प्रवास

बेलायतनिवासी दाहालको 'अर्पण' मुक्तकसंग्रह सार्वजनिक

इकागज |
फागुन १७, २०७८ मंगलबार १२:२० बजे

काठमाडौँ- बेलायत निवासी रमेश दाहाल ‘अनुरागी’ को पहिलो मुक्तकसंग्रह ‘अर्पण’ सार्वजनिक  भएको छ । साहित्य चौतारी यूकेले आइतबार लन्डनको बेक्सलीहिथस्थित बेस क्याम्प लाउञ्ज एण्ड रेष्टुरेन्टमा आयोजित ६३ औँ श्रृंखलामा मुक्तकसंग्रह विमोचन गरिएको थियो ।  

कार्यक्रमकी विशेष अतिथि लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, साहित्य चौतारी यूकेका संयोजक वासु शर्मा, साहित्य संगम यूकेका अध्यक्ष विनोद अधिकारी, वैज्ञानिक अशोक चापागाइँ, सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स् यूकेका अध्यक्ष माधव पराजुली लगायतले संग्रह लोकार्पण गरेका थिए ।


त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि नेपालस्थित साहित्यकार प्रा. खगेन्द्र लुईंटेलले पनि भर्चुअल माध्यमबाट लोकार्पणमा सहभागी थिए । 

दाहालले आफ्नो पहिलो कृति ‘अर्पण’ आफ्नी स्वर्गीय मातालाई अर्पण गरेको बताए । संग्रहमा मातृप्रेम, राष्ट्रभक्ति, मायाप्रेमदेखि राजनीतिप्रतिको व्यंग्य र कोभिड महामारीले निम्त्याएको विपतसम्मका प्रसंगमा लेखिएका मुक्तक समेटिएको उनले जानकारी दिए । संग्रहमा २ सय ४७ मुक्तक संग्रहित छन्।

विशेष अतिथि लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले प्रवासमा सक्रिय साहित्यकारहरूले नेपाली कला, साहित्यका साथै भाषा, संस्कृतिको प्रवर्द्धनमा समेत महत्वपूर्ण टेवा पुर्याइरहेको भन्दै प्रशंसा गरिन् ।

साहित्य चौतारी यूकेका संयोजक वासु शर्माले बेलायतस्थित नेपाली सर्जकहरुको साझा मञ्चका रुपमा सन् २०१६ मा शुरु गरिएको जानकारी दिए । चौतारीले नियमित रुपमा रचना वाचन, साहित्यिक गोष्ठी लगायतका कार्यक्रमहरु गर्दै आएको प्रस्ट पारे । 

अतिथिका रुपमा लुइँटेलका साथै बेलायतस्थित सर्जकहरु वासु शर्मा, चन्द्र कार्की, गजेन कटुवाल लगायतले संग्रहमाथिको समिक्षा प्रस्तुत गरेका थिए ।  विनोद न्यौपाने, हेमन्त पौडेल, चन्द्र कार्की, केशव रुपाखेती, माधव पराजुली लगायतका सर्जकहरुले आफ्ना रचना वाचन गरेर सुनाएका थिए ।

 

 

 


Author

थप समाचार
x