प्रवास

न्युयोर्क छाडेर किन गाउँ पस्दैछन् नेपाली ?

अनिल अधिकारी |
कात्तिक १८, २०७७ मगलवार ६:५९ बजे

अमेरिका : अमेरिकामा नेपाली कति छन् भन्ने प्रश्न अहिले गौण भइसक्यो । अमेरिकामा नेपालीहरू कहाँ-कहाँ छैनन् भन्ने प्रश्न गर्यो भने बरु जायज हुन सक्छ । अमेरिकाका सबै राज्यहरूमा अहिले नेपालीहरूको बाक्लो बस्ती बसिसकेको छ । कोभिड कहरले पनि हुन सक्छ, न्युयोर्क जस्ता ठूला सहरमा साँघुरो बसाइ नभई बरु ससाना सहरमा फराकिलो बसाइ हुनुपर्ने रहेछ भन्ने सोच ल्याइदिएको छ ।

कोभिड कहरका कारण मानिसहरूलाई धेरै ठूलो घनाबस्ती भएको क्षेत्रमा भन्दा साना तथा व्यवस्थित सहरमा बस्नुपर्ने रहेछ भन्ने सोच ल्याइदिएको छ । यही सोच र प्रभावका कारण पछिल्लो क्रममा न्युयोर्क, न्युजर्सी जस्ता ठूला सहरमा बस्ने नेपालीहरू अहिले साना सहर तथा गाउँ सहरमा बसाइ सर्न थालेका छन् ।


पहिले पहिले सहरमा घर-घडेरी किन्ने होडबाजी हुन्थ्यो, कोरोना कहरले मानिसलाई सहरभन्दा गाउँ जस्तै व्यवस्थित बसाइ नै ठीक रहेछ भन्ने बनाइदिएको छ । कोरोनाका कारण त्राहित्राहि बनेका धेरै मानिसले अहिले गाउँलाई सही तथा व्यवस्थित बसाइको संरचना रहेछ भन्ने ठानेका छन् । 

उसो त अमेरिकाले सानाभन्दा साना राज्य र सहरहरूमा सबै प्रकारका सेवा-सुविधा तथा व्यवस्थित बसाइको प्रबन्ध गरेको छ । मानिसका लागि चाहिने अत्यावश्यक सामग्रीका पसलदेखि होटल, अस्पताल सर्वसुलभ छन् । कोरोना भाइरस आउनुपूर्व अमेरिकाको न्युयोर्क राज्य करिब एक लाख गैरआवासीय नेपाली छन्, भन्ने अनुमानित तथ्यांक थियो तर पछिल्लो क्रममा यस सहरबाट धेरै नेपाली लाखापाखा लागिसके । 

कोरोनाको समयमा साँघुरो तथा महँगो अपार्टमेन्टमा बसेका नेपालीहरूले आफू तथा परिवारका सदस्य एउटा कोठादेखि अर्को कोठामा जान नपाउनुको पीडा राम्रोसँग महसुस गरे । अर्कोतर्फ उमेर पुगेका पाका अभिभावक तथा सन्तान सीमित लक्ष्मण रेखामा थुनिएर गुम्सिएर बस्नुको बाध्यता पनि गहिरो गरी महसुस गरे । त्यति बेला भाडाकै भए पनि सही, कम्तीमा आफ्नो घर भएको भए घर बाहिर खेल्न तथा परिवारका सदस्यसँग भए पनि शारीरिक व्यायाम गर्न त पाइन्थ्यो भन्ने महसुस गरे । त्यस समयमा एउटै ठूलो अपार्टमेन्टमा बसेका कारणले पनि धेरै गैरआवासीय नेपाली संक्रमितसमेत भएका थिए । 

विश्वको राजधानी मानिने न्युयोर्क जस्ता ठूला सपनाको सहरबाट मानिसहरू आजकाल गाउँ पस्न थालेका छन् ।

काम र अवसरका हिसाबले सहर च्यापेका धेरै नेपाली कोरोना कहरकै बीचमा गाउँ जस्तै लाग्ने साना बस्ती तथा सहरमा पसेका छन् । कोही घर, व्यापारसहित गाउँ पसे भने कोही काम र बसाइँ मिलाउँदै छन् । यही बीचमा लामो समय न्युयोर्कको कुइन्समा बसोबास गर्दै आएका नेपाली कांग्रेसका नेता प्रमोद सिटौला बसाइ सर्ने तयारीमा छन् । कहाँ, कहिले र कसरी भन्ने अहिल्यै नभनौँ तर म अब न्यूयोर्कबाट व्यवसायसहित बसाइ सर्दैछु । सिटौला जस्तै अमेरिका आएदेखि न्यूयोर्कमा बसेका धेरै नेपाली नर्थक्यारोलिना, साउथ क्यारोलिना, मिनिसोटा, पेन्सलभेनिया, बाल्टिमोर, टेक्सास, मिजौरी, ओक्लोहामा जस्ता अन्य राज्यमा बसाइ सर्ने क्रम तीव्र छ । 

लामो समय न्युयोर्कको रिजउड बस्दै आएका नेपाली डोलेन्द्र पौडेल भन्छन्, 'हामीलाई कोरोनाले धेरै कुरा सिकायो ।' भर्खरै व्यवसायसहित टेक्सास राज्यमा सरेका पौडेलले भने, 'अमेरिकाका सबै राज्यमा सेवा-सुविधा एउटै छ, कामका क्षमताअनुसारको काम सबै ठाउँमा मिल्छ भने किन हामी साँघुरो बसाइ गर्ने भनेर बसाइ सरियो ।'

न्युयोर्क, न्युजर्सी जस्ता ठूला सहरमा बसेका नेपालीहरू यति बेला पेन्सलभेनिया, नर्थक्यारोलिना र टेक्सासमा धेरै बसाइ सरेका छन् । त्यसको प्रमुख कारण हो समुदाय पनि भएको ठाउँमा बसाइ सर्ने । भोलि मर्दा-पर्दा दुई-चार जना मानिस जम्मा हुन र चाडपर्वका बेला भेटघाट गर्न पाइयोस् भन्ने हेतुले पनि मानिसहरू ती राज्यमा बसाइ सरेका हुन् । 

हामीले कुराकानी गर्ने क्रममा नेपालीहरूले आफ्नो अनुभव सुनाउँदै भनेका छन्, 'एउटा काम गुम्दा अर्को काम सहजै पाइने हुनाले र नेपालीहरूको बाक्लो बस्ती भएका कारणले धेरै नेपालीहरूले अमेरिका आएपछि न्युयोर्क राज्यलाई पहिलो बासस्थान बनाएका थिए ।' अर्कोतर्फ कागजी झमेला मिलाउन न्युयोर्क सफ्ट राज्यका रुपमा लिइन्छ, यस कारणले पनि मानिसहरू न्युयोर्क राज्यलाई पहिलो बसाइ बनाएका थिए ।

तर कोभिड कहरपछि न्युयोर्कमा पनि धेरै व्यवसाय बन्द भइसके भने केही बन्द हुने क्रममा छन् । त्यसले गर्दा काम नपाउने समस्या हुन सक्छ । अर्को कोठा तथा घर भाडामा महँगो, साँघुरो बसाइलगायतका समस्या झेल्नुपर्ने भएकाले बसाइ सरेको प्रतिक्रिया दिए ।

यसो त सबै मान्छे न्युयोर्क न्युजर्सी जस्ता राज्य छोडेर भागे भन्ने होइन । यहाँ लामो समयदेखि व्यवस्थित बसाइ गरेका धेरै नेपाली छन् । विशेषगरी अहिले बसाइ सर्नेहरू घर तथा व्यवसायसहित व्यवस्थित बसाइ गर्न सकिने सम्भावना हुन सक्ने अनुमानले बसाइ सरेका छन् । 

एनआरएन नेता कृष्ण पोखरेल न्युयोर्कमा जमेर बसेका एक नेपाली हुन् । उनी अहिले नर्थक्यारोलिनामा बस्छन् । पोखरेल जस्तै विभिन्न संघ-संस्थामा लागेका नेता तथा सामाजिक कार्यकर्ताहरू अहिले बसाइ सर्ने क्रममा छन् । 

घर-व्यापारमा सहज छ ?
ठूला तथा व्यवस्थित सहरमा व्यवसाय तथा घर किन्न ठूलो रकम खर्चिनुपर्ने हुन्छ । साना सहरमा सानो लगानीमा घर तथा व्यवसाय विस्तार गर्न सकिने भएकाले पनि अहिले नेपालीहरू साना सहरमा बसाइ सरेका छन् । न्युयोर्क जस्ता ठूला सहरमा घर किन्न १० लाख बराबर अमेरिकी डलर खर्च गर्नुपर्ने हुन्छ भने व्यवसायका लागि पनि ठूलै रकम खर्च गर्नुपर्ने हुन्छ । तर अहिले नेपालीहरू बसाइ सरेका राज्यहरूमा भने २ देखि ४ लाख अमेरिकी डलरमा राम्रो व्यवस्थित घर तथा सानै लगानीमा ग्यास स्टेसन, ब्युटीपार्लर जस्ता व्यवसाय गर्न सहज हुन्छ ।

एक समय न्युयोर्कको रिजउड भनेपछि मोहन ज्ञवालीको नाम आउँथ्यो । उनले नै त्यस क्षेत्रमा धेरै नेपालीलाई बसोबास गर्न प्रेरित गर्थे । तर अहिले उनै ज्ञवाली टेक्सास राज्यमा व्यवसायसहित बसाइ सरे । सामाजिक कार्यकर्तासमेत रहेका ज्ञवाली जमेका व्यापारीभित्र पर्छन् । टेक्सास पुगेर उनले ब्युटीपार्लरसहित अन्य व्यवसाय गरिरहेका छन् ।

मानिसको जीवनकालमा सबैको चाहना हुन्छ एउटा सानो भए पनि घर होस्, सम्भव छ भने सानो व्यवसाय पनि होस् । यही तीव्र चाहनाले हुन सक्छ, विश्वको राजधानी मानिने न्युयोर्क जस्ता ठूलो सपनाको सहरबाट मानिसहरू आजकाल गाउँ पस्न थालेका छन् ।


Author

थप समाचार
x