कृषि

बागमती प्रदेशमा ९३ प्रतिशत रोपाइँ सम्पन्‍न

इकागज |
साउन २३, २०७९ २१:३१ बजे

फाइल तस्बिर

मकवानपुर- यस वर्षको वर्षायाम अन्त्य हुनै लाग्दा बागमती प्रदेशमा ९३ प्रतिशत रोपाइँ सकिएको छ । प्रदेशको १३ जिल्लामा एक लाख २० हजार पाँच सय ६९ हेक्टर क्षेत्रफलमा धान खेती हुने भए तापनि हालसम्म एक लाख ११ हजार आठ सय ९८ हेक्टरमा रोपाइँ सकिएको कृषि विकास निर्देशनालय हेटौंडाका सूचना अधिकारी राजन चौलागाईंले जानकारी दिएका छन् ।

त्यस्तै बागमती प्रदेशको ‘अन्नको भण्डार’ का रूपमा चिनिएको चितवन जिल्लामा ९५ प्रतिशत रोपाइँ सकिएको छ । उक्त जिल्लामा धान खेती हुने २२ हजार नौ सय ७७ हेक्टर क्षेत्रफलमध्ये २१ हजार आठ सय २८ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो । मकवानपुरमा ११ हजार हेक्टर क्षेत्रफलमध्ये नौ हजार तीन सय ५० हेक्टर (८५ प्रतिशत) रोपाइँ सकिएको सूचना अधिकारी चौलागाईंले जानकारी दिए ।


नुवाकोटमा १४ हजार दुई सय ८३ हेक्टर क्षेत्रफलमध्ये १२ हजार आठ सय ५५ हेक्टर क्षेत्रफल (९० प्रतिशत) मा रोपाइँ सकिँदा रसुवामा एक हजार आठ सय ७२ हेक्टर क्षेत्रफलमध्ये एक हजार सात सय ६० हेक्टर क्षेत्रफल (९४ प्रतिशत) मा रोपाइँ सकिएको सरकारी आँकडा छ ।

त्यसैगरी ललितपुरको चार हजार एक सय ७५ हेक्टर, भक्तपुरको तीन हजार नौ सय २५ हेक्टर र काठमाडौँको पाँच हजार नौ सय ५९ हेक्टरमा धान खेती हुने गर्दछ । यी तीनवटै जिल्लाहरुमा रोपाइँ सकिएको निर्देशनालयका सूचना अधिकारी चौलागाईंले उल्लेख गरे ।

काभ्रेपलाञ्चोकमा नौ हजार तीन सय ८५ हेक्टर क्षेत्रफलमध्ये आठ हजार सात सय ४७ (९३.२ प्रतिशत) मा रोपाइँ सकिँदा सिन्धुपाल्चोकका आठ हजार पाँच सय ९० हेक्टर क्षेत्रफलमध्ये आठ हजार एक सय ६१ हेक्टर (९५ प्रतिशत) मा रोपाइँ सकिएको छ ।

रामेछापमा आठ हजार आठ सय ९३ हेक्टर क्षेत्रफलमध्ये सात हजार पाँच सय ५९ हेक्टर (८५  प्रतिशत) मा धान रोपेर सकिएको छ । दोलखामा दुई हजार नौ सय २८ हेक्टर क्षेत्रफलमध्ये दुई हजार छ सय ३५ हेक्टर (९० प्रतिशत) मा हालसम्म रोपाइँ सकिँदा सिन्धुलीमा १५ हजार चार सय २३ हेक्टर क्षेत्रफलमध्ये १४ हजार तीन सय ४३  हेक्टर (९३  प्रतिशत) मा रोपाइँ सकिएको हो ।

प्रदेशको धादिङमा ११ हजार एक सय ५९ हेक्टर क्षेत्रफलमध्ये १० हजार छ सय एक हेक्टर (९५ प्रतिशत) मा रोपाइँ सकिएको कृषि विकास निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।


Author

थप समाचार
ad
x