कृषि

आँबुखैरेनीमा आलु मेला

इकागज |
फागुन २६, २०७९ शुक्रवार १५:११ बजे

फाइल तस्बिर

तनहुँ-आँबुखैरेनी गाउँपालिकाको आयोजनामा ‘प्रथम आँबुखैरेनी आलु मेला २०७९’ आजदेखि सुरु भएको छ ।

कृषकले उत्पादन गरेका आलु उपभोक्तालाई सुपथ र सहज मूल्यमा बिक्रीवितरण गर्ने लक्ष्यका साथ आलु मेलाको आयोजना गरिएको हो । आँबुखैरेनी गाउँपालिका–३ हाटबजारस्थित अमिलीबोटेमा आयोजित मेला फागुन २६ र २७ गते सञ्चालन हुने व्यवस्थापन समितिका संयोजक सन्तोष केसीले जानकारी दिए । 


गाउँपालिकाले केही दिनअघि सञ्चालनमा ल्याएको हाटबजारमा छिम्केश्वरीको मह र खस्राराङबेंसीको एभोकाडोका बिरुवा अत्यधिक बिक्री भएको उनले बताए । स्थानीय स्तरमा उत्पादित कृषि, पशु तथा बाँसजन्य वस्तु हाटबजारमा बिक्री गर्न पाउँदा कृषक खुसी भएको उनको भनाइ छ । 

आँबुखैरेनी गाउँपालिका १ र २ वडामा पर्ने सत्र सय र बरादीलाई तरकारी पकेट क्षेत्रका रूपमा लिइएको छ । उक्त दुई वडामा उत्पादन गरिएका आलु ग्रेडिङ र सालाखाला गरी बिक्री गरिनेछ । मेलामा आलुबाट बनेका परिकार आलु पकौडा, आलु चप, चटपटलगायतका विभिन्न परिकार राखिनेछ । 

कृषकलाई निःशुल्क रूपमा स्टल उपलब्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । आँबुखैरेनी गाउँपालिकाले गाउँपालिका मातहतमा छ वटै वडा, टोल विकास संस्था, आमा समूह, सहकारी संस्था, शिक्षक, कलाकार, क्लब, नागरिक समाजलगायतका विभिन्न सङ्घसंस्थालाई पत्राचार गरिएको बताएको छ । 


Author

थप समाचार
x