प्रवास

एनआरएनए युवा उपाध्यक्षमा हिमाल गुरुङ

इकागज |
चैत १३, २०७८ आइतबार २२:१४ बजे

काठमाडौँ- गैरआवासीय नेपाली संघ(एनआरएनए)काे १० औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय युवा उपाध्यक्षमा युवा व्यवसायी हिमाल गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । करिब दुई दशकदेखि नेदरल्याण्डमा विभिन्न व्यवसाय सञ्‍चालन गर्दै आएका गुरुङ वर्ष २०२१–२३ का लागि उपाध्यक्षमा निर्वाचित भएका हुन्।

कास्कीस्थित पोखरा महानगरपालिका-२७ रिठ्ठेपानी घर भएका गुरुङले उपाध्यक्ष भएपछि गैरआवासीय नेपालीहरूको भूमिका अझ फराकिलो बनाइ देशप्रति आफ्नो जिम्मेवारी र दायित्व बढेको बताए । विश्वभर छरिएर रहेका नेपाली युवाहरूलाई युवा एकता आजको आवश्यकता रहेको उनको भनाइ छ ।


वैदेशिक लगानी भित्र्याउनका  लागि सरकारले सहजीकरण गरिदिनु पर्ने उनले बताए । गैर आवासीय नेपालीहरूले नेपालका विभिन्न क्षेत्रमा लगानी गरेर राज्यलाई समृद्ध बनाउन योगदान गरिरहेको उनले बताए । 'संघले  १० अर्ब लगानीको वातावरण भित्र्याउन लागेको छ, यसमा सरकारले सहयोग गर्नुपर्छ', गुरुङले भने ।

'आफ्नो कार्यकालमा नेपाली संस्कृतिलाई विदेशमा प्रचारप्रसार गर्न पहल गरिन्छ,' उनले भने,' उपाध्यक्ष जस्तो जिम्मेवारी पदमा रहँदा निभाउने भूमिका सबैका लागि मननयोग्य बनाउने छु । '

विश्‍वभर फैलिएको एनआरएनएको संस्थागत विकास र संस्थाको भावना अनुरुप एकता आवश्यक रहेको उनले औंल्याए । 'युवा एवं दोस्रो पुस्तालाई नेपालप्रति सामिप्यता, जिम्मेवारी र दायित्व बहन गर्दै अगाडि बढाउने छु,' उनले भने । 

उनले नेपालको समृद्ध र विकासमा सामूहिक लगानी र पर्यटन प्रर्वद्धनमा जोड दिने बताए ।  नेपाल सरकारसँग समन्वय गर्ने र स्वदेशमा लगानीको वातावरण सृजना गर्न भूमिका खेल्ने समेत प्रतिबद्धता व्यक्त गरे । विभिन्‍न देशहरूमा नेपालीले भोग्नुपरेको समस्यालाई समाधान गर्न नीतिगत पहलकदमी लिन अग्रसरता लिने उनको भनाइ छ ।

लामो समय संघको अभियानमा आबद्ध गुरुङ नेदरल्याण्ड समितिको सदस्य हुँदै २०१५-१७ मा अध्यक्ष बनेका थिए । उनी २०१७-१९ मा एनआरएनए आईसीसीका सदस्य थिए । उनले यसअघिको कार्यकालमा युवा समितीको संयोजक (कोर्डिनेटर) जस्तो महत्वपूर्ण पद सम्हालिसकेका छन् । गुरुङले संघका हरेक समिति, गतिविधि र अभियानहरूलाई कुशलतापूर्वक नेतृत्व गर्दै आएका छन् ।

 


Author

थप समाचार
x