कृषि

सुनसरीका जुट खेतीका किसान निराश, मल नपाएकोमा चिन्तित

इकागज |
भदौ २५, २०७९ शनिबार १४:१२ बजे

काठमाडौँ- अघिल्ला वर्षहरूमा जुट (सनपाट) खेतीबाट मनग्गे आम्दानी गर्ने सुनसरीका अधिकांश किसानहरू यतिबेला भने उत्पादनबाट सन्तुष्ट छैनन् ।

मलको अभावमा उत्पादनमा कमी आएसँगै उनीहरूमा निराशा बढ्दो छ । समयमै मल नपाएको पीडा झेलेका किसानहरू उत्पादन समेत घट्न पुग्दा थप चिन्तामा छन् ।  उत्पादन भएको जुटको मूल्यमा पनि गिरावट आएपछि आफूहरूको रुचि समेत सो खेतीमा घट्दै गएको किसानहरूको भनाइ छ । 


भारतबाट महँगो मूल्य तिरेर मल खरिद गर्दा सो खेतीमा लागत बढ्न गएको तर आम्दानी कम हुने गरेको उनीहरूको पीडा छ । 

सुनसरीको भोक्राहाका खुशीलाल उराँव भन्छन्, 'सरकारले मल दिनै सक्दैन । दिन्छु भन्छ तर ६ महिनामा एकपल्ट दियो भने त्यो पनि सबैले पाउनै मुस्किल छ । अनि कसरी हुन्छ । मार्कामा पर्ने त जसरी पनि हामी किसान नै हौँ ।'​

खुशीलाल जस्तै रामकृपाल मेहताको समेत सरकारप्रति चरम असन्तुष्टि छ । जुट खेती गर्दै आएका उनी कामदार महँगो मात्र नभई मलखाद नेपालमा नपाउँदाको पीडा सुनाउँछन् । नेपालमा मल पाइहाले डिलरवालाले ठूलाबडालाई बेच्ने गरेको उनको गुनासो छ ।

रामकृपाल भन्छन्, 'पेशा छोड्न अन्य विकल्प छैन । भारतबाट महँगो मूल्य तिरेर पर्याप्त मल हाल्न समेत गाह्रो छ । जसको प्रभाव उत्पादनमा कमी स्वभाविक हो । तर पनि बाध्य छौं । जसले खर्च धान्नै धौधौ छ ।'

विगतका वर्षको दाँजोमा जुट खेतीमा आर्कषण कम हुँदै गएतापनि केही किसान भने जसोतसो पेशा धानी रहेका देखिन्छन् । लागत मूल्य बढ्दै जाँदा आम्दानी घटेर निराश देखिएपनि किसानहरूमा सरकारले मलखादको सहजता दिलाओस् भन्ने चाहना भने ज्यूँकात्यूँ छ ।  


Author

थप समाचार
x