प्रवास

टोकियो कविता कन्सर्ट २०२२ : गुञ्‍जिए पाँच कविका २५ कविता

संगीता कुँवर |
पुस २०, २०७८ मंगलबार ११:३० बजे

जापान- जनवरी १ तारिक राष्ट्रिय पोशाक दिवसको अवसर पारेर अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) जापान च्याप्टरले एउटा फरक कार्यक्रम गर्‍यो । अनेसासले परदेशमा बसेर लेख्‍ने कविलाई एउटै मञ्‍चमा त्यो पनि सारङ्गी र बाँसुरीको धुनसँगै कविता बगाउने सपनाले आकार पाएपछि आयोजना भएको अनेसास जापानको सपना कविता कन्सर्टमा परिणत भयो । कन्सर्टमा वाचन गरिएको ‘घर छाड्ने दिन’ शीर्षकको कविता 

हाँगाहरूबाट
एउटा हाँगा भाचिए जस्तै
विरूप हुन्छिन् आमा
सन्तानले घर छाड्ने दिन । 


मौनताको दैलो उघ्रिन्छ
परेलीको दैलो बन्द हुन्छ 
झरी परेको रात जस्तै
रूझ्छन् खुसीका सपनाहरू
रसाउँछन् छेउकुनाबाट
मोटा-मोटा बनेका आँखाका डिलहरू
घर छोड्ने दिन ।। 

बिरालो त म्याउ गर्छ
गोरू त बाँ गर्छ 
तिमी त जननी हौ
तिमीलाई कसरी सम्झाउँ मैले
घर छोड्ने दिन...

कवि दिप पाठकको कविताले टोकियोको सोलमारी मुराहलमा उपस्थित सबैको मन उडेर उहिँ गाउँ जन्मेको माटो र खेलेको आँगनसम्मै पुर्‍याइदियो । कन्सर्टमा कविता सुन्‍न आएकाहरूलाई कविले राम्रै खजना छोडे । परदेशको एउटा हलभित्र नेपाली जापानका नेपाली कविका कविताले कवितामय भएको थियो । अर्का कवि शेखर विकल्पको ‘नलेखिएको यौटा प्रेम कथा’।  

आज तिमीले पहिलो चोटी पत्र पठाएकी छौ
पहाडी गाउँको मेरै ठेगानामा
पत्र खोलेर पढ्‌दैछु

मलाई अहिले पनि विश्‍वास छैन
तिमीले पत्र लेख्छ्यौ भनेर
र लेखे पनि पठाउन सक्छ्यौ भन्‍नेमा
तर पत्याउन मञ्जुर छु
चिठी हातमा परेको छ

लेखेकी छ्यौ -
संग्लो बग्दैन
तिमीले नाम राखेको छर्छरे खोला
चर्किएर मात्रै फुट्न बाँकी छ
तिमीले देशको नक्सा बनाएर छाडेको ढुंगा

तिमीले र मैले
सँगै तस्बिर खिचाएको धानको फाँटमा
रोप्‍न पाएनन् यो वर्ष नेपालीले धान
त्यो फाँट छिमेकीले आफ्नो बनायो
र सँगै यो पत्र लेख्‍ने मान्छे पनि ।

विकल्पको कवितामा छुटेको प्रेमसँगै दु:खको देश सम्झेर माहोल नै स्तब्ध बन्यो । करिब ३ घण्टासम्म चलेको कार्यक्रममा पाँच कविका २५ कविताले  हलको रंग कवितामय बनाइदियो । कविका कविता दर्शक स्रोताले हलमा अन्तिमसम्म बसेर सुनेर बसे । जापानमा लामो समयदेखि बुद्धको मुर्ति बनाइरहेका कवि मञ्जुल मितेरीका कविता पनि उस्तै सुन्दर सुनिरहुँ लाग्ने थिए । मितेरीको कविता :

हुन त
तिमीलाई अहिले
फुर्सद छैन होला
सन्चो छैन होला
मेरो सन्देश सुन्ने
इच्छा पनि छैन होला

एक पछि अर्को लडाइँ
कुर्सीको
जुंगाको
साखको
वादको

यिनै दौडधुप र मारामारीको थकानले
‘एक प्याग पिइहालौं न’ भन्दै
जब तिमी
खबरपत्रिका राखिएको टेबलमा
खुट्टा तन्काएर
चुस्की लिनै लाग्दा
हे प्रिय, मेरो देशका नेता !
तिम्रै देशको यो सुदूर सिमारेखाबाट
म, सिमा स्तम्भ
यो सन्देश पठाएको छु
तिमीलाई

म जहाँ छु
यहाँभन्दा धेरै पर
वीरता र स्वाभिमानको हुँकार गर्दै
युद्ध मैदान हल्लाएका थिए रे
तिम्रा मेरा वीर वीराङ्गना पु्र्खाहरूले
उनीहरूकै रगत, पसिना र गाथाले
आकार दिएर मलाई
प्राण प्रतिष्ठा भरेर
यो देशको रक्षार्थ
एक्लै छोडेर गएको तिमी
फेरि फर्केर कहिल्यै आएनौ
तिमी उतै अल्मलियौ
सायद कुर्सीको
सायद जुंगाको वा वादको
वा
अरु कुनै लडाईंमा...

‘सुदूर सिमारेखाबाट’ शीर्षकमा कोरिएको यो कविताले पनि वाहवाही पायो । सेकेण्डलाई आफू अगाडी राखेर दौडिने यो शहरमा व्यस्तताका बीच जन्मिएका कविता कुनै ठूलो कविता महोत्सवमा आउने कविका भन्दा कम थिएनन् । छोटा मिठा कविताले स्रोता दर्शकको मन तानेका कवि विनोद आचार्यको कविता :

कमिजको देब्रे पट्टीको गोजीभित्र 
एउटा देश अटेको छ । 
देशभित्र नअटेका थुप्रै कुराहरू 
कमिजको गोजीभित्र अटेका छन । 

हिँड्ने बेला आमाले बिदाई गर्दै गर्दाको 
खिच्‍न छुटेको एउटा तस्बिर आँखामा पनि छ । 

बाटोमा भेटिएका भरियाको कथा 
बेला-बेला बाटो छेक्न आउने घुम्तीहरू 
र बाटोमै छुटेका केही साथीहरू...

त्यस्तै कन्सर्टमा कवि सयपत्री थुलुङले कवितालाई सुरिलो मिठो स्वरले प्रस्तुत गरिन । 

आधा-आकाश 
थाहै नदिई
किन उड्छ
यी आँखाको गाउँबाट स-साना भुईकुहिरो जस्तो 

मेरो सपनाको भेडीगोठहरू ? 
किन खसिजान्छ मेरी आमाको ओठबाट
हाँस्दा हाँस्दै मुस्कानको फूल ? 

बग्दाबग्दै बगरमा हराइगएको खोला जस्तो
कतै रोकिन्छ र हराउँछ
सिखर हिडिरहेको मेरी आमाहरूको पाइताला 

जब आधाबाटो मै हराउँछ 
पाठशाला जाँदैगरेकी नाबालक छोरीहरू ।
जब कोपिला मै चुडिन्छ 
उसको बेजवान शरीर ।

अफसोस लाग्छ मलाई !  
जब
आफ्नै सृष्टीको जन्म बिर्सिजाने
केही सन्तानहरू छन् 
जो सृष्टिमा जन्मिएर गर्छन् ।

बलात्कार उनीहरूलाई नै । 
रोएर ब्युँझिन्छन् निर्धो बिहानीसँगै
आमाको प्राचिन आँखाहरू 
र दुखिरहन्छन् छोरीहरूको आत्मकथा ।
पिसिन्छन् हजारौँ अलौटो सपनाहरू
जसरी पिसिन्छ पुरातन आगनमा
नफक्रँदै फूलहरूको सौन्दर्य ।......

जापानमा रहेर नेपाली साहित्यमा रंग भरिरहेका कविहरु दीप पाठक, मञ्जुल मितेरी, शेखर विकल्प, सयपत्री थुलुङ र विनोद आचार्य कार्यक्रममा प्रमुख वाचकका रूपमा रहेका थिए । सारङ्गी तथा बाँसुरी वादनमा हिरा शिरिष र धन पुनले रंग भरे । 'कविता कन्सर्ट' जापानमै पहिलो भएको र अनेसासले आयोजन गरेको कार्यक्रमले नयाँ सालसँगै जापानबासी स्रस्टाहरूमा नयाँ उर्जा सञ्‍चार गरेको महसुस सबैले गरेको बताउँछन् अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) केन्द्रीय अध्यक्ष प्रकाश पौडेल । 

‘एउटा सपना थियो सारंगी र बासुरीको बीचमा प्रिय कविहरुलाई राखेर कविता सुन्दै नयाँ वर्षको शुरुवात गर्ने’। ‘यो सुरुवात मात्र हो निरन्तरताको लागि । मलाई लाग्छ कविता आत्माको मौलिक र विशेष सङ्गीत हो, जसले मानिसमा संस्कृतिलाई जगाउँछ ।  एउटा संस्कार जुन सबैलाई दिइएको छ तर खोज्‍न, महसुस गर्न र गठन गर्न आवश्यक छ’। यससँगै कवि र उनको शब्द दुवै गर्भवती महिला जस्तै चम्किन्छन् ।’असह्य पीडापछिको मातृत्वको अनुभूति कविले कविता सृजना गरेपछिको अनुभूति जस्तै हुन्छ । संगीत राखेर वाचन गरेपछिको  कविता जिन्दगी हो । हामीले एउटा सपना पुरा गर्यौँ' अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष रविन शर्माले भने ।

कार्यक्रममा अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष पौडेल माइला, एनआरएन जापानका अध्यक्ष शिव प्रसाद पौडेल, पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घलेलगायतले शुभकामना मन्तव्य राखेका थिए । अनेसास जापानका सल्लाहकार हारूहितो नोजु ,कन्सर्टमा सहयोग गर्ने बाग्लुङ समाज जापानका अध्यक्ष प्रेम कँडेललाई सम्मान गरिएको थियो ।

कार्यक्रमको सहजीकरण संस्थाका महासचिव शरद पोखरेलले गरेका थिए । अमेरिकामा केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास ) जापान च्याप्टरको गठन सन् २००३ को लक्ष्मी जयन्तीको अवसर पारेर भएको हो ।

 


Author

संगीता कुँवर

कुँवर जापानस्थित इकागजकी प्रतिनिधि हुन् ।


थप समाचार
x