ।

चीन सरकार तथा स्थानीय सरकारको सर्वप्रथम जनतालाई प्राथमिकता र सुरक्षा भन्ने नीतिको पालनासँगै युद्धस्तरमा चालिएको गतिविधिले त्यसलाई काबुमा लिन सफल पनि भएको छ । तर पनि यस पटकको लहरले केही त्रास उत्पन्न गराएको छ । चीन यसलाई निमिट्यान्न पार्न लागी परेको छ ।


Author

थप समाचार
x