प्रवास

नयाँ वर्ष १ वैशाखमा अस्ट्रेलियामा आतिशबाजी गर्ने

इकागज |
चैत २३, २०७८ बुधवार १७:४ बजे

क्यानबेरा - नेपाली नयाँ वर्ष २०७९ को अवसरमा अस्ट्रेलियामा आतिशबाजी गरिने भएको छ । नयाँ वर्षको पहिलो दिन १ वैशाख अर्थात १४ अप्रिल २०२२ मा अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित लेनक्स गार्डेन्समा आतिशबाजीसहित नयाँ वर्ष मनाउन लागिएको हो ।
 
सनातन समाज अस्ट्रेलियाले क्यानबेरामा आतिशबाजी गर्दै नयाँ वर्ष मनाउन लागेको हो । अध्ययन, रोजगारलगायत विभिन्न उद्देश्यले अस्ट्रेलिया पुगेका नेपालीहरूको क्यानबेरामा बाक्लो उपस्थिति रहेको छ । 

अस्ट्रेलियामा लामो समयदेखि थुप्रै नेपालीहरू बस्दै आइरहेका छन् ।  तर, भारतसँग सिमाना र संस्कृति दुवै जोडिएका कारण अधिकांश नेपाल र नेपालीको छुट्टै पहिचान नरहेको सनातन समाज अस्ट्रेलियाका अध्यक्ष सन्तोष मल्लले बताए । त्यसैकारण नेपाल र नेपालीको विशेष दिनको अवसर पारेर आतिशबाजी गर्न लागिएको उनले जानकारी दिए । 


‘नेपाली र भारतीयको संस्कार, संस्कृति र चाडपर्वहरू समान छन् । जसकारण यहाँ नेपालीलाई पनि भारतीय नै मान्नेहरूको जमात ठूलै छ, र हाम्रो आफ्नै पहिचान बन्नसकेको छैन,’ आयोजक सनातन समाज अस्ट्रेलियाका अध्यक्ष सन्तोष मल्लले भने, ‘त्यसैले नेपाली र भारतीय फरक हुन् । हाम्रो आफ्नै संस्कृति छ । चाल चलनहरू छन्, आफ्नै पात्रो र नयाँ वर्ष छ भनेर जानकारी दिनलाई नयाँ वर्षलाई आतिशबाजीसहित विशेष दिनको रुपमा, सांस्कृतिक पात्रोको पहिलो दिनको रुपमा मनाउन लागेका हौं ।’

१ वैशाखमा आतिशबाजी गर्दै नेपालीहरूको आफ्नो छुट्टै सार्वभौम पहिचान छ र नेपाल र भारत फरक देश भएको सन्देश दिन लागिएको सनातन समाजले जनाएको छ।
 


Author

थप समाचार
x