कृषि

सुरक्षित र दीगो पशुपालनका लागि अन्तर्राष्ट्रिय संस्थासँग अनुसन्धानमा सहकार्य

इकागज |
बैशाख १३, २०७८ सोमबार ८:५३ बजे

काठमाडौँ : अन्तर्राष्ट्रिय पशुपंक्षी अनुसन्धान संस्थाले नेपालमा गरिएका प्रारम्भिक कार्य तथा पशुपंक्षी अनुसन्धानका क्षेत्रमा सम्भावित विषयवस्तु पहिचानका लागि सरोकारवालाहरूसँग अन्तर्क्रिया आयोजना गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँगको समन्वयमा मन्त्रालयका निमित्त सचिव डा. विमल कुमार निर्मलसहित कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका उच्च अधिकारीहरू, पशु सेवा विभाग, नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय दुग्ध विकास बोर्ड, खाद्य तथा कृषि संगठन (एफएओ), अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान संस्था (इरी) लगायतका संस्थाका प्रतिनिधिहरूबीच छलफल भएको थियो । 

अन्तर्राष्ट्रिय पशुपंक्षी अनुसन्धान संस्थाले गत माघ ५ देखि नेपालमा सम्पर्क कार्यालय स्थापना गरी काम शुरु गरेको हो । केन्या र इथियोपियामा केन्द्रीय कार्यालय रहेको यस अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाले पशुपंक्षी तथा जनस्वास्थ्यका क्षेत्रमा तथ्यमा आधारित नीति निर्माण र समस्या समाधानमा केन्द्रित अनुसन्धान कार्य सञ्चालन गर्ने हुँदा सरकारका लागि यसको अनुसन्धान उपयोगी हुने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले बताए । ‘यसबाट नेपालमा पशुपंक्षीपालन, स्वास्थ्य तथा खाद्य स्वच्छताका क्षेत्रमा अनुसन्धानको प्रभावकारित र विश्वसनीयताले सोही अनुसारका नीतिगत हस्तक्षेप प्रभावकारी हुने अपेक्षा गरेका छौं,’ उनले भने


अन्तर्राष्ट्रिय पशुपंक्षी अनुसन्धान संस्था पशुपालनका क्षेत्रमा ‘अनुसन्धान र विकास’ मा विश्वका विभिन्न देशहरूसँग सहकार्य गर्दै काम गरिरहेको कन्सल्टेटीभ ग्रुप अन इन्टरनेशनल एग्रीकल्चरल रिसर्च (अन्तर्राष्ट्रिय कृषि अनुसन्धानका लागि परामर्श समूह) अन्तर्गतको संस्था हो । यसले विकसोन्मुख देशहरूमा चुस्त, सुरक्षित र दीगो पशुपालनमार्फत् खाद्य तथा पोषण सुरक्षा र गरिबी निवारणका क्षेत्रमा काम गर्दै आइरहेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँगको समन्वय र सहकार्यमा यस संस्थाले नेपालमा अनुसन्धान र विकासका काम अघि बढाउनेछ । 


Author

थप समाचार
x