किसानले गर्न थाले मार्सी धानको बीमा
खलङ्गा- जुम्लाको काली मार्सी चामलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा व्यापक माग हुन थालेपछि मार्सी धानलाई सुरक्षित गर्न यहाँका किसानले बीमा गर्न थालेका छन् ।
पातारासी-३ का किसान कृष्णबहादुर महताराले दुई हजार ७२५ वर्ग मिटर जग्गामा मार्सी धान रोपेका छन् । दुई साताअघि मात्रै प्रिमियम बापत ३३५ रुपैयाँ तिरेर उनले धान खेतको बीमा गरेका छन् । अब उक्त मार्सी धान नभित्र्याउँदासम्म केही क्षति भए बीमा बापत २६ हजार ५०० रुपैयाँ उनले प्राप्त गर्ने छन् । सोही वडाका पदमबहादुर महताराले पनि ३.८४ रोपनी जग्गामा लगाएको मार्सी धानको बीमा गरेका छन् ।
२६० रुपैयाँ प्रिमियम रकम तिरेर बीमा गरेका किसानले धानमा केही क्षति भए १९ हजार ९९ रुपैयाँ क्षतिपूर्ति पाउने छन् । मार्सी धान मुख्य रूपमा कर्णाली प्रदेशको जुम्लामा मात्रै उत्पादन हुने गर्छ । केही वर्षयता मुलुकभित्र र बाहिर समेत माग बढेपछि यसको उत्पादन बढाउन र किसानलाई खेतीतर्फ आकर्षण गर्न पहिलो पटक बीमा कार्यक्रम ल्याइएको हो । मार्सी धानमा रोग तथा किराको संक्रमण हुनुका साथै प्राकृतिक प्रकोपका कारण उत्पादनमा समेत कमी आउन थालेको किसान बताउँछन् । बीमा सुरू भएपछि किसानले ढुक्कसँग खेती गर्न सक्ने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख दिपदर्शन फडेराले जानकारी दिए ।
कम्पनीका अनुसार धान फल्ने विश्वकै उच्च स्थान छुमचौर जिउलोका किसानले मार्सी धानको बीमा गरेका छन् । छुमचौरमा कृषि अनुसन्धान केन्द्र विजयनगरले ६ जातको मार्सी धान रोपेको छ । दुई हजार ८५० मिटर उचाइमा फल्ने सो धानको पहिचान बचाउन पनि बीमा थालिएको कम्पनीले जनाएको छ । कृषि क्षेत्रको बीमाको लागि सरकारले ८० प्रतिशत रकम व्यहोर्दै आइरहेको छ । बाँकी २० प्रतिशत रकम व्यहोर्ने गरी छुमचौरका १६ जनाले मार्सी धान खेतीको बीमा गरेको शिखर बीमाले जनाएको छ ।
मार्सी धान जुम्लाको पहिचान भएकाले बीमा कार्यक्रम सुरुआत गरिएको छ । जिल्लामा प्रतिरोपनी मार्सी धान खेती गर्न किसानको चार हजार ९६५ रुपैयाँ खर्च हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । बीमा बापत किसानले सरकारले व्यहोर्ने रकम कटाएर प्रतिरोपनी ५० का दरले प्रिमियम तिरिरहेको कृषि विकास कार्यालयका निमित्त प्रमुख गणेश अधिकारीले जानकारी दिए ।
जिल्लाभर झण्डै तीन हजार हेक्टर खेतीयोग्य जमिनमध्ये करिब एक हजार ५०० हेक्टरमा काली मार्सी धानको खेती हुने गरेको कार्यालयले जनाएको छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया