कृषि

सुर्खेतमा व्यवसायिक ड्रागन फ्रुटको खेती

लक्ष्मी भण्डारी |
असार १८, २०७९ शनिबार १९:५८ बजे

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलोपटक व्यवसायिक ड्रागन फ्रुटको खेती गरिएको छ । वीरेन्द्रनगर–१२ नेवारेमा मालिका कृषि तथा ड्रागन फ्रुट फर्मको एकल लगानीमा व्यवसायिक खेतीको सुरुवात गरेको हो । करिव ७० लाखको एकल लगानीमा २८ कठ्ठा जमिन भाडामा लिएर फर्मले ड्रागन फ्रुटको खेती गर्दै आएको हो ।

गत वर्षदेखि सुरु गरिएको फर्मले उत्पादन गरेको ड्रागन फ्रुट बजारमा पठाउन थालिसकेको छ । हालसम्म एक कुन्टल बढी ड्रागन फ्रुट विक्री गरिएको सञ्चालक पद्मा रावतले जानकारी दिइन् । अहिले फर्मबाटै बिक्री भइरहेको उनले जानकारी दिइन् । उनका श्रीमान वीरबहादुर बुढाले दुई वर्षअघि नै ड्रागन फ्रुट खेतीको लागि तयारी गरेका थिए । तर वीरबहादुरको निधन भएपछि फर्म सञ्चालनको जिम्मेवारी पद्माले सम्हालिरहेकी छन् । 


‘यस खेतीका लागि बेर्ना भारतको गुजरातबाट ल्याइएर लगाइएको हो । यसले अब उत्पादन दिन थालेको छ,’ उनले भनिन्, ‘यही खेतीलाई अब व्यवसायीक बनाउन लागिपरेको छु ।’ ड्रागन फ्रुटले वर्षमा चार पटक उत्पादन दिन्छ । एक सिजनमा प्रति बोटले न्यूनतम पाँच केजीका दरले १३ हजार केजी उत्पादन दिने अपेक्षा फर्म सञ्चालक बुढाको छ ।

एक सिजनमा १३ हजारका दरले वर्षमा ५२ हजार किलो ड्रागन फ्रुट उत्पादन हुनेमा अनुमान गरिएको छ । ड्रागन फ्रुटको प्रति केजी मूल्य आठ सय रुपैयाँ छ । भाडाको जग्गामा हाल दुई हजार ६ सय ड्रागन फ्रुट लगाइएको छ । ड्रागन फ्रुट बिक्रीसँगै विरुवा पनि विक्री गर्ने फर्मको लक्ष्य रहेको बुढाको भनाई छ । एक पटक लगाइएको ड्रागन फ्रुटले १५ देखी २० वर्षसम्म उत्पादन दिने गरेको छ ।

यसैबीच  भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले फर्मले सञ्चालन गरेको ड्रागन फ्रुटको आज उद्घाटन गरेका छन् । फर्ममा पुगेका मन्त्री शाहीले यस्तै पौरखी व्यक्तिहरुका कारण कृषि क्षेत्र व्यवसायिक हुने बताएका छन् । उनले ड्रागन फ्रुट उत्पादनपछि विक्रीको समस्या नहुने तर समस्या भएमा सरकारले सहजिकरण गरिदिने प्रतिवद्धता व्यक्त गरेका छन् । 


Author

थप समाचार
x