प्रवास

श्रममन्त्री श्रेष्ठ नेतृत्वको टोली युएई, सेसेल्स र कतार भ्रमणमा जाँदै

इकागज |
फागुन ३०, २०७८ सोमबार ११:२४ बजे

फाइल तस्बिर

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ सोमबार युएई जाने भएका छन् । त्यसैगरी सेसेल्स र कतारको भ्रमणग गर्ने भएका हुन् । नेपाल-युएई संयुक्त समितिको बैठकका साथै रोजगारीका लागि पर्यटन भिसामा संयुक्त अरब इमिरेट्स पुगी अलपत्र परेका नेपालीहरूको समस्या समाधानका लागि मन्त्री श्रेष्ठ नेतृत्वको टोली युएई प्रस्थान गर्न लागेको हुन् । 

भ्रमण टोलीमा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा.थानेश्वर भुषाल, परराष्ट्र मन्त्रालयका उपसचिव प्रकाश अधिकारी र केन्द्रीय अनुसन्धान व्युरोका प्रहरी नायव उपरीक्षक रोशन खड्का छन् । भिजिट भिसामा लैजाने व्यक्ति/संस्थाहरूलाई कानुनी दायरामा ल्याउन केन्द्रीय अनुसन्धान व्युरोका प्रहरी नायव उपरीक्षकलाई पनि टोलीमा समावेश गरिएको हो ।


भ्रमणका क्रममा मन्त्री श्रेष्ठले संयुक्त अरब इमिरेट्सका आफ्ना समकक्षीका अतिरिक्त त्यहाँका उच्चपदस्थ अधिकारी र नेपाली श्रमिकहरूसँग पनि छलफल गर्ने कार्यक्रम छ । मन्त्री श्रेष्ठले मंगलवार भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका उपायहरूबारे युएईका मानव संशाधनमन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारसँग छलफल गर्नेछन् ।

मंगलवार नेपाल-युएई संयुक्त समितिको बैठक उद्घाटन सत्रमा मन्त्री श्रेष्ठले सम्बोधन  गर्नेछन् । नेपाल-युएई संयुक्त समिति बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सहसचिव राजीव पोखरेलले गर्नेछन्  । नेपाल-युएई संयुक्त समितिको बैठकमा सन् २०१९ मा भएको श्रम-सम्झौता कार्यान्वयनमा देखा परेका समस्या समाधानबारे छलफल हुनेछ ।

बुधवार मन्त्री श्रेष्ठले अबुधावीस्थित नेपाली दूतावासमा नेपाली श्रमिकले भोगेका समस्या र समाधानबारे नेपाली समुदायसँग छलफल गर्नेछन्  । मन्त्री श्रेष्ठ नेतृत्वको टोलीले बुधवार दुवईमा सरकार मातहत रहेका आप्रवासी घरेलु श्रमिक सेवा प्रदायक संस्थाहरु (तडवीर सेन्टर) मा भ्रमण गर्ने कार्यक्रम छ । उनले दुबईमा रहेका नेपाली समुदाय तथा श्रमिकहरुसँग अन्तर्क्रिया गर्नेछन्  ।

मन्त्री श्रेष्ठ नेतृत्वको टोली बिहीबार साँझ अफ्रिकी मुलुक गणतन्त्र सिसेल्स प्रस्थान गर्नेछ । वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकहरु लैजान गणतन्त्र सेसेल्सबाट प्राप्त द्विपक्षीय श्रम सम्झौताको प्रस्ताव र थप रोजगारीका बारेमा त्यहाँका उच्च अधिकारीहरूसँग छलफल हुनेछ । भ्रमण टोली आइतवार कतार जाने र सोमबार कतारसँगको श्रम सम्झौता नविकरणबारे उच्चस्तरीय छलफल गर्ने कार्यक्रम छ । मन्त्री श्रेष्ठ नेतृत्वको टोली चैत ८ गते मंगलवार स्वदेश फर्कने कार्यक्रम छ । 

 


Author

थप समाचार
x