प्रवास

रुसबाट हिँडेका ११ नेपाली बेलारुसको जंगलमा अलपत्र

इकागज |
फागुन २९, २०७८ आइतबार ८:४० बजे

लण्डन - युक्रेन युद्धबाट भागेर जर्मनीको जेलमा परेका नेपाली दूतावासको पहलमा निस्केका छन् । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का अनुसार उनीहरूलाई जर्मनीको अध्यागमन विभागले नियन्त्रणमा लिएको थियो ।

युद्धमा अलपत्र परेका नेपालीलाई जर्मनीस्थित नेपाली दूतावासले निःशुल्क यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) जारी गरेको छ । हालसम्म ५६ जना नेपालीले यात्रा अनुमति पत्र लिएका छन् । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. बोध सुवेदीले युक्रेनको लुगानबाट आएका ६ जना विधार्थीलाई उद्धार गरेर सुरक्षित स्थानमा पुराइएको जानकारी दिए ।


उनले ३५ वर्षदेखि युक्रेनमा बासोबास गर्दै आएका एकजना नेपाली परिवारले समेत युक्रेन छोडेर हिडेको जानकारी दिए ।

रुस-युक्रेन द्वन्द्व पीडित नेपाली हाल दूतावासको सम्पर्कमा आउन छाडेका छन् । रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिको बैठकमा खड्काले केही बिचौलीया युरोपका विभिन्न देशमा रहेका नेपालीलाई भित्र्याउन रसिया-बेलारुस युक्रेन हुँदै युरोप ल्याउन  सकृय हुन् सक्ने भन्दै सचेत रहन आग्रह गरे ।

खड्काले युद्धमा विस्थापित भएका नेपालीमध्ये चार जनालाई भारतीय सरकारको सहयोगमा उद्धार गरी नेपाल पठाएको जानकारी दिए । भारतले २ जना हंगेरी, १ जना रोमानिया र १ जनालाई पोल्याण्डबाट गरी चार जनालाई उद्धार गरेकाे हाे ।  नेपाल फर्किएका १० जनामध्ये बाँकी ६ जना आफै सहयोग जुटाएर नेपाल फर्किएका हुन् ।

एनआरएनए पोल्याण्डाका महासचिव पवन खड्काले संघले अलपत्र परेका नेपालीहरूलाई खाना बस्नको व्यवस्था गरेको बताए ।

एनआरएनए स्पेनका अध्यक्ष शालिकग्राम डुम्रेले युद्ध प्रभावित देशमा १ सय ३२ जना नेपाली एनआरएनए स्पेनको सम्पर्कमा आएको जानकारी दिए । उनले पीडितको आग्रह अनुसार अधिकांश नेपालीलाई पोर्चुगल पठाएको जानकारी दिए ।

एनआरएनए पोर्चुगलका अध्यक्ष रविन अधिकारीले युक्रेनबाट आएका नेपालीहरूको खाना बस्नको लागि आवश्यक सहयोग जुटाउन संघ सकृय रहेको बताए ।  युद्ध शुरु भएपछि युक्रेनमा रहेका नेपालीहरू आफ्नो ज्यान बचाउन पोल्याण्ड, स्लोभाकिया, फ्रान्स, हंगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावा लगायतको देशमा पुगे छन् । पछिल्लो तथ्यांक अनुसार हालसम्म पोल्याण्डमा ४ सय ६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना, हंगेरीमा ८ जना, र ४ माल्दावा पुगेका हुन् ।

लिथआनिया र बेलारुसको जंगलमा ११ नेपाली अलपत्र

रुसबाट हिँडेका ११ जना नेपाली लिथआनिया र बेलारुसको जङ्गलमा अलपत्र परेका छन् ।  उनीहरूले एनआरएनए स्लोभाकियाका प्रतिनिधि जय प्रकाश शिवाकोटीलाई सम्पर्क गरी शनिबार आफ्नो उद्धारको लागि पहल गरिदिन आग्रह गरको हुन् ।

उनीहरू रुसबाट युरोपका अन्य मुलुक जान हिँडेको आशंका गरिएको छ । सम्पर्ककर्ता मध्येका एक सुभाव कुँवरले ह्वास्स एपमार्फत आफ्नो उद्धारको लागि अनुरोध गरेका थिए । जर्मनीको लागि नेपाली राजदूत रामबाबु खड्काले ती नेपालीहरू युक्रेन युद्ध पीडित नभएर अन्य विचौलियामामार्फत युरोप छिर्न हिडेको हुने सक्ने आशंका गरे ।

खड्काले उनीहरूको खोजीको लागि रुसस्थित नेपाली दूतावासमार्फत समन्वय गरेर उनीहरूसँग सम्पर्क स्थापित गर्न खोजिएको जानकारी दिए । उनीहरूले रुसमा विगत केही वर्षदेखि बसोबास गर्दै आएको समेत बताएका थिए ।


Author

थप समाचार
x