कृषि

बाँकेमा लक्ष्यभन्दा कम मात्रामा धान खरिद

इकागज |
फागुन २४, २०७९ बुधवार ८:२ बजे

फाइल तस्बिर

खजुरा - बाँकेमा लक्ष्यभन्दा धेरै कम धान खरिद गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगञ्ज कार्यालयले २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा हालसम्म नौ हजार क्विन्टल मात्र खरिद गरेको छ । 

धान बिक्रीका लागि किसान कार्यालयमा आउन छाडेपछि फागुन  पहिलो सातादेखि धान खरिद बन्द गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले बताए । उनका अनुसार यस वर्ष जिल्लाका आठ सय ४० किसानको मध्यम धान २० हजार क्विन्टल र मोटो धान पाँच हजार क्विन्टल खरिद गर्ने लक्ष्य थियो । 


तीन सय ४० किसानको मध्यम धान सात हजार क्विन्टल र मोटा धान दुई हजार क्विन्टल धान खरिद गरिएको लामिछानेले जानकारी दिए । जिल्लाका आठवटै स्थानीय तहलाई कोटा निर्धारण गरेर गत पुस ५ गतेदेखि २५ हजार क्विन्टल धान खरिदको लक्ष्य राखेर खरिद सुरु गरिएको थियो । निर्धारित समयभन्दा ढिला धान खरिद सुरु गरेकाले अधिकांश किसानले पहिला नै व्यापारीलाई बिक्री गरेको डुडुवा–४ का रामगोपाल बर्माले बताए । 

“कम्पनीले भन्दा पहिला व्यापारीले सरकारले तोकेको मूल्यमै धान खरिद गर्न थालेपछि किसानले आफ्नै सुरले बिक्री गरेका हुन्”, उनले भने । सरकारले यस वर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार नौ सय ६७ र मध्यम धानको रु तीन हजार एक सय २८ तोकेको थियो ।

जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरका किसानले मात्र निर्धारित कोटाअनुसार धान बिक्री गरेको र अन्य पालिकाका केही किसानले धान बिक्री गरेको कार्यालयले जनाएको छ ।


Author

थप समाचार
x