प्रवास

भाषा पास गरेकाहरू दुई वर्षपछि कोरिया जाँदै‌

अतिन आचार्य |
मंसिर ५, २०७८ आइतबार १३:३७ बजे

फाइल तस्बिर

काठमाडौँ - कोरियन भाषा परीक्षा पास गरेका प्रशिक्षार्थी करिब दुई वर्षपछि कोरिया जाने पाउने भएका छन् । सन् २०१८ र २०१९ मा भाषा पास परीक्षा उतीर्ण गरेका प्रशिक्षार्थीहरू कोरिया जान पाउने भएका हुन् ।

आगामी मङ्सिर २७ गते भाषा परीक्षा उत्‍तीर्णगरी बसेका प्रशिक्षार्थीहरू जान लागेको ईपीएस कोरिया शाखाले जनाएको छ । शाखाकाअनुसार कोभिड-१९ को महामारीका कारणले नियमितरूपमा जान पाउने कामदार जान पाएका थिएनन् ।


विभागका निर्देशक सुरेश राउतकाअनुसार १ सय ५० जना कामदार जान लागेका हुन् । 'भाषा पास गरेका १ सय र कमिटेड कामदार ५० जना रहेका छन्,' उनले भने ।कोरियाले उद्योग र कृषि क्षेत्रमा नेपाली कामदार लैजाने गरेको छ । सबैभन्दा बढी कामदार उद्योग क्षेत्रमा रहेका छन् ।

लामोसमयसम्म भाषा परीक्षा पास गरे पनि उनीहरू कोरिया जान पाएका थिएनन् । कात्तिक १० गते कमिटेड कामदार गएका थिए । पछिल्लो समय कोरिया जाने कामदारहरूले आफ्नो खर्चमा क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था लागू भएको छ ।  

नियमित कामदारले पनि दश दिन क्वारेन्टाइन बस्नुपर्ने छ । यसअघि गएका कमिटेड कामदारलेसमेत क्वारेन्टाइन बस्नुपरेको थियो । कोभिडविरुद्धको खोप मात्रा पूरा गरेकाले कोठा सेयर गरेर बस्‍न पाउने भएका छन् । यसअघि गएका कामदारले भने बेग्लाबेग्लै कोठामा बस्नुपर्ने थियो ।

सरकारले कोरिया भाषा परीक्षा पुसदेखि गर्ने भएको छ । कमिटेड कामदारलाई लैजान थालेपछि नियमित प्रक्रिया अगाडि बढाएको हो । भाषा परीक्षा नगरिएमा कोरियाबाट नेपालले पाउने कामदारको कोटा गुम्‍न सक्ने खतरा रहेको उनले बताए ।

'कोरियाले जबसम्म परीक्षा लिन निर्देशन दिँदैन तबसम्म हामीले परीक्षा लिन पाउँदैनौ,' राउत भन्छन्,' कोरियाले गर्दा परीक्षा नभएमा सम्झौताअनुसार उनीहरू आफै जिम्मेवार हुनुपर्छ ।'

भाषा परीक्षा पास गरेका कूल सात हजार परीक्षार्थी छन् । सबै गरेर कूल १० हजार जना कोरिया जाने पर्खाइमा रहेको राउतले बताए ।  शाखाले अबदेखि कम्प्युटर विधिबाट परीक्षा लिने तयारी गरेको छ । यसअघि परीक्षार्थीले पेपरमा परीक्षा दिने गरिएको थियो ।

श्रम स्वीकृति प्राप्‍तगरी ६५ हजार नेपाली कामदार कोरिया पुगिसकेका छन्। नेपालीहरू कृषि र औद्योगिक क्षेत्रमा काम गर्न जाने गरेका छन् । सन् २००७ देखि वैधानीकरूपमा भाषा परीक्षा गरेर नेपाली कामदार कोरिया जान थालेका हुन् ।

सन् २०२० को मार्चदेखि कोभिडका कारण नेपाली कामदार जान पाएका छैनन् । कोरियाले 'कमिटेड' भिसा भएका ११९ जना कामदारलाई लगिसकेको छ । यसअघि कोरियाले महामारीबीचमा पनि भियतनाम, मंगोलियालगायत विभिन्न मुलुकबाट कामदार लिन थालिसकेको छ ।

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x