प्रवास

स्थानीय निर्वाचनमा स्वदेश सम्झिँदै परदेशी

सृजना खड्का |
बैशाख २९, २०७९ बिहिवार १७:१४ बजे

काठमाडौँ - बासु पराजुली दक्षिण कोरिया गएको चार वर्ष भयो । अहिले उनी सामाजिक सञ्जालबाट नेपालमा चुनाव लागेको नियालिरहेका छन् । साथीभाइले पार्टीको झण्डा बोकेर हिँडेको देखिरहेका छन् । नेताहरूले बाँडेका आश्वासन र सपना पनि टाढै बसेर सही, सुनिरहेका छन् । ‘यो सबै देख्दा नेपालमै भए पनि भोट हाल्न जान्नथेँ,’ इकागजसँगको म्यासेन्जरको कुराकानीमा उनले लेखे, ‘अरु बेला हराउने चुनावका बेला पैसाका बिटा र झुटा आश्वासन दिनेलाई किन भोट दिने ?’ उनलाई राजनीति आफैँमा खराब लाग्दैन । तर, राजनीतिको नेतृत्व गर्ने व्यक्ति र पार्टीले जनताको भावना नबुझ्दा भने दुःख लाग्छ । नेताले जनताभन्दा पनि आफन्त र परिवारका लागि मात्रै सोच्ने प्रवृति हाबी भएको उनको गुनासो छ । ‘नेताबाट हामी विदेशिएका युवाले मात्रै होइन, स्वदेशमै भएकाले पनि विश्वास गुमाइसके,’ उनले भने, ‘जनतालाई शिक्षा, स्वास्थ्य, रोजगार जस्ता कुुनै कुरा सहज छैन । जताततै पहुँचवालाकै हालिमुहाली । यिनै कारण हामी विदेशिन बाध्य छौँ ।’

घर परिवार छाडेर विदेशिएका परदेशीको पीडा नेतृत्वकर्ताले नबुझेको उनले बताए । यो सबै सम्झिँदा उनलाई भोट हाल्न नपाएकोमा खासै दुःख भने लागेको छैन । यसपटकको नेतृत्वले अर्कोपटकको चुनावमा विदेशीलाई फर्काउने नेतृत्व पाओस् भन्ने उनको चाहना छ । ‘त्यसका लागि यो पाँच वर्षमा चुनिएका उम्मेदवारले केही न केही उदाहरणीय काम गरेर देखाउनुपर्छ ।’


एक वर्षदेखि क्यानडा बस्दै आएकी नितास्मा खड्काको चाहना स्थानीय निकायमा युवाले नेतृत्व गर्नुपर्छ भन्ने छ । ‘कसैलाई भोट दिने भनेको कागजको टुक्रा बाकसमा हाल्ने मात्रै होइन,’ उनले भनिन्, ‘हामीले हालेको एक भोटले भोलिकोे भविष्य निर्धारण गर्छ । भविष्य सुनिश्चित गर्न झण्डालाई होइन, भिजनलाई भोट हाल्नुपर्छ ।’ कुनैपनि पार्टीको झण्डा बोक्नुभन्दा पहिला त्यो झण्डाले भोलि आफूलाई कतिको न्याय दिन्छ त्यसमा विचार पुर्‍याउनुपर्ने उनले बताइन् । 

यो निर्वाचनले युवाहरू विदेशिनुपर्ने बाध्यताको समाधान खोजोस् भन्ने उनको चाहना छ । ‘आफ्नै देशमा अवसर पाइयोस्,’ उनले भनिन्, ‘विदेशमा आएपछि दलदलमा फसिन्छ । चाडपर्वको याद आउँछ । स्वदेशमा आफन्त बिरामी नै परेपनि भन्ने बित्तिकै फुत्त जान पाइदैन । यो निर्वाचनले हामीलाई त्यहाँ आउने वातावरण बनाओस् ।’ नेपालको सिस्टममा परिवर्तन भयो भने धेरै विदेशमा भएका नेपाली फर्किने उनले बताइन् । ‘यहाँको सिस्टम र त्यहाँको सिस्टममा आकाशपाताल फरक छ,’ उनले भनिन्, ‘सरकारी कार्यालयमा जाँदा घुस नपाकेसम्म घुमाउँछन् । नेपाल फर्किदा धेरै मान्छे खुसी भएर होइन, सस्टमले पिरोल्छ भन्दै दुखी हुँदै फर्किन्छन् ।’ 

आफूले दिन नपाए पनि अरु सबैले राम्रो मान्छेलाई भोट दिऊन् भन्ने उनी चाहन्छिन् । ‘भोट हाल्नेबेला हामीजस्ता देशमा सम्भावना नदेखेर विदेशिएका नेपालीलाई सम्झिएर दिनुहोला,’ उनले आग्रह गरिन्, ‘दुईदिन मासुभात खाएर अरु दिन भोकै बस्ने कि राम्रोलाई भोट गरेर भोलि देशमै बसेर परिवारको पेट भर्न सक्ने बन्ने विचार गर्नुहोला ।’

यूएईबाट पंकज तिम्सिनाको पनि उस्तै सन्देश छ । ‘एकदिन बाइकमा पेट्रोल हालिदिएर मख्ख हुने बेला होइन यो,’ उनले भने, ‘अरु बेला दिनहुँजसो पेट्रोलको भाउ भढेको सम्झिएर पनि सही नेतृत्व छान्नुपर्छ ।’ अहिले धेरै ठाउँमा युवाले उम्मेदवारी दिएकाले पंकज उनीहरूप्रति केही आशावादी छन् । ‘सबै पार्टीका नेताले शासन गरेको देखियो, उनीहरूमा नातावाद र कृपावादबाहेक केही देखिएन,’ उनले भने, ‘युवाहरू आए भने केही गर्लान् कि भन्ने आश छ ।  अरु त अब आश गर्ने ठाउँ केही बाँकी छैन ।’ 

पोर्चुगलबाट सुजाता राजथलाको आश पनि अब युवामै छ । यसपटक युवालाई जिताउन उनको आग्रह छ । ‘नयाँ मान्छेसँग नयाँ विचार हुन्छ नयाँ आवाज हुन्छ,’ उनले भनिन्, ‘अब उनीहरूलाई चिन्ने र सुन्ने पालो आएको छ ।’ तर, अहिलेसम्म धेरै जनतालाई कसलाई भोट हाल्ने थाहा नभएको उनले बताइन् । ‘धेरैजसोलाई कसलाई भोट हाल्ने भन्ने नै थाहा छैन,’ उनले भनिन्, ‘कसलाई भोट दिएमा दुःख बुझ्ला भन्न सक्ने अवस्था नै छैन । ठूल्ठूला भवन र चिल्ला सडक बन्दैमा जनताको दुःख हट्दैन । यसपटक विकास बुझ्ने होइन, भावना बुझ्नेलाई भोट हालौँ ।

बलराम शर्मा जापान, टोकियोमा बस्छन् । १० वर्ष जापान बसेर नेपाल फर्किएका उनी केही दिनअघि मात्रै चुनावकै मुखमा विदेशिए । उनले दुइटा स्थानीय चुनाव गुमाइसके । यो बीचमा उनले जापानमा भने चुनावको माहोल देख्न पाए । ‘यहाँ चुनाव हुँदा त्यहाँ जस्तो चुनावी सभा, ¥याली, जुलुस केही हुँदैन,’ उनले भने, ‘उम्मेदवारहरू बस स्ट्यान्ड र रेलवे स्टेसन जस्ता सार्वजनिक ठाउँमा आउने जानेलाई हाई हलो गर्छन् । उनीहरूसँग न आसेपासे हुन्छन् न कार्यकर्ता नै । नेपालमा भने चुनाव होइन चाड लागेको जस्तो देखिन्छ ।’ उनी नेपालमा जापानको जस्तो विकास भइहाल्छ भन्नेमा विश्वस्त छैनन् तर कम्तिमा शिक्षा, रोजगारी, खानेपानी जस्ता समस्या समाधान होऊन् र फोहोरको व्यवस्थापन होस् भन्ने छ । 

अमेरिका बसोबास गर्ने पूर्णप्रसाद भण्डारीले देशको सबैभन्दा उर्जाशील जनशक्ति बाहिरिएकाले उनीहरूविना अब्बल जनप्रतिनिधि नछानिने बताए । ‘रोजगारीको सिलसिलामा धेरै युवा विदेशिएका छन्,’ उनले भने, ‘उनीहरूको अनुपस्थितिविना जनताका लागि काम गर्ने नेता छानिएलान् भन्नेमा मलाई शंका छ ।’ प्रविधिको विकासले फड्को मारिसकेको बेला देशबाहिर भएका जनशक्तिले पनि मताधिकार पाउनुपर्ने उनले बताए । ‘यसो गर्न सकेको खण्डमा मात्र योग्य र सक्षम जनप्रतितिधि चयन हुन्छ,’ उनले भने । 

अष्ट्रेलिया बस्दै आएका सुशान्त कार्कीको पनि आफूहरूले भोट हाल्न नपाएकोमा गुनासो छ । ‘हामीजस्ता लाखौँ नेपाली युवा विदेशमा छौँ,’ उनले भने, ‘बाध्यताले विदेशिएका हामी युवाको भोट चल्दैन । इ–भोटिङको सुविधा हुँदो हो भने हामीले पनि राम्रालाई छान्ने मौका पाउँथ्यौँ ।’ नेपालमा अहिले पनि व्यक्तिभन्दा पार्टीलाई भोट हाल्ने क्रम निरन्तर चलिरहेको उनले बताए । ‘साच्चै परिवर्तन चाहने हो भने देशभन्दा बाहिर भएकालाई पनि मत हाल्ने वातावरण हुनुपर्ने हो,’ उनले भने, ‘सीमित नेताहरूले देशलाई आफ्नो पकडमा राखेका छन् । उनीहरूलाई निकाल्न विदेशमा रहेका नेपालीलाई भोट हाल्न पाउने व्यवस्था हुनुपर्छ । तर, आफू बढारिन्छौँ भनेर थाहा पाएर नेताहरूले सायद हाम्रो मत लिन नचाहेका होलान् ।’

पञ्चायतकालमा विदेशमा रहेका नेपालीले भोट हालेका थिए । राजा वीरेन्द्र शाहले २०३६ सालमा ‘बहुदल रोज्ने कि सुधारिएको पञ्चायत’ भन्दै जनमतसंग्रह घोषणा गरेका थिए । जसमा विदेशमा रहेका नेपालीको पनि इच्छा जान्ने भन्दै उनीहरूले भोट हाल्न पाउने व्यवस्था गरिएको थियो । स्थानीय निर्वाचन भोलिबाट सुरु हुँदैछ । तर, यो निर्वाचनमा परदेशीको मत समेटिने छैन । सर्वोच्च अदालतले २०७४ सालमा विदेशमा बस्ने नेपालीलाई भोट हाल्ने व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको थियो । तर, अहिलेसम्म सरकारको ध्यान त्यतातिर जान सकेको छैन ।  जसका कारण लाखौँको संख्यामा विदेशमा रहेका नेपाली मताधिकारबाट यस पटक पनि बाहिरिएका छन् ।


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x