कृषि

खोटाङको माटोमा देखियो अधिक अम्लीयपन

इकागज |
मंसिर १९, २०७९ सोमबार २०:५४ बजे

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको माटोमा अम्लीयपन अधिक देखिएको छ ।

नवौं विश्व माटो दिवसको अवसरमा सोमबार दिक्तेलमा आयोजित कार्यक्रममा कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रसार अधिकृत सञ्जय पण्डितले १७ र १८ मंसिरमा डिजिटल स्वाइल ल्यावबाट गरिएको परीक्षणका क्रममा माटोमा अम्लीय र क्षारीयपनको मात्रा अधिक देखिएको जानकारी दिएका हुन् । माटोको ३० वटा नमूना परीक्षण गर्दा १५ अम्लीय, १२ क्षारीय र ३ वटा तटस्थ नमूना पाइएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । 


यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा किट बक्सबाट माटो परीक्षण गर्दा पनि नगरपालिकाको माटोमा अम्लीय र क्षारीयपनको मात्रा अधिक देखिएको जनाइएको छ । ५१ वटा नमूना परीक्षण गर्दा १३ अम्लीय र ३८ क्षारीयको नमूना फेला परेको हो । माटोमा तटस्थपनको मात्रा अधिक हुनुपर्नेमा तटस्थ नमूना भने नभेटिएको कृषि प्रसार अधिकृत पण्डितले कार्यपत्रमा उल्लेख गरेका छन् । 

बिग्रँदै गएको माटोको स्वास्थ्य सुधारका लागि प्रांगारिक पदार्थको व्यवस्थापन, बाली चक्रमा कोशेबालीको समावेश, मिश्रित बाली, अन्तर बाली र बहुबाली प्रणालीलाई अलवम्बन गर्ने, एकीकृत खाद्य तत्व व्यवस्थापन पद्धति अवलम्बन गर्नेमा ध्यान दिनुपर्ने माटो विज्ञहरूले सुझाव दिएका छन् । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, खोटाङका प्रमुख श्रीधर खनालले यही अवस्था रहे आगामी तीन सय वर्षसम्ममा विश्वको माटोमा मरुमूभीकरणको खतरा रहेको जानकारी दिए । प्रमुख खनालले प्रांगारिक श्रोत, बाली व्यवस्थापन, रासायनिक मल व्यवस्थापनलगायतमा ध्यान दिनसके माटोको व्यवस्थापन गर्न सकिने उल्लेख गरे । कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषि प्रसार अधिकृत तेजप्रकाश जैसीले ‘माटोको परिचय र माटोको महत्व’को विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै, कृषिविज्ञ मदन राईले ‘मानव जातीको जननी बिरुवा र बिरुवाको जननी माटो’ भएको चर्चा गरेका थिए । 

खोटाङमा दिक्तेल कृषि ज्ञान केन्द्र, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र शुभद्रा मदन फाउण्डेसनको संयुक्त आयोजनामा विश्व माटो दिवस मनाइएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, कृषि ज्ञान केन्द्रका प्रमुख हरिनारायण राईले माटोको विषयमा चर्चा–परिचर्चा गरेका थिए । न्युज कारखाना


Author

थप समाचार
x