प्रवास

एनआरएनए विज्ञ सम्मेलन अक्टोबरमा हुने

इकागज |
बैशाख १८, २०७९ आइतबार ८:४ बजे

लण्डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा आगामी अक्टोबरमा विश्व विज्ञ सम्मेलन हुने भएको छ । संघको शनिबारको बैठकले एनआरएनए विज्ञ सम्मेलन तथा साधारणसभा अक्टोबर ८ देखि १० तारिखसम्म काठमाडाैंमा गर्ने निर्णय गरेको संघका प्रवक्ता सोम सापकोटाले जानकारी दिए ।

सम्मेलनमा विदेशमा रहेका विभिन्न रिचर्स सेन्टर र विश्वविद्यालयमा कार्यरत नेपाल तथा विदेश विज्ञको सहभागिता रहनेछ । सम्मेलन सम्पन्‍न गर्न संघका उपाध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा एक उच्चस्तरिय समिति समेत गठन भएको छ ।


सापकोटाका अनुसार बैठकले संघको आगामी १८ महिनाको कार्यविधि तयार गर्न संघका उपमहासचिव रामशरण सिमखडा र नारायण काफ्लेलाई दिने निर्णय गरेको छ ।

बैठक संघका उपाध्यक्ष शर्माको संयोजकत्वमा गठित समितिले प्रस्तुत गरेेकाे बहुपदीय कार्यविधिलाई सर्वसम्मतले पारित गरेको छ । बैठकले सबै क्षेत्रीय संयोजकलाई संघको पदाधिकारी बैठकमा पर्यवेक्षकको रुपमा सहभागी हुन दिने निर्णय गरेको छ ।

बैठकले संघको उम्मेदवारी शुल्क नतिर्ने पदाधिकारी र सदस्यता शुल्क नतिर्ने राष्ट्रिय समितिलाई १५ दिनभित्र शुल्क तिर्न निर्देशन दिने निर्णय गरेको छ । बैठकले १५ सदस्सीय विधान समितिको प्रस्ताव गरेको छ । सो समितिको संयोजकमा शर्मा र सदस्य सचिव गंगाधार गौतमलाई चयन गरेको छ ।

बैठकले संघका महिला पदाधिकारीको उम्मेदवारी शुल्क आगामी कार्यकालदेखि ५० प्रतिशत घटाउने निर्णय गरेको छ । बैठकले नेपालमा हुने राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपालीको सहभागीतालाई सुनिश्चित गर्न संघको युवा विभागलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

यस्तै, बैठकले हाल संघमा रहेको ४ करोड रुपैयाँको वैदेशिक रोजगारी कोषलाई विस्तार गर्ने निर्णय गरेको छ ।


Author

थप समाचार
x