कृषि

चिराइतोको मूल्य अलैँचीको भन्दा बढी

इकागज |
फागुन २९, २०७९ सोमबार १९:३६ बजे

ताप्लेजुङ - चिराइतोको मूल्य गत वर्षको तुलनामा रु १० हजारले वृद्धि भएको छ । गएको वर्ष प्रतिमन (४० किलो) रु ३० हजार दरले कारोबार भएको चिराइतोको मूल्य हाल रु ४० हजार पुगेको छ । 

पहाडी क्षेत्रको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको अलैँचीको भन्दा चिराइतोको मूल्य माथि पुगेको हो । अलैँची प्रतिमन रु ३५ हजारका दरले कारोबार भइरहेको छ । भारत निर्यात हुँदै चिराइतो झापामा पुर्‍याउँदा प्रतिमन रु ३८ हजारदेखि रु ४० हजारमा कारोबार हुने ताप्लेजुङका व्यवसायीले बताएका छन् । 'गत वर्ष रु ३० हजार प्रतिमन कारोबार भएको थियो, आजभोलि मूल्य बढेर रु ३८ हजारदेखि रु ४० हजारमा कारोबार भइरहेको छ', सदरमुकाम फुङलिङका व्यवसायी गोविन्द बरालले भने । 


गत वर्ष रु १८ हजार हुँदै रु ३० हजारसम्म पुगेको मूल्य यो वर्ष फागुन लागेयता बढेर रु ४० हजारसम्म पुगेको हो । बरालका अनुसार हाल किसानबाट प्रतिमन रु ३२ हजारदेखि रु ३३ हजारसम्ममा लिने गरिएको छ । चिराइतो संकलन र खेती गर्ने यहाँका किसानले घरैमा उक्त मूल्य पाइरहेको बरालले बताए । 

व्यवसायीका अनुसार चिराइतो सुुके नसुकेको हेरेर मूल्यमा केही तलमाथि हुन सक्छ । झापाका व्यापारीले भन्दा भारतका व्यापारीले केही बढी मूल्य दिने गरेका छन् । 'कहिलेकाहीँ भारतका व्यापारी भेटिन्छन्, उनीहरूले बिर्तामोडका व्यापारीले दिने भन्दा रु एक हजार बढी दिन्छन्', व्यवसायी बरालले भने । केही वर्ष अघिसम्म ओलाङचुङगोला हुँदै चीनको तीब्बतमा निर्यात हुने चिराइतो हाल टिपताला नाका बन्द रहेकाले बिर्तामोड हुँदै भारत निकासी हुँदै आएको छ ।

मूल्य वृद्धि भएसँगै चिराइतो संकलन गर्ने र व्यावसायिक खेती गर्ने कृषक हर्षित बनेका छन् । लामो समयपछि चिराइतोको मूल्य एक्कासि बढेर अलैँचीको भन्दा माथि पुगेपछि यहाँका किसान हर्षित बनेका हुन् । यो वर्ष प्रतिमन रु ३२÷३३ हजारका दरले घरैबाट चिराइतो बेच्न पाउँदा खुसी भएको फक्ताङलुङ गाउँपालिकाको खेजेनिमका किसान अमरसिंह माबोहाङले बताए । व्यावासायिक खेती गर्दै आएका अमरसिंहले यो वर्ष आठ मनभन्दा बढी उत्पादन गरेका छन् । उतारचढाव आइरहने चिराइतोको मूल्य पछिल्लो समय सुधारिएकाले किसानलाई राहत मिलेको उनले बताए

 यता लेलेपका बुद्धिमान राईले मूल्य बढेर किसानलाई उत्साहित बनाएको बताए । हालको मूल्य कायम रहिराखेमा अलैँचीलाई जस्तै जङ्गल फाँडेर उच्च लगानीका साथ खेती गर्ने किसानको लगानी खेर नजाने उनको भनाइ छ । आम्दानीका लागि पहाडी क्षेत्रका किसानले अलैँचीपछि चिराइतोको खेती धेरै गर्दै आएका छन् । मूल्य नपाउँदा भने केहीले यसलाई निरन्तरता दिन सकेनन् ।
 
तर चिराइतोको मूल्य बढे पनि उत्पादन भने घटेको पाइएको छ । गत वर्षको तुलनामा यो वर्ष आधाजसो मात्र चिराइतो संकलन भएको व्यवसायीले बताएका छन् । गत वर्ष एक सय ५० मन चिराइतो संकलन गरेका व्यवसायी गोविन्द बरालले यो वर्ष मुस्किलले ७० मन पुर्‍याएको बताए । “गत वर्षको तुलनामा संकलन न्यून छ, यसरी न्यून हुनुमा उत्पादन घटेर हो, संकलन गर्ने र खेती गर्ने क्रम केही घट्दै गएको छ”, उनले भने । 

उता सिरिजंघा–७ खेवाङका व्यवसायी नरेन्द्र तिवारीेले गत वर्षको तुलनामा आधा जसो मात्र चिराइतो संकलन भएको बताए । उनका अनुसार प्रायले चिराइतो खेती छाडेका छन् । तर मूल्य बढेसँगै पुनः व्यावसायिक खेती गर्न किसान उत्सुक देखिएको उनले बताए । 

ताप्लेजुङमा वार्षिक ३५ हजार किलो चिराइतो संकलन गर्न सकिने डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ । उक्त कार्यालयका अनुसार संकलक तथा व्यवसायीले भने आधाजसोको मात्र पुर्जी लिने गरेको तथ्यांकले देखाएको छ । उच्च पहाडी भेगमा पाइने विभिन्न जडीबुटीमध्ये चिराइतो पनि मुख्य जडीबुटी हो । समुन्द्री सतहबाट एक हजार दुई सयदेखि तीन हजार मिटरको उचाइमा पर्ने भिरालो तथा खुला जमिनमा चिराइतो पाइन्छ । असोजमा पूर्णरूपले फुलिसक्ने चिराइतो फूल परिपक्व भएपछि उक्लिन्छ । 

भूगोल हेरी मङ्सिरदेखि चैतसम्म चिराइतोको संकलन हुन्छ । प्रायले जङ्गलमा गएर चिराइतो संकलन गर्छन् भने केहीले यसको व्यावसायिक खेती गर्दै आएका छन् । खेती गर्नेले जङ्गल फाँडेर आगो लगाई चिस्यान भएको समय पारेर बीउ छर्छन् । बीउ छरेको तीन वर्षमा उखल्न उपयुक्त हुने गरी चिराइतो फस्टाउने किसान बताउँछन् ।
 
औषधीय गुण भएको चिराइतो ज्वरो आउँदा, घाँटी दुख्दा र खटिरा आउँदा औषधिका रूपमा पानीमा पकाएर खाने गरिन्छ । तितो स्वादमा हुने चिराइतोले स्वाद र रुचि बढाउने बताइन्छ ।
रासस


Author

थप समाचार
x