कृषि

लगातार वर्षा हुँदा रोपाइँले गति लियाे

बैतडीमा सकियाे ७५ प्रतिशत रोपाइँ

इकागज |
असार १८, २०७९ शनिवार ११:५१ बजे

फाइल तस्वीर

बैतडी । केही दिनदेखि भइरहेको वर्षाले बैतडीका किसान खुसी भएका छन् । वर्षापछि रोपाइँ गर्न पाएको र वर्षे बालीलाई राहत पुगेपछि यहाँका किसान खुसी भएका हुन् ।    
    
वर्षा नभएर रोपाइँ गर्न नसकिएको र मकै, भटमासलगायत वर्षे बाली सुक्ने अवस्था थियो । रोपाइँ गर्न राहत पुगेको दोगडाकेदार–३ श्रीकोटका मानसिंह विष्टले बताए । “वर्षा नहुँदा रोपाइँ गर्न सकिएको थिएन, वर्षे बालीलाई पनि राहत मिलेको छ ।” उनले भने । यसअघि असार पहिलो सातासम्म वर्षा नहुँदा किसान चिन्तित बनेका थिए ।    
    
हालसम्म जिल्लामा ७५ प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर चन्दले जानकारी दिए । सिँचाइको सुविधा भएको ठाउँमा रोपाइँ सम्पन्न भएको छ भने आकाशे पानीका भरमा रोपाइँ हुने क्षेत्रमा पनि धमाधम भइरहेको छ ।    
    
 जिल्लाको सुर्नया र चौलानी नदी किनार, पुर्चौडीको हाट, पाटन, पञ्चेश्वरलगायत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ । पाटन नगरपालिकाको पाटन फाँट, सलेना, डिलाशैनी गाउँपालिका, सिगास गाउँपालिकाका विभिन्न क्षेत्र तथा दशरथचन्द नगरपालिकाको सेरालाई धान खेतीको पकेट क्षेत्र मानिन्छ । बैतडीमा नौ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ ।



Author

थप समाचार
x