प्रवास

अब भिजिट भिसा कसलाई, के–के छन् शर्त ?

इकागज |
फागुन २५, २०७८ बुधवार १९:४३ बजे

काठमाडौं–पछिल्लो समय खाडी मुलुकहरूमा भिजिट भिसा लिएर वैदेशिक रोजगारीमा जानेहरूको संख्या बढ्नुका साथै अलपत्र पर्न थालेपछि त्यसका लागि कडाइ गरिएको छ । गृह मन्त्रालयले विभिन्न शर्त पूरा गरेपछि मात्रै भिजिट भिसामा जान पाउने नयाँ नियम बनाएको हो ।

मन्त्रालयले भिजिट भिसामा विदेश गएर अलपत्र हुने अवस्थालाई निरुत्साहित गर्न भिसामा कडाइ गरिएको स्पष्ट पारेको छ । विदेश पुगेपछि काम नपाएर अलपत्र परेको भन्दै विदेशबाट गुनासाहरू आएपछि सरकारले भिजिट भिसा प्राप्तिका लागि शर्तहरू राखेर कडाइ गरेको हो ।


सरकारले भिजिट भिसाका लागि भ्रमणको उद्देश्य तथा कार्यक्रम, आधारभूत मापदण्ड प्रक्रिया र कागजात पूरा भए/नभएको हेर्नेछ । त्यस्तै राहदानी, वैध भिसा, हवाई टिकट, गन्तव्यसम्मको बोर्डिङ पास, होटल/आवास व्यवस्था, भ्रमण अवधिको खर्च, भ्रमणसम्बन्धी कागजात हेर्ने व्यवस्था राख्न कार्यदलले सिफारिस गरेको छ । 

तर, सरकारले यसरी शर्तहरू राखेपछि विभिन्न कोणबाट टिकाटिप्पणी आइरहेका छन्। संविधान विपरित र मानवअधिकार विपरित प्रावधान भएको टिकाटिप्पणी भएको हो । तर गृह मन्त्रालयले भने यी शर्तहरू संविधान र मानवअधिकार विपरित नभइ नेपाली नागरिकहरूको सुरक्षाको लागि भएको स्पष्ट पारेको छ । कार्यदलका संयोजक एवं गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले विभिन्न प्रलोभनमा परेर भिजिट भिसामा खाडी मुलुक जाने र अलपत्र पर्ने गरेको भन्दै कार्यदलले नागरिक सुरक्षाका लागि प्रतिवेदन बनाएको बताए । 

विदेश जाने नेपाली नागरिकलाई अलपत्र नपार्न सिमित प्रावधान बनाउनु राम्रो भएको उनको भनाइ छ।  सरकार नागरिकहरू प्रतिको दायित्वबाट विमुख हुन नमिल्ने भन्दै वैदेशिक रोजगारीमा जाने महिलाहरूलाई परिवार र आफन्तजनको अनुमतिबाट मात्रै विदेश जान पाउने प्रावधान प्रतिवेदनमा रहेका उनले बताए । 

पोखरेलले नियम पूरा भएका व्यक्तिहरूले मात्रै भिजिट भिसामा जाने पाउने बुँदा समावेश गरी अध्यागमन कार्यालयलाई बुझाएको जानकारी दिए । वैदेशिक रोजगारीमा जानेहरूको प्रक्रिया भन्दा भिजिट भिसामा जाने प्रक्रिया सहज भएकोले पनि धेरैले भिजिट भिसाको प्रयोग गरेको र विदेश पुगेपछि अलपत्र पर्ने गरेको उनको बुझाइ छ । 

विदेश जाँदा वैदेशिक रोजगारीको प्रावधानबाट गए मात्रै हरेक नागरिक सुरक्षित हुने गृह मन्त्रालयले जनाएको छ। सहसचिव पोखरेलले वैदेशिक रोजगारीमा जानेहरूका लागि अहिले आयश्रोत देखाउनु पर्ने कुरा प्रतिवेदनमा उल्लेख गरेको र गन्तव्य देशको भाषा, कक्षा १२ सम्मको योग्यता भएको व्यक्तिलाई प्राथमिकतामा राख्न पनि प्रतिवेदनमा भनिएको बताए।   

कार्यदलले भिजिट भिसामा विदेश जाने महिलाका लागि अतिरिक्त शर्त समेटेर ‘भिजिट भिसा कार्यविधि÷निर्देशिका’ बनाउन सरकारलाई सिफारिस गरेको छ । फागुन १८ गते कार्यदलले गृहमन्त्री बालकृष्ण खाणलाई ५१ पृष्ठ लामो प्रतिवेदन बुझाएको थियो । जसमा भिजिट भिसासम्बन्धी अहिलेको प्रावधानलाई कडा पार्नुपर्ने र महिलाको हकमा थप शर्त समावेश गरेर ‘भिजिट भिसा कार्यविधि/निर्देशिका’ ल्याउन सुझाव दिएको छ । कार्यदलले भिजिट भिसाका लागि बोलाउने पक्षले आमन्त्रण वा प्रायोजन खुल्ने कागजात, विदेश यात्राको अनुभव तथा भ्रमण गरेका मुलुक, भ्रमण गर्नेको नेपालमा पेशा÷व्यवसाय, रोजगारी, वार्षिक औसत आय तथा करसम्बन्धी विवरण, शैक्षिक योग्यता तथा भाषिक दक्षता (अंग्रेजी, अन्य र खाडी मुलुकको हकमा अरेबिक भाषा, गन्तव्य मुलुकमा रहेका नाता, सम्बन्ध र परिवार, भ्रमणको प्रकृति (व्यक्तिगत, संस्थागत र सरकारी) सहित ९ वटा विषयलाई समावेश गर्न सुझाव दिइएको छ ।

यसैगरी वैध राहदानी, भ्रमण तालिकासहितको दुईतर्फी हवाई टिकट र भ्रमणसम्बन्धी कागजात, पेस गरेको राहदानीलगायत कागजात सम्बन्धित यात्रुकै भए÷नभएको यकिन गर्ने प्रविधिको व्यवस्था अध्यागमनमा राख्न भनिएको छ । सम्बन्धित यात्रुको अध्यागमन सूचना प्रणाली (नेपाली पोर्ट) मा कालोसूचीमा भएन÷भएको यकिन गर्ने, कालोसूचीमा भएको देखिएमा प्रहरीको जिम्मा लगाई अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाउनुपर्ने भनिएको छ ।


Author

थप समाचार
x