कृषि

महँगो फलको सूचीमा पर्ने एवोकाडोकाे उत्पादन इलाममा बढ्दाे

इकागज |
मंसिर २६, २०७९ सोमबार २१:२ बजे

मङ्गलबारे- पछिल्लो समय इलाममा समेत व्यवसायिक एवोकाडो (घीउ फल) को खेती गरिन थालिएको छ । बर्सेनि उत्पादन वृद्धि भए पनि उत्ति नै खपतसमेत बढेको छ । माग अनुसार पुर्‍याउन नसकिएको बताइएको छ । 

निकै महँगो फलको सूचीमा पर्ने यो फल इलाममा प्रायः सबै गाउँमा उत्पादन भइरहेको छ । व्यावसायिक उत्पादन सुरु भने इलामको रोङ गाउँपालिकादेखि भएको हो । जिल्लामा नै पहिलो पटक उक्त गाउँपालिकाको सलकपुरमा बिरुवा रोप्न थालिएको बताइएको छ । विसं २०४५ मा पहिलो पटक एवोकाडोको बिरुवा रोप्न थालिएको बताइएको छ । 


सुरु सुरुमा स्वादसमेत धेरैलाई मन पर्दैनथ्यो र तर पछिल्लो समय स्वास्थ्यलाई समेत राम्रो मानिएकाले यो फल उपभोग गर्नेको सङ्ख्यासमेत वृद्धि हुँदै गएको छ । हाल बोटमा नै आएर व्यापारीले मोलमोलाई गरेर खरिद गर्न थालेपछि गाउँमा फुटकर रूपमा बिक्रीसमेत हुँदैन । यसको माग व्यापक वृद्धि हुँदै गएकाले छिटो सकिने गरेको सलकपुरका किसान इश्वरी अधिकारीले बताए । उनका अनुसार गत वर्ष दुई बोटमा जेनेतेन ८० किलो उत्पादन भएको थियो । यस वर्ष सोही बोटमा करिब दुई सय पचास किलो उत्पादन भएको छ ।

बोटबाट नै प्रतिकिलो रु दुई सयमा खरिद बिक्री हुने यो फल नेपालीले मात्र होइन नजिकै रहेको छिमेकी देश भारतबाट आउने पाहुनाले समेत खरिद गरेर लैजाने गरेको किसानको भनाइ छ । विभिन्न देशकै पनि धेरै स्थानबाट माग बढ्दै गएको अधिकारी एग्रो बबना कटेजका सञ्चालक याम अधिकारीले बताए । 

उनले गएको वर्षभन्दा यस वर्ष उत्पादन वृद्धि भएको बताए । साना बिरुवा रोप्ने क्रम बढिरहेकाले पनि बर्सेनि यसको उत्पादनमा वृद्धि हुँदै गएको छ । पहिला स्थानीय समाजसेवी स्वरोमस अधिकारीको बगानमा दुई वटा मात्र बिरुवा थिए । तिनै बोटबाट गाउँमा सामान्य चाख्न पुग्थ्यो । हाल उत्पादन  र मागसमेत बढेको छ । अहिले गाउँभर प्रायः सबैको बगानमा यसको उत्पादन भइरहेको छ, तर पनि खास बजार पुर्‍याउन नै नपरेको किसान कल्पना भण्डारीले बताइन् । उनले समेत यसको व्यवसायिक उत्पादन गर्दै आएकी छिन् । रोङ गाउँपालिका झापासँग नजिक रहेका कारण पनि यहाँबाट धेरै फलको कारोबार हुने गरेको छ । 

अत्यधिक पौष्टिक र प्रोटिनयुक्त यो फल सुरुमा चाना काटेर रोटीमा दलेर खाने गरिएको भए पनि अहिले यसको अतिरिक्त जुस बनाएर समेत खाने गरिएको छ । करिब दुई वर्ष अघि रोङ गाउँपालिकाले किसानको मागअनुसार अनुदानमा बिरुवासमेत वितरण गरेको स्थानीय पत्रकार गोविन्द पौडेलले बताए ।

उनले गाउँमा यसको व्यावसायिक उत्पादन गर्ने किसानको सङ्ख्यासमेत वृद्धि हुँदै गएको बताए । दर्जनौँ परिकार बनाउन सकिने एवोकाडो एउटै बोटमा चार/पाँच सय किलोसम्म फल्ने गरेको छ । रोङ गाउँपालिकासहित इलाम नगरपालिकालगायत जिल्लाभरी नै यसको उत्पादन सुरु भएको छ । व्यावसायिक उत्पादन गर्ने किसानको सङ्ख्या भने थोरै छ । 

जिल्ला वन कार्यालय इलामले समेत गएको वर्ष र यस वर्ष किसानलाई बिरुवा वितरण गरेको छ । यो फल पनि विभिन्न जातको हुने गरेको छ । जोखेर नै कारोबार हुने गरेको भए पनि सानो फलको कम मूल्य र ठूलो फलको उच्च मूल्य हुने गरेको छ । 

यसको प्रतिकिलो रु एक पचासदेखि दुई सयसम्म कारोबार भइरहेको छ । खास स्वादमा नौनी घीउ जस्तो हुने गरेको छ । लाम्चो, डल्लो तथा विभिन्न साइजमा फल्ने यो फल धेरैलाई नयाँसमेत लाग्ने गरेको छ । यस मौसममा खानयोग्य हुने यो फल भण्डारण गर्ने हो भने पछि यसको मूल्य अझ उच्च हुने किसानको भनाइ छ । रासस


Author

थप समाचार
x