प्रवास

चीनले प्रकाशित गरेको श्वेतपत्रमा नेपालको नाम दश पटक उल्लेख

अजय अलौकिक |
पुस २८, २०७७ मगलवार ८:० बजे

बेइजिङ : चीनले जनवरी १० तारिख 'नयाँ युगमा चीनको अन्तर्राष्ट्रिय विकास तथा सहकार्य' शीर्षकको श्वेतपत्र सार्वजनिक गरेको छ । उक्त श्वेतपत्रमा चीनले वैदेशिक सहयोगको तवरमा आर्थिक तथा सामाजिक विकासको क्षेत्रमा गरिरहेको मानवीय सहायता लगायत द्विपक्षीय अन्तर्राष्ट्रिय सहयोग सम्बन्धका उपलब्धिलाई प्रस्तुत गरेको छ । श्वेतपत्रमा साझा भविष्यको विश्वव्यापी समुदायको दृष्टिकोणलाई निरन्तरता दिन र यस सहकार्यलाई प्रवर्द्धन गर्न आफ्नो कामलाई अझै राम्रो गर्ने र साझा रूचिलाई अगाडि बढाउने सिद्धान्तलाई अनुसरण गर्ने पनि भनिएको छ ।

सो श्वेतपत्रमा नयाँ युगमा अन्तर्राष्ट्रिय विकास सहकार्य र साझा भविष्यको विश्वव्यापी समुदाय, अन्तर्राष्ट्रिय विकास सहकार्यमा नयाँ प्रगति हासिल गर्ने, बेल्ट एण्ड रोड संयुक्त निर्माणको प्रवर्द्धन, संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य २०३० को कार्यन्वयन, विश्वव्यापी मानवीय चुनौतीको संयुक्त सामना, विकासोन्मुख देशहरूको भित्री तवरबाटै विकासको खोजमा समर्थन, अन्तर्राष्ट्रिय आदानप्रदान तथा त्रिपक्षीय सहयोगको सुदृढीकरण र चीनको अन्तर्राष्ट्रिय विकास सहकार्यका लागि भविष्यका सम्भावनाहरू गरी ८ खण्डहरू छन् ।


साथै सो श्वेतपत्रमा नेपालको नाउँ दश पटक उल्लेख गरिएको छ । अर्को दक्षिण एसियाली मुलुक पाकिस्तानको नाउँ एघार पटक उल्लेख गरिएको छ । 

नयाँ युगमा नेपाल-चीन सम्बन्ध
यो नयाँ युगमा विशेष गरी सन् २०१३ यता चीनको नवीन रेशममार्ग अवधारणा बेल्ट एण्ड रोड पछि चीन-नेपाल विकास सहयोगमा नयाँ अध्याय आरम्भ भएको छ । श्वेतपत्रमा बेल्ट एण्ड रोड संयुक्त निर्माणको प्रवर्द्धन विशेषत वायु सम्पर्क निर्माण क्षेत्रमा चीनले विमानस्थलको स्तरोन्‍नति तथा विस्तार परियोजनामा सहयोग गरिरहेको उल्लेख छ ।

अर्को पक्ष गुणस्तरीय शिक्षा हो । चीनको सहयोगमा नेपालमा प्राथमिक तथा माध्यमिक स्कुलको निर्माणसँगै कम्प्युटर, प्रयोगशाला प्रबन्धलगायत शैक्षिक सामग्री प्रदान गरिएको छ जसबाट ती विद्यालयहरूको आधारभूत शैक्षिक वातावरणको सुधार भएको छ । साथै चीनको सहयोगमा नेपालमा सीपमूलक तथा प्राविधिक स्कुलको निर्माण भएका छन् । यी सहयोग र प्रयासबाट नेपाली सर्वसाधारण सामु उच्च गुणस्तरीय शिक्षाको अवसर प्रस्तुत गरिएको छ । यसै गरी सहरी वातावरणमा सुधारका प्रयासहरू भएका छन् । चीनको सहयोगमा काठमाडौँको चक्रपथको सुधार परियोजना पूरा भएको छ ।

वायु सम्पर्क निर्माण, शिक्षा, सहरी विकासबाहेक, सन् २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्पपछि चीन तथा नेपालबीच प्राकृतिक प्रकोप उद्धार, प्रकोपपछिको पुनर्निर्माण, प्रकोप निवारण क्षमताको स्तरोन्‍नति लगायतका क्षेत्रमा सहयोग भइरहेको विषय उल्लेख छ ।

नेपालमा विनाशकारी भूकम्प गएलगत्तै चीनको अन्तर्राष्ट्रिय उद्धार टोली सर्वप्रथम नेपालमा आइपुगेको थियो । साथै ३ खेपको उद्धार सामग्रीका साथै १००० भन्दा बढी उद्धारकर्ता चीनद्वारा पठाइएको थियो । यसै गरी चीनले नेपालको लागि पुनर्निर्माण सम्बन्धि श्रृंखलाबद्ध मध्यकालीन तथा दीर्घकालीन सहयोग योजना बनाएको छ तीमध्ये पूर्वाधारको मर्मत, पुनर्स्थापना, पुरातात्विक वस्तुको जिर्णोद्धार, प्रकोप निवारण क्षमताको विकास समेटिएको छ । यसका अतिरिक्त, चीनले नेपालमा भूकम्प मोनिटरिङ स्टेसन र नेटवर्कको स्थापनामा पनि सहयोग गरेको छ ।

श्वेतपत्रमा नेपालसँगको सहयोग तथा उपलब्धि सम्बन्धमा नेपालको नाउँ दश ठाउँमा उल्लेख गरिएको छ । चीन-नेपालबीच सरकारदेखि जनतासम्म सहयोग तथा आदानप्रदानमा व्यापक सम्भावनाहरू छन् साथै आशलाग्दो भविष्य रहेको छ । यो श्वेतपत्रले पनि मैत्रीपूर्ण छिमेकी देश चीनले नेपालको समग्र विकासमा चासो राखेको स्पष्ट हुन्छ ।

साथै चीनले आफ्नो क्षमताको परिधिमा अन्तर्राष्ट्रिय विकास सहकार्यमा निरन्तरता दिँदै विश्वको विकासमा योगदान गर्दै जाने छ । उक्त श्वेतपत्रका अनुसार, चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनयता चिनियाँ अन्तर्राष्ट्रिय विकास तथा सहकार्य स्थिरताका साथ बढ्‌नुका साथ एसिया तथा अफ्रिकाका अतिकम विकसित मुलुक र बेल्ट एण्ड रोड वरिपरिका विकासोन्मुख मुलुकमाथि अझ बढी नजर पुर्‍याउँदै आएको छ ।

नयाँ युगमा चिनियाँ अन्तर्राष्ट्रिय विकास तथा सहकार्य शीर्षकको उक्त श्वेतपत्र चीनको राज्य परिषदको प्रेस कार्यालयले सार्वजनिक गरेको हो । यो चीनले गर्दैआएको अन्तर्राष्ट्रिय सहयोगको सारांश हुनुका साथै भावी सहयोगको सुरूवात पनि हो । चीनले निरन्तर रूपमा अन्तर्राष्ट्रिय विकास तथा सहकार्य गरेर सधैं नै विश्व शान्ति, विश्वको विकासका लागि योगदान र अन्तर्राष्ट्रिय व्यवस्थाको संरक्षण गर्ने अठोट दोहोर्याएको छ ।


Author

थप समाचार
x